६ वर्षकी बालिका हत्या प्रकरणः स्थानीयले आरोपितको घरमा आगो लगाए, निभाउन पुगेको दमकललाई रोके

जनकपुरधाम – महोत्तरीमा ६ वर्षीया बालिकाको हत्या आरोपमा पक्राउ परेका आरोपितको घरमा स्थानीयहरुले आगो लगाएका छन् ।
बर्दिबास नगरपालिका–१४ शुभम् बस्तीबाट बेपत्ता भएकी ६ वर्षीया बालिका गुलाब साह खातुनको सोमबार मध्यरातमा बोरामा शव फेला परेको थियो ।
हत्या आरोपमा पक्राउ परेका महोत्तरीकै गौशाला नगरपालिका–५ का अरुण कुमार साहको बर्दिबास स्थित घरमा आक्रोशित स्थानीयहरुले आगो लगाएका छन् । आगो नियन्त्रणमा लिन बर्दिबास नगरपालिकाबाट पुगेको दमकललाई स्थानीयहरुले अवरोध गरेका छन् ।
इलाका प्रहरी कार्यालय बर्दिबासका प्रमुख प्रहरी नायव उपरीक्षक राजन चापागाईले स्थानीयहरुको अत्यधिक भिड रहेको र तिनीहरुले आगो नियन्त्रण गर्न नदिएकाले अहिलेसम्म आगो नियन्त्रणमा नआएको बताए ।
घटना स्थलमा रहेका प्रहरी नायव उपरीक्षक चापागाईले प्रदर्शनलाई नियन्त्रण गर्न करिब २२ राउण्ड अश्रु ग्यास प्रहार गरिएको जानकारी दिए ।
स्थानीयले बालिकाको बलात्कारपछि हत्या भएको हुन सक्ने आशंका गरेका छन् ।
बालिकाका आफन्तले सडकमा शव राखेर प्रदर्शन गरिरहेका छन् ।