फाइल तस्बिर

नेपालगञ्ज – बाँकेको कोहलपुर मेडिकल कलेजमा मंगलबार राति कोरोना संक्रमित दाङकी ७७ वर्षीया महिलाको मृत्यु भएको छ ।

जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र, बाँकेका अनुसार, स्वास्थ्यमा समस्या आएपछि मंसिर ५ गते कोहलपुर मेडिकल कलेजमा उपचार गर्न ल्याइएकी उनमा ६ गते कोरोना पुष्टि भएको थियो ।

बृद्धाको राति सवा १२ बजे मृत्यु भएको हो । बाँकेमा बाहिरी जिल्लाका ४९ जनाको मृत्यु भइसकेको छ ।

यसैबिच, बुधबार बाँकेमा २३ जना डिस्चार्ज भएका छन् । ६ वर्षीया बालिकाले पनि कोरोना जितेकी छन् । कात्तिक ३० गते कोरोना पुष्टि भएपछि बालिकालाई होम आइसोलेशनमा राखिएको थियो ।

बुधबार डिस्चार्ज भएका २३ जनामा १६ जना पुरुष र ७ जना महिला रहेका छन् । जिल्लामा अहिलेसम्म तीन हजार ५ सय ८१ जना डिस्चार्ज भएका छन् । एक सय ५४ जना आइसोलेशनमा छन् ।

मंसिर १०, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्