भारतीय सेनाध्यक्षको भ्रमणलगत्तै हुन लागेको चिनियाँ रक्षामन्त्रीको भ्रमणबाट के अपेक्षा गर्ने?

काठमाडौँ- चिनियाँ रक्षामन्त्री तथा सेन्ट्रल मिलिटरी कमिसनका प्रभावशाली सदस्य जनरल वेई फेङ्हे औपचारिक भ्रमणका क्रममा आगामी मंसिर १४ गते नेपाल आउँदैछन्। चिनियाँ उच्च नेताको एक दिने भ्रमण सुरक्षा, रक्षा र द्विदेशीय सैन्य सहकार्य उच्च प्राथमिकतासाथ केन्द्रित रहने रक्षा मन्त्रालय स्रोत बताउँछ। मन्त्रालयका एक अधिकारी चीनले आफ्ना प्रभावशाली नेतालाई पठाएर दुई देशबीचको सम्बन्धको महत्व देखाएको बताउँछन्।

नेपाली सेना र चीनको राष्ट्रिय सेना पिपल्स लिबरेसन आर्मी (पीएलए) बीच लामो समयदेखि बलियो सम्बन्ध रहँदै आएको छ। नेपाली सेनाको आधुनिकीकरणमा पीएलएले हातहतियारसहित सैन्य सामग्री सहायता, प्रशिक्षणलगायत माध्यमले निरन्तर सहयोग पुर्‍याइरहेको नेपाली सैन्य अधिकारीहरु बताउँछन्। दुई देशका सेनाले संयुक्त सैन्य अभ्याससमेत गर्दै आएका छन्।

गत वर्ष रक्षामन्त्री ईश्वर पोखरेलको औपचारिक भ्रमणका क्रममा पीएलएले नेपाली सेनालाई १ सय ५० मिलियन चिनियाँ युआन आर्थिक सहयता उपलब्ध गराउने प्रतिबद्धता जनाएको थियो। कोरोना भाइरसको महामारीका कारण यो सहयोग निर्धारित समयमा उपलब्ध नभए पनि चाँडै निकासा हुने जनाइएको छ।

नेपाली सेनाको  प्रकोपविरुद्धका प्रतिकार्य क्षमता अभिवृद्धि, देशव्यापी सञ्चार नेटवर्क स्थापनाका लागि चीन सरकारसँग गरिएको यसअघि गरिएका आग्रह फेङ्हेको यस भ्रमणपछि पूरा हुने अपेक्षा गर्न सकिने नेपाली सेनाका एक उच्च अधिकारी बताउँछन्। भारतीय स्थल सेनाध्यक्ष मनोज मुकुन्द नरवणेको नेपाल भ्रमणपछि करिब तीन सातापछि चिनियाँ रक्षामन्त्रीबाट हुन लागेको यस भ्रमणलाई अर्थपूर्णरुपमा हेरिएको छ।

रक्षा मन्त्रालयका एक अधिकारी आफ्नो भूमि एक अर्काविरुद्ध (भारत र चीन) प्रयोग गर्न नदिने नितिमा नेपाल स्पष्ट रहेकाले फेङ्हेको भ्रमण विशुद्ध द्विदेशीय सम्बन्ध र यसका विविध आयामहरुमा केन्द्रित हुने बताउँछन्। ‘सरकार र नेपाली सेनाका लागि दुवै देश र उनीहरुका सेना उत्तिकै बराबर हुन्। तटस्थताको सिद्धान्त र आफ्नो भूमि चीन र भारत दुवैविरुद्ध प्रयोग हुन नदिने हाम्रो परराष्ट्र नीति र राष्ट्रिय सुरक्षा नीतिमा सरकार स्पष्ट छ’, रक्षा मन्त्रालयका ती अधिकारी बताउँछन्।

एक अर्काका सुरक्षा चासोबारे भ्रमणका क्रममा छलफल हुने र आश्वस्त बनाइने ती अधिकारीको भनाइ छ। चीनले नेपाली भूमि मिचेका भनी आएका समाचारहरु र त्यसको वास्तविकताबारे पनि फेङ्हेले आफ्नो पक्षबाट स्पष्ट पार्ने अनुमान गरिएको छ।

हुम्लाको दक्षिण सीमावर्ती भूभाग चीनले मिचेकोबारे नेपाल सरकारका स्थानीय अधिकारीले स्थलगत निरिक्षणसमेत गरेका थिए। फेङ्हेको भ्रमणका क्रममा नेपाली सेनाको प्राविधिकसहितको संयुक्त टोलीले उक्त विवाद समाधानको प्रस्ताव गर्न सकिने रक्षा मन्त्रालय स्रोत बताउँछ। त्यसका लागि सरकारले फेङ्हेको भ्रमणलाई उपयोग गर्न सक्नुपर्ने नेपाली सेनाका अधिकारीहरु बताउँछन्।

चिनियाँ राष्ट्रपति सी जिनपिङपछि नेपाल आउने फेङ्हे सबैभन्दा उच्च चिनियाँ अधिकारी हुन्। बलियो सुरक्षा प्रत्याभूतिका लागि फेङ्हेको सुरक्षा व्यवस्थापनको नेतृत्व नेपाली सेनाले गर्नुपर्ने सुरक्षा अधिकारी बताउँछन्। ‘चिनियाँ सरकारका मन्त्रीहरुलाई हामीले छिमेकी देशका रुपमा मात्र हेर्नु हुँदैन। उनिहरुको सुरक्षा संवेदनशीलता पनि बुझ्नुपर्छ। नरवणेको भ्रमणका क्रममा नेपाली सेनाले गरेको व्यवस्थापनबारे सरकार जानकार छ। त्यसैले यसपटक पनि सेना अग्रपंक्तिमा रहनु आवश्यक छ’, नेपाल प्रहरीका एक पूर्व डीआईजी भन्छन्।

भ्रमणका क्रममा फेङ्हेले नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापासँग पनि भेट्नेछन्। बलियो सैन्य सम्बन्ध र सैन्य कूटनीतिका लागि यो भेट अर्थपूर्ण हुने बताइन्छ। कोरोना महामारीका कारण रोकिएको संयुक्त सैन्य अभ्यासको निरन्तरतासहितका अन्य सहयोग आदान प्रदानबारे पनि छलफल हुन सक्ने बताइएको छ। स्मरणीय छ, पीएलएले महामारीका क्रममा नेपाली सेनालाई मेडिकल सामग्री उपलब्ध गराएको थियो।

तीन साताको अन्तरमा हुन लागेको दुई छिमेकी देशका प्रभावशाली रक्षा अधिकारीको भ्रमणमार्फत नेपालसँग दुवै देशमात्र नभएर विश्वलाई नै पक्षपातरहित भएर द्विदेशीय सम्बन्ध स्थापित गर्न सक्ने देशका रुपमा आफूलाई फेरि एकपटक चिनाउने अवसर छ। आफ्नो राष्ट्रिय चासोसहितको सार्वभौमिकताको अभ्यास गर्न नियमितरुपमा हुने गर्ने यस्ता भ्रमणहरुले सहयोग पुर्‍याउने अधिकारीहरु बताउँछन्।

मंसिर ९, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्