काठमाडौँ – कक्षा १२ को परीक्षा मंगलबारदेखि सुरु भएको छ । कोरोना भाइरसको महामारीका कारण प्रभावित भएको परीक्षा स्वास्थ्य सावधानीका सम्पूर्ण उपाय अपनाएर मंगलबारदेखि देशभर सुरु भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।

पहिलो दिनको परीक्षा मंगलबार बिहान साढे ९ बजे सकियो । ४० अंक भारको परीक्षा बिहान ८ बजे सुरु भएको थियो ।

सरकारले तोकेको सुरक्षा मापदण्ड र सामाजिक दूरी कायम गरेर परीक्षा सञ्चालन भएको हो ।

शनिबार समेत परीक्षा सञ्चालन गरेर १६ मंसिरमा सबै विषयको परीक्षा सम्पन्न हुने बोर्डले जनाएको छ ।

कोभिड–१९ संक्रमित विद्यार्थीलाई भने बोर्डले परीक्षामा सहभागी नहुन अनुरोध गरेको छ । संक्रमितहरूलाई कोरोना मुक्त भएपछि छुट्टै परीक्षाको व्यवस्था गर्ने बोर्डले जनाएको छ । बोर्डले गएको भदौमा कक्षा १२ का विद्यार्थीको विवरण संकलन गरेको थियो ।

काठमाडौँका विद्यालयमा देखिएको कक्षा १२ को परीक्षाको झलक केही तस्बिरमाः