राष्ट्रिय फुटबल खेलाडी दीपक राईका पिता तिलक राईको कोरोनाका कारण निधन

तिलक बान्तवा राई

विराटनगर – राष्ट्रिय फुटबल खेलाडी दीपक राईका ६६ वर्षीय पिता तिलक बान्तवा राईको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।

मोरङको तत्कालीन पथरी गाउँ विकास समितिका अध्यक्ष समेत रहेका राईको बुढीगंगा गाँउपालिकास्थित विराट शिक्षण अस्पतालमा मंगलबार बिहान साढे ४ बजे उपचारको क्रममा मृत्यु भएको हो । अस्पतालको आइसोलेशनका इन्चार्ज सुनिल देवका अनुसार राईको दुई सातादेखि उपचार भइरहेको थियो।

कात्तिक २१ गते कोरोना संक्रमण पुष्टि भएका राईलाई उपचारका लागि सुरुमा धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना गरिएको थियो।

स्वास्थ्य अवस्थामा सुधार आएपछि घरमा आराम गरिरहेका राईमा पुनः श्वासप्रश्वासको समस्या देखिएको थियो। त्यसपछि विराट शिक्षण अस्पतालको भेन्टिलेटरमा राखेर उपचार हुँदै आएको थियो । उपचारकै क्रममा बुवाको मृत्यु भएको छोरा दीपकले जानकारी दिए।

दीपकले हिमालयन शेर्पा, मोरङ, मनाङ्ग मर्स्याङ्गदी फुटबल क्लबबाट राष्ट्रियस्तरमा सहभागिता जनाइसकेका छन्। हाल मच्छिन्द्र क्लबमा आवद्ध दीपकले मोरङ्गबाट साताैँ राष्ट्रिय क्षेत्रीय खेलकुदमा स्पर्धा गरेका थिए ।

यसैबिच पथरी गाविसका पूर्व अध्यक्ष राईको निधनप्रति दुःख व्यक्त गर्दै पथरीशनिश्चरे नगरपालिकाले मंगलबार नगरमा शोक बिदा दिएको छ । सामाजिक कार्यमा समेत सक्रिय राई पथरीशनिश्चरे नगरपालिकाको पहिलो सहकारी संस्था मनकामना सहकारीका संस्थापक अध्यक्ष समेत हुन्।

पञ्चायत माविको व्यवस्थापन समितिका पूर्व अध्यक्षसमेत रहेका राईले दर्जनौं संघ संस्थाको अगुवाई गर्दै आएका थिए। राईका एक श्रीमती, चार छोरी र दुई छोरा छन् ।

मंसिर ९, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्