चलचित्र क्षेत्र सञ्चालनको अनुमति दिन माग

काठमाडौँ – चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारीले चलचित्र क्षेत्रलाई सञ्चालन गर्ने अनुमति दिन सरकारसँग माग गरेका छन् ।

कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि लकडाउन भएपछि बन्द रहेका अधिकांश क्षेत्र अहिले खुले पनि चलचित्र क्षेत्र खुल्न सकेको छैन ।

त्यसैले चलचित्र छायाँकन पनि प्रभावित भएको र यसबाट हजारौँको संख्यामा रहेका कलाकारको जीविकोपार्जनमा समस्या भएको भन्दै अध्यक्ष अधिकारीले चलचित्र क्षेत्र सञ्चालन गर्ने व्यवस्था मिलाउन सरकारसँग आग्रह गरेका हुन् ।

अध्यक्ष अधिकारीले सरकारले बजेटमार्फत चलचित्र क्षेत्रलाई समेटन नसके पनि नेपाल राष्ट्र बैंकको मौद्रिक नीतिमार्फत समेटिएको तर अहिलेसम्म कुनै पनि फाइदा लिन नसकेको बताए ।

चलचित्र क्षेत्र बन्द हुँदा कलाकार, श्रष्टासर्जकहरुलाई समस्या भइरहेको जानकारी अर्थमन्त्रालयमा समेत गराइसकेको उनले बताए । सरकारले चलचित्र क्षेत्रलाई सञ्चालन गर्न दिए जनस्वास्थ्य मापदण्ड पूरा गरी सञ्चालन गर्न आफूहरु तयार रहेको पनि अधिकारीले बताए ।

चलचित्रलाई पर्यटन र कृषि क्षेत्रसँग जोड्ने काम गर्नका लागि आफूले नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय सदस्यमा उम्मेदवारी दिएको अधिकारीले बताएका छन् ।

चलचित्र क्षेत्रलाई यसअघि राष्ट्रिय मान्यता प्राप्त उद्योगमा लैजान सफल भएको बताउँदै अध्यक्ष अधिकारीले अब राज्यका प्राथमिकता प्राप्त क्षेत्रले पाउँदै आएको सुविधा पाउने अवस्थामा पुर्‍याउन आफूले महासंघमा बसेर काम गर्न चाहेको बताए ।

अध्यक्ष अधिकारीले उद्योग वाणिज्य महासंघको ५४ औँ आशन्न साधारणसभामा बस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका छन्।

मंसिर ९, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्