कोरोना महामारीको बिचमा चलेको कक्षा १२ को परीक्षा (तस्बिरहरुसहित)

दाङ – रुपक खनालले गत चैत महिनामा कक्षा १२ को परीक्षा दिनुपर्ने थियो । तर, कोरोना भाइरस संक्रमण फैलन नदिन सरकारले चैत ११ बाट देशभर लकडाउन गर्‍यो । लकडाउनले गर्दा कक्षा १२ को परीक्षा अनिश्चित बन्यो । आठ महिनापछि बल्ल सरकारले कक्षा १२ को परीक्षा लिन थालेको हो ।

‘परीक्षा दिन तयारी थियो । लकडाउनले परिक्षा दिन पाइएन’ खनालले भने, ‘अहिले बल्ल परीक्षा दिन पाइयो । खुशी लागेको छ ।’ परीक्षा केन्द्रमा मास्क, स्यानीटाइजर र तापक्रम नाप्ने कार्य अनिवार्य गरिएको छ । सरकारले तोकेको स्वास्थ्य मापदण्ड अनुसार परीक्षा हलमा बसेको उनले बताए । ‘एउटा बेञ्चमा दुईजना बसेर परीक्षा दिइयो’ उनले भने, ‘परीक्षाको लागी गरेको तयारी बल्ल पूरा भयो ।’

शान्तपूर्वक परीक्षा सकिएको छ । परीक्षा दिन पाउदा विद्यार्थीहरु उत्साहीत र खुशी देखिए । कोरोना भाइरसको महामारीका कारण प्रभावित भएको परीक्षा स्वास्थ्य सावधानीका सम्पूर्ण उपाय अपनाएर मंगलबारदेखि देशभर सुरु गरिएको हो ।

लमही नगरपालिका भित्र रहेका विद्यालयमा परीक्षा शान्तिपूर्वक सम्पन्न भएको शिक्षा शाखाका प्रमुख रवीन्द्र क्षेत्रीले बताए । ‘हामीले अनुगमन थालेका छौँ । स्वास्थ्य मापदण्ड पुरा भए नभएको हेर्ने गरेका छौँ’ उनले भने, ‘सबै विद्यार्थी परीक्षामा सहभागी भएका छन् ।’

वडा तहका जनप्रतिनिधि पनि अनुगमनमा पुगेका छन् । ‘परीक्षालाई मर्यादित बनाउन अनुगमन गरेका हौँ’ लमही–६ का वडा अध्यक्ष गणेशमान चौधरीले भने, ‘परीक्षा राम्रोसँग चलेको छ ।’

सरकारले तोकेको सुरक्षा मापदण्ड र सामाजिक दूरी कायम गरेर परीक्षा सञ्चालन गरिएको छ । बिहान ८ बजे सुरु भएको परीक्षा साढे ९ बजे सकिएको छ । १६ गते सम्म परीक्षा हुने छ ।

परीक्षा बोर्डले ४० प्रतिशतको मात्रै परीक्षा सञ्चालन गरेको हो । ४० प्रतिशत अंक कक्षा ११ र २० प्रतिशत कक्षा १२ को आन्तरिक मूल्यांकनबाट जोडिने छ ।

अर्यालका अनुसार बोर्डले २०७६ वा त्यसभन्दा अघि लिइएको कक्षा ११ को वार्षिक वा ग्रेड वृद्धि परीक्षामा सैद्धान्तिकतर्फ प्राप्त गरेको विषयगत प्राप्तांकलाई १०० प्रतिशत मानी सोको ४० प्रतिशत अंकभार कक्षा १२ को मूल्यांकनमा जोडिने छ ।

मंसिर ९, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्