बेपत्ता भएकी ६ वर्षीय बालिकाको शव बोरामा फेला

हत्याको विरोधमा स्थानीयले प्रदर्शन गरेका छन्।

जनकपुरधाम – महोत्तरीमा बेपता भएकी ६ वर्षीय बालिकाको शव बोरामा फेला परेको छ। बर्दिबास नगरपालिका–१४ शुभम् बस्तीबाट बेपत्ता भएकी शहीद आलमकी छोरी गुलाब साह खातुनको शव सोमबार मध्यरातमा फेला परेको इलाका प्रहरी कार्यालय बर्दिबासका प्रमुख प्रहरी नायव उपरीक्षक राजन चापागाईले जानकारी दिए ।

आइतबार साँझदेखि हराएकी गुलाब साह खातुनको हत्या गरि शव बोरामा राखेर झाडीमा फालेको अवस्थामा फेला परेको हो। बस्तीमा रहेको सामुदायिक परिवार कल्याण संघ महोत्तरीको कार्यालयभन्दा पश्चितर्फको खाली जग्गामा बालिकाको शव भेटिएको हो ।

हत्याको आरोपमा एक युवकलाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरी नायव उपरीक्षक चापागाईले जानकारी दिए।

प्रहरीले महोत्तरीको गौशाला नगरपालिका–५ का २५ वर्षीय अरुणकुमार साहलाई नियन्त्रणमा लिएको हो । चपागाईका अनुसार ति युवकले आरोप स्वीकारसमेत गरेका छन् ।

बालिकाको बलात्कार गरेर हत्या गरेको हुन सक्ने स्थानीयहरुले आशंका गरेका छन्। प्रहरीले पोस्टमार्टम रिपोर्टपछि मात्र केही भन्न सकिने बताएको छ । स्थनीयहरुले पक्राउ परेका आरोपितको बर्दिबास स्थित घर अगाडि प्रदर्शन गरेका छन् ।

प्रदर्शनमा नियन्त्रणमा लिन प्रहरीले पाँच राउण्ड अश्रु ग्यास समेत प्रहार गरेको छ ।

मंसिर ९, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्