जहाँ निर्वाचित अध्यक्षले गाउँको बैठकमा अध्यक्षता गर्न पाउँदैनन्

सिमकोट – संघीयता कार्यान्वयनसँगै निर्वाचन भएर वडा तहसम्म जनप्रतिनिधिहरु निर्वाचित भएको अवस्थामा हुम्लाको एक गाउँमा तीन निर्वाचित पदाधिकारीले गाउँमा हुने बैठकको अध्यक्षता गर्न पाउँदैनन् ।

नाम्खा गाउँपालिकाको वडा नम्बर ६ को हिमालपारीको गाउँ लिमीमा वर्ष दिनमा एकपटक हुने गाउँको आन्तरिक बैठकमा निर्वाचित वडा अध्यक्षले बैठकको अध्यक्षता गर्न नपाउने आन्तरिक नियम छ ।

लिमी हल्जी गाउँका स्थानीय खेण्डाप तामाङले गाउँको आन्तरिक नियम अनुसार वर्षको एकपटक हुने बैकका अध्यक्षता गाउँको अध्यक्षले गर्ने बताए । सरकारी काममा मात्र निर्वाचित वडा अध्यक्षले अध्यक्षता गर्छन् । तर गाउँको वार्षिक बैठकमा भने उनी पनि गाउँका घरधुरीका सदस्य सरह बैठकमा सहभागी हुन पाउने उनले बताए ।

सो बैठकका लागि गाउँले मिलेर अध्यक्ष छनौट गरिएको हुन्छ । यतिखेर गाउँले छनौट गरेका अध्यक्ष छिरिङ तुन्डुप तामाङ छन् । केही दिन अगाडि सम्पन्न गाउँको बैठक पनि उनकै अध्यक्षतामा बसेको थियो । वडा अध्यक्ष पाल्जोर तामाङ त घरमुलीका रुपमा उपस्थिति थिए । उक्त बैठकले गरेका निर्णय भन्दा माथि कोही पनि हुन सक्दैन ।

बैठकले एक वर्षका लागि गाउँलाई आवश्यक पर्ने नीति, नियम, सामाजिक रुपमा गरिने संस्कार, मनोरञ्जन कार्य सबै तय गर्ने गर्छ । लिमीको यो नियमकै कारण सामाजिक बन्धनमा बाँधिनै पर्ने बाध्यता छ । त्यही भएर संस्कार, ऋति थिति र बार बन्देजका बारेमा सिक्न लिमी जानु पर्छ भन्ने भनाई हुम्लामा कायम छ ।

वर्षको एक पटक सञ्चालन हुने बैठकमा उपस्थित नभए जरिवाना तिर्नुपर्छ । नाम्खा गाउँपालिकाको वडा नम्बर ६ को हिमालपारीको गाउँ लिमीमा वर्ष दिनमा एक पटक हुने बैठकमा अनुपस्थित हुने घरधुरीले समाजकै मान्यता अनुसार यस्तो जरिवाना तिर्नु पर्ने व्यवस्था गरिएको हो ।

‘ऐन भन्दा खोलाको चैन’ ठूलो मान्ने लिमी गाउँमा कार्तिकदेखि मङ्सिर महिनामा सञ्चालन हुने बैठकमा उपस्थित हुन नसक्ने सदस्यले आफ्नो हैसियत अनुसार एक हजारदेखि लाख रुपैयाँसम्म जरिवाना तिर्नु पर्ने गाउँको चलन भएको लिमीका स्थानीय राङ्डोल तामाङले बताए ।

बैठक बस्ने मिती, समय र स्थान पहिले नै तोकिएको हुन्छ । १६ वर्ष उमेर कटेका र ६० वर्ष ननाघेका घरका मुलीले मात्र उक्त बैठकमा बस्न पाउँछन् ।

मंसिर १०, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्