यसकारण आइसिसी एसोसिएट प्लेयर अफ दी डिकेडका बलिया दाबेदार हुन् पारस खड्का

काठमाडौँ- सन् २०१७ मा अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल-आइसिसीले तत्कालीन एसोसिएट सदस्यद्वय आयरल्यान्ड र अफगानिस्तानलाई टेस्ट मान्यता दिने निर्णय गरेपछि एसोसिएट टोलीमाझ नेपाली टोली बलियो रहँदै आएको छ।

एसियाली एसोसिएट क्रिकेटमा अफगानिस्तानको दबदबा र विश्वस्तरको एसोसिएट क्रिकेटमा अफगानिस्तान र आयरल्यान्डको दबदबाबाट यो निर्णयले नेपाललाई केही राहत प्राप्त भएको थियो।

यही कारण नेपाललाई सन् २०१८ मा एकदिवशीय अन्तर्राष्ट्रिय मान्यताप्राप्त गर्न सजिलो भयो। विगतमा ६ एसोसिएटलाई मात्र चार वर्षका लागि एकदिवशीय अन्तर्राष्ट्रियको मान्यता दिँदै आएको आइसिसीले पछिल्लोपटक ८ वटा टोलीलाई यो सुविधा दिएको छ। नेपालले प्राप्त गर्दा चार एसोसिएटलाई मात्र एकदिवशीय अन्तर्राष्ट्रियको मान्यता दिइने भनिएको थियो।

एकदिवशीय अन्तर्राष्ट्रियको मान्यता नेपाली टोलीका लागि ऐतिहासिक बन्यो किनभने यसअघि यस्तो सफलता नेपालले प्राप्त गरेको थिएन। अर्को एकदिवशीय विश्वकपको विश्वस्तरको छनोट नसकिँदासम्म उनिहरुको एकदिवशीय अन्तर्राष्ट्रियको मान्यता कायम रहने छ।

नेपालको यो यात्रा त्यति सजिलो रहेन। सन् २०१० सम्म आइसिसी वर्ल्ड क्रिकेट लिग डिभिजन फाइभमा रहेको नेपालले डिभिजन फोर, डिभिजन थ्री, डिभिजन टु हुँदै विश्वस्तरको छनोटसम्मको यात्रा तय गर्‍यो।

यसबीचमा नेपालले डिभिजन टुको मात्र उपाधि जित्न सकेन। आइसिसीका एसोसिएट सदस्यले मात्र खेल्ने सबैभन्दा ठूलो एकदिवशीय क्रिकेट प्रतियोगिता वर्ल्ड क्रिकेट लिग च्याम्पियनसिप पनि खेलेको थियो, सन् २०१५ देखि २०१७ सम्म। नेपालको यो यात्राका बलिया सारथी हुन् पारस खड्का जसलाई सन् २००९ मा नेपाली सिनियर राष्ट्रिय टोलीको कप्तानीको जिम्मेवारी दिइएको थियो।

कमजोर घरेलु क्रिकेट संरचना, जहिल्यै विवादित क्रिकेट ब्यवस्थापन (नेपाल क्रिकेट संघ)का बीच नेपाली टोलीको कप्तानी गर्नु, अनुकूल नतिजा निकाल्नु, व्यक्तिगत उत्कृष्ट प्रदर्शन गरिरहनु र नेपाली क्रिकेटलाई अन्तर्राष्ट्रियस्तरमा यहाँसम्म ल्याईपुर्‍याउनु पक्कै सजिलो थिएन। तर, पारसले यसलाई सम्भव बनाए।

उनले कप्तानी गरेको पहिलो वर्षमै नेपालले पहिलो ‘मेजर’ सिनियर अन्तर्राष्ट्रिय क्रिकेट उपाधिका रुपमा  आइसिसी वर्ल्ड क्रिकेट लिग डिभिजन फाइभको उपाधि जितेको थियो। त्यसको चार वर्षपछि टीट्वेन्टी विश्वकपमा छनोट भयो, पहिलोपटक।

बंगलादेशमा भएको त्यस प्रतियोगिताको पहिलो चरणमा नेपालले हङकङ र अफगानिस्तानलाई हराएर विश्व क्रिकेटको मन्चमा प्रंशसा बटुलेको थियो। अन्तिम खेलमा बंगलादेशसँग पराजित भएपछि नेटरनरेट आधारमा नेपाल घरेलु टोलीभन्दा पछि रहेर पहिलो चरणबाटै बाहिरियो। त्यसै वर्ष नेपालले पहिलोपटक एकदिवशीय विश्वकपको विश्वस्तरको छनोट पनि खेलेको थियो।

पारसले एकदिवशीय अन्तर्राष्ट्रिय क्रिकेटमा ६ खेल खेल्दै एक सतक र एक अर्धसतक बनाएका छन्। १५ टीट्वेन्टी अन्तर्राष्ट्रिय खेल खेलेका उनले एक सतक र तीन अर्धसतक बनाएका छन्। ४० लिस्ट ए खेल खेल्नेक्रममा तीन सतक र ९ अर्धसतक बनाएका छन्। कप्तानीबाहेक पारसका नाममा थुप्रै राष्ट्रिय कीर्तिमान छन्।

उनले सन् २०१९ मा कप्तानबाट सन्यास लिएर खेलाडीका रुपमा मात्र सीमित रहने बताएका थिए। पछिल्ला केही वर्षलाई छाड्ने हो भने कमजोर व्यावशायिक क्रिकेटको अवस्थाबीच पनि पारसले लगातार नेपाली क्रिकेट खेलिरहे। उनी सन् २००४ यता सिनियर राष्ट्रिय टोलीमा छन्।

उनै पारसलाई आइसिसीले सन् २०१० देखि सन् २०१९ को बीचमा गरेको प्रदर्शन र प्राप्त नतिजाका आधारमा दशककै सर्वोत्कृष्ट एसोसिएट पुरुष खेलाडीको मनोनयनमा पारेको छ।

यो अवार्ड हात पार्न पारसले स्कटल्यान्डका कायल कोएट्जर, क्यालम म्याकलियोड र रिकी बेरिङ्टन, पपुआन्युगिनीका असाद भाला र नेदरल्यान्ड्सका पिटर बोरेनलाई पछाडि पार्नुपर्ने छ। विजेताको टुंगो भोटिङबाट हुने आइसिसीले जानकारी दिएको छ। भोटिङ खुला भइसकेको छ।

मंसिर ९, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्