शंखधरको भव्य शालिक बन्छः मेयर शाक्य

मध्यपुर थिमी नगरपालिका शंखधर चोकमा निर्माण गरिएको शंखधर सामुदायिक भवनको उदघाटन गर्दै काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य। तस्विरः रमेश गिरी/रासस

काठमाडौँ– काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले नेपाल सम्वत् नेवार समुदायको मात्रै नभई सबै नेपालीको सम्वत् भएको बताएका छन्।

रत्नपार्कलाई शंखधर साख्वा पार्कमा परिणत गरेको विषयमा विरोध भइरहेका बेला शाक्यले अर्को ठाउँमा पनि उनको स्मरणयोग्य स्थल बनाउने घोषणा गरेका हुन्।

११४१ वर्षअघि ऋणमा डुबेका कान्तिपुर र भादगाउँका जनतालाई आफ्नो सम्पत्तिबाट ऋण चुक्ता गरी नयाँ युगको थालनी गरेका राष्ट्रिय विभूति साख्वाको सम्मानमा शंखधर दिवसको अवसर पारेर उद्घाटन गरेको भवनले साख्वाको योगदानलाई चिरस्मरणीय बनाउने पनि प्रमुख शाक्यले बताए।

मध्यपुर ठिमीस्थित शंखधर चोकमा शंखधर सामुदायिक भवन तथा राष्ट्रिय विभूति शंखधर साख्वा प्रतिष्ठानको भवनको उद्घाटन गर्ने क्रममा उनले भने, ‘कतिपयलाई नेपाल सम्वत् नेवार समुदायको मात्रै हो भन्ने भ्रम हुने गरेको छ। नेपाल सम्वत् राष्ट्रिय सम्वत् हो। यो सबै नेपालीको सम्वत् भएकाले यसमा कसैले पनि भ्रम पाल्नु हुँदैन।’

शाक्यले शंखधर राष्ट्रिय विभूति भएको भन्दै उनको सम्मान गर्नु भनेको आफ्नै देशको तिथि–मितिको सम्मान गर्नुभएको पनि स्मरण गराए।

‘केही दिनअघि मात्रै काठमाडौँ महानगरपालिकाले उल्लेखनीय योगदान दिएका वैभव व्यक्तित्व साख्वाको अमर योगदानको सम्मान गर्दै ‘शंखधर उद्यान’ मा शालिक स्थापना गरिसकेको छ,’ शाक्यले भने, ‘राज्यलाई योगदान गरेका व्यक्ति, शहीद र राष्ट्रिय विभूतिलाई सबैले चिरकालसम्म चिनून् र सम्झिरहून् भन्ने हेतुले महानगरपालिकाले उहाँहरुको सम्मानमा शालिक निर्माण गर्दै आएको छ।’

उनले साख्वा मात्रै होइन जहाँनिया राणा शासनविरुद्धको लडाइका क्रममा सहादत प्राप्त गरेका चार शहीद (गंगालाल श्रेष्ठ, दशरथ चन्द, धर्मभक्त माथेमा, शुक्रराज शास्त्री)को सम्झनामा पनि काठमाडौँ महानगरपालिकाले पूर्णकदको शालिक निर्माण गरिसकेको जानकारी दिए।

‘महानगरपालिकाले उनीहरु चारै जनालाई मृत्युदण्ड दिएको स्थान शोभा भगवती, सिफल र टेकुमा पूर्णकदको शालिक निर्माण गरेको छ,’ उनले भने, ‘धर्मभक्तको पुर्ख्यौली टोल झोँछेमा पनि हामीले उनको नाममा पार्क र शालिक निर्माण गरेका छौँ।’

मध्यपुर ठिमी नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले शंखधर साख्वा अहिले पनि उपत्यकावासीको मन–मुटुमा रहेको स्मरण गराए। उनले नेपाल सरकारले नेपाल सम्वत् ११२० कछलाथ्व दशमी अर्थात् २०५६ मंसिर २ गते साख्वाःलाई राष्ट्रिय विभूति घोषित गरेको स्मरण गराउँदै उनको सम्मानमा सामुदायिक र प्रतिष्ठानको भवन निर्माण गरी हस्तान्तरण गर्न पाउँदा खुशी लागेको बताए।

श्रेष्ठले नगरपालिकाको ९० लाख, सांसद महेश बस्नेतको सांसद कोषबाट ५० लाख र शंखधर प्रतिष्ठानको तर्फबाट जन श्रमदानसहित १० लाख गरी एक करोड ५० लाखमा सो भवन उपभोक्ता समितिमार्फत निर्माण भएको जानकारी दिए। उनले भवनमा सूचना केन्द्र, संग्रहालय र हल रहनेछ।

मंसिर ९, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्