बैतडी जीप दुर्घटना अपडेटः ज्यान गुमाउने पाँचै जनाको पहिचान खुल्यो, पेन्सन बुझेर फर्केका थिए भारतबाट

धनगढी– बैतडीमा जीप दुर्घटना भारतबाट पेन्सन बुझेर आएका ५ जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन्।

गएको चैतदेखि पेन्सन बुझ्न नपाउँदा भारतमा रहेका पेन्सनधारीहरुका लागि सोमबारदेखि शुक्रबारसम्मका लागि झुलाघाट नाका खोलिएको छ। त्यहीँबाट आइरहेको जीप दुर्घटनामा परेको प्रहरीको भनाइ छ।

बैतडीको झुलाघाटबाट गोठलापानी आउँदै गरेको ना १ ज २१९६ नम्बरको जीप दशरथचन्द नगरपालिका १० बुड्डा भन्ने स्थानमा मंगलबार दिउँसो दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।

प्रहरीका अनुसार दुर्घटनामा परी बैतडीको सुर्नया गाउँपालिका ४ की ७५ वर्षीया कलावती चन्द, दशरथचन्द नगरपालिका ४ का ७५ वर्षीय भगीरथ पाण्डेय, दशरथचन्द नगरपालिका ५ बस्कोटकी ७० वर्षीया पार्वतीदेवी चन्द, सोही ठाउँकी ७२ वर्षीया पार्वतीदेवी चन्द र दशरथचन्द नगरपालिका २ का ५८ वर्षीय कृष्णलाल लावडको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक जनकबहादुर धामीले दुर्घटनामा परी ४ जना घाइते भएका बताए। घाइतेहरुलाई उपचारका लागि जिल्ला अस्पताल पुर्‍याइएको छ।

जीप अनियन्त्रित भएर दुर्घटनामा परेको हुनसक्ने प्रहरीले अनुमान गरेको छ। जीप सडकबाट करिब एक सय मिटर तल खसेको छ। दुर्घटना हुने वित्तिकै फरार रहेका जीप चालक गोपाल कार्कीको खोजी भइरहेको प्रहरीले जनाएको छ।

मंसिर ९, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्