बालिका हत्याको विरोधमा प्रदर्शन, प्रहरीको गोली लागेर दुईजना घाइते

जनकपुरधाम – बर्दिबासमा ६ वर्षीया बालिकाको हत्याको विरोधमा भइरहेको प्रदर्शनमा प्रहरीले गोली चलाएको छ ।

प्रदर्शन नियन्त्रणमा लिनका लागि प्रहरीले चलाएको गोली लागेर दुईजना प्रदर्शनकारी गम्भीर घाइते भएका छन् । घाइते हुनेमा बर्दिबास नगरपालिका–५ का श्याम कार्की र वडा नम्बर १४ का अफताब आलम रहेका छन् ।

घाइतेको उपचार शुभ स्वस्तिक हस्पिटलमा भइरहेको छ ।

महोत्तरीको बर्दिबास नगरपालिका–१४ शुभम बस्तीबाट हराएकी ६ वर्षीय बालिका गुलाब साहको सोमबार मध्यरातमा बोरामा शव फेला परेपछि स्थानीयले हत्याको विरोध गरिरहेका हुन् । स्थानीयले बलात्कार हत्या भएको आशंका गरेका छन् ।

प्रदर्शनकारीले आरोपितको घरमा आगजनी गरेका छन् । प्रहरीले क्रममा भिड नियन्त्रण गर्न प्रहरीले गोली चलाएको हो । सोही गोली लागेर दुईजना घाइते भएका हुन् ।

प्रदर्शनकारीले महेन्द्र राजमार्गमा शव राखेर प्रदर्शन गरेका थिए । तर प्रहरीले शव नियन्त्रणमा लिएको छ ।

प्रहरीले हत्या अभियोगमा पक्राउ परेका गौशाला नगरपालिका–५ का अरुण कुमार साहको बर्दिबास स्थित घरलाई प्रदर्शनकारीले जलाएका छन् ।

मंसिर ९, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्