प्रशासनले बन्द गर्न निर्देशन दिए पनि कोरोना संक्रमित उपचार म्याक्स अस्पतालमा जारी

विराटनगर – कोभिड–१९ का बिरामी उपचारको अनुमति नपाएको र मापदण्ड पूरा नगरेको विराटनगरस्थित म्याक्स अस्पताललाई कात्तिक २१ गते प्रशासनले कोभिड–१९ विरामी उपचार कार्य बन्द गर्न निर्देशन दिएको थियो।

तर १५ दिन नबित्दै अस्पतालमा उपचाररत कोरोना पोजिटिभ एक महिलाको मृत्यु भएको छ । उदयपुरस्थित त्रियुगा नगरपालिकाकी ३२ वर्षीया महिलाको आइतबार बेलुका करिब साढे ६ बजे उपचारका क्रममा मृत्यु भएपछि अस्पतालले प्रशासनको निर्देशनको अवज्ञा गरेको पाइएको हो ।

अस्पतालका प्रशासन प्रमुख हेमनारायण मेहताले भर्ना गरेर उपचार सुरु गरेपछि ती महिलाको पीसीआर रिपोर्ट पोजिटिभ आएको हो । ती महिलामा रक्तश्राव हुने र मुटुको समस्या थियो । सो अवस्थामा बिरामीलाई अन्यत्र पठाउन सम्भव नहुदाँ अस्पतालमै भेन्टिलेटरमा राखेर उपचार गरिएको उनको भनाई छ ।

उनका अनुसार सुरुमा नोबेल शिक्षण अस्पतालमा भर्ना गरिएकी महिलालाई थप उपचारका लागि म्याक्समा भर्ना गरिएको हो । अस्पताल प्रशासन प्रमुख मेहताले नयाँ संक्रमितलाई भर्ना नलिएको दाबी गरिरहँदा हाल तेह्रथुम घर भएका ६१ वर्षीय कोरोना संक्रमित पुरुषको उपचार भइरहेको छ । मेहताले ती पुरुषलाई प्रशासनले अस्पताल बन्द गर्नुअघि नै उपचारका लागि भर्ना गरिएको दाबी गरे ।

जिल्ला प्रशासन कार्यालय मोरङका सहायक प्रमुख जिल्ला अधिकारी एवं प्रवक्ता ध्रुवबहादुर खड्काले यसविषयमा आफूहरुलाई जानकारी नभएको बताए। यसअघि मापदण्ड नपुगेको हुदाँ बन्द गर्न निर्देशन दिएको बताएका उनले हालसम्म त्यहाँ पुनः उपचार सुरु गरेको भन्ने जानकारी नआएको स्पष्ट पारे ।

यसअघि कोरोना संक्रमित बिरामी उपचारका लागि अनुमति बिना र मापदण्ड पूरा नगरि कोरोना अस्पताल सञ्चालन गरेको भन्दै प्रशासनले अनुगमन समेत गरेको थियो । त्यसैगरि, उपचारका लागि भर्ना भएका संक्रमितसँग दैनिक ८० हजारसम्म शुल्क उठाएको गुनासो आएपछि अनुगमन गरेर प्रशासनले बन्द गर्न निर्देशन दिएको थियो। उपचार बन्द गर्न निर्देशन दिएको अस्पतालमा संक्रमितको मृत्यु भएको घटना सार्वजनिक भएपछि सोमबार दिउँसो पुनः अनुगमन गरेको प्रशासनले जनाएको छ।

त्यसैगरि, अस्पताल प्रशासन प्रमुख मेहताले कोरोना संक्रमितको उपचारका लागि अस्पतालले स्वीकृति लिन आवश्यक नरहेको दाबी गरेका छन् । ‘सरकारले नै प्रत्येक अस्पताललाई ५० प्रतिशत बेड संक्रमितको उपचारमा छुट्याउन निर्देशन दिएको छ’ मेहताले भने, ‘यस्तो अवस्थामा संक्रमितको उपचार गर्न अनुमति लिइरहनु पर्दैन ।’ उनले संक्रमितको उपचार गर्न सरकारले तोकेको सबै मापदण्ड पूरा भएको अवस्थामा प्रशासनले बन्द गर्न किन निर्देशन दिएको हो भन्ने बारेमा खोजी थालिएको बताए ।

प्रशासनले कोभिड–१९ का विरामी उपचार नगराउन निर्देशन दिएपछि नयाँ बिरामी भर्ना गर्न छाडेको अस्पतालको दाबी छ ।

मंसिर ९, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्