आइसिसी एसोसिएट प्लेयर अफ दी डिकेडको मनोनयनमा नेपालका पारस खड्का

काठमाडौँ- अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल-आइसिसीले एसोसिएट प्लेयर अफ दी डिकेडको मनोनयन सार्वजनिक गरेको छ।

६ जना खेलाडीको सूचीमा नेपालका पारस खड्का पनि छन्।

अन्य खेलाडीमा स्कटल्यान्डका कायल कोएट्जर, क्यालम म्याकलियोड र रिकी बेरिङ्टन, पपुआन्युगिनीका असाद भाला र नेदरल्यान्ड्सका पिटर बोरेन छन्।

आईसिसीका एसोसिएट सदस्यका खेलाडीमध्ये सन् २०१० देखि २०१९ को बीचमा सबैभन्दा राम्रो प्रदर्शन गर्ने खेलाडीलाई यो अवार्ड दिइनेछ। विजेताको टुंगो भोटिङबाट हुने आइसिसीले जानकारी दिएको छ। भोटिङ खुला भइसकेको छ।

नेपाललाई टीट्वेन्टी विश्वकपमा छनोट गराउन र एकदिवशीय अन्तर्राष्ट्रियको मान्यता दिलाउन पारसले कप्तानी भूमिका निर्वाह गरेका थिए।

३३ वर्षीय पारसले एकदिवशीय अन्तर्राष्ट्रिय क्रिकेटमा एक सतक र एक अर्धसतक तथा टीट्वेन्टी अन्तर्राष्ट्रिय क्रिकेटमा एक सतक र तीन अर्धसतक बनाएका छन्। उनी डेढ दशकयता नेपाली सिनियर राष्ट्रिय टोलीमा छन्। उनले गत वर्ष मात्र कप्तानबाट सन्याश लिएका थिए। उनी सन् २००९ देखि एक दशक सिनियर राष्ट्रिय टोलीको कप्तान रहेका थिए।

यसैगरि आईसिसीको मेन्स प्लेयर अफ दी डिकेडको मनोनयनमा भारतका विराट कोहली, इङ्ल्यान्डका जोए रुट, न्युजिल्यान्डका केन विलियमसन, दक्षिण अफ्रिकाका एबी डे भिलियर्स, अस्ट्रेलियाका स्टिभ स्मिथ, भारतका रविचन्द्रन आश्विन र श्रीलंकाका कुमार सांगाकारा छन्।

आईसिसीको मेन्स ओडीआई प्लेयर अफ दी डिकेडको मनोनयनमा भारतका विराट कोहली, रोहित शर्मा र महेन्द्रसिंह धोनी, श्रीलंकाका लासिथ मालिंगा, अस्ट्रेलियाका मिचेल स्टार्क, दक्षिण अफ्रिकाका एबी डे भिलियर्स र श्रीलंकाका कुमार सांगाकारा छन्।

आईसिसीको मेन्स ओडीआई प्लेयर अफ दी डिकेडको मनोनयनमा भारतका विराट कोहली, इङ्ल्यान्डका जोए रुट ,अस्ट्रेलियाका स्टिभ , इङ्ल्यान्डका जेम्स एन्डर्सन, न्युजिल्यान्डका केन विलियमसन,  श्रीलंकाका रंगना हेराथ र पाकिस्तानका यासिर शाह छन्।

आईसिसीको मेन्स टीट्वेन्टी अन्तर्राष्ट्रिय प्लेयर अफ दी डिकेडको मनोनयनमा भारतका विराट कोहली र रोहित शर्मा, अफगानिस्तानका रसिद खान ,दक्षिण अफ्रिकाका इमरान ताहिर , अस्ट्रेलियाका एरोन फिन्च,  श्रीलंकाका लासिथ मालिंगा र वेस्ट इन्डिजका क्रिस गेल छन्।

 

 

मंसिर ९, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्