गैँडा संरक्षण अभियानमा पूर्व ‘तस्करहरु’

चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रमा देखिएको गैँडा । तस्बिर : साकेत सरौती (फाइल तस्बिर)

चितवन – चितवन राष्ट्रिय निकुञ्जले गैँडा तस्करको अभियोग लागेर सजाय भुक्तान गरेकाहरुलाई गैँडा संरक्षणमा लाग्न प्रेरित गरेको छ ।

निकुञ्जमा गैँडा संरक्षणको चुनौति बढिरहेको बेला निकुञ्ज प्रशासनले यस अघि तस्करमा लागेर सजाय भुक्तान गरेका चेपाङ समुदायका केही व्यक्तिहरुलाई गैँडा संरक्षणमा प्रेरित गरेको हो ।

एक दशक अघि गैँडाको खाग तस्कर गर्नेहरुले निकुञ्ज आसपास बस्ने चेपाङ समुदायका व्यक्तिहरुलाई प्रयोग गरी गैडा मार्न लगाएको र सोही अभियोगमा सजाय भुक्तान पूरा गरेका व्यक्तिहरुलाई अहिले गैडाको संरक्षणका लागि काम गर्न प्रेरित गरिएको चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले बताए ।

तत्कालीन समयमा गैँडाको चोरी सिकारमा एउटै गाउँका ४० जना सम्म संलग्न भएका थिए । चेपाङ समुदायका तिनै व्यक्तिहरुलाई अहिले गैँडा संरक्षणमा जुटन निकुञ्जले प्रेरित गरेको हो ।

निकुञ्जका प्रमख संरक्षण अधिकृत बरालले निकुञ्ज सम्बन्धी ऐनले निकुञ्जमा तस्करी गर्नेहरुलाई १० लाख रुपैयाँसम्म जरिमाना र १५ वर्षसम्म कैदको सजाय गरेकाले पनि तस्करीको काममा नलाग्न आग्रह गरे ।

तस्करमा संलग्न भएका व्यक्ति तथा उनीहरुका आफन्तहरुले भने चेपाङ समुदायका लागि आयआर्जनका कार्यक्रम सञ्चालन गरे तस्करी कम हुने बताएका छन् । विगतमा अशिक्षाका कारण तस्करीमा प्रयोग भएको उनीहरुले बताए ।

त्यसैले चेतना मुलक कार्यक्रम गर्दै आयआर्जनमा प्रेरित गर्न सके तस्करी कम हुने उनीहरुको भनाई छ । आर्थिक रुपमा असुरक्षित भएमा गैँडाको संरक्षण गर्न सम्भव नभएको पनि चेपाङ समुदायका युवाहरुले बताएका छन् । आर्थिक, सामाजिक क्षेत्रमा अब्बल हुनेतर्फ आफुहरुलाई प्रेरित गर्न निकुञ्ज प्रशासन समक्ष उनीहरुले माग गरेका छन् ।

चितवन रास्ट्रिय निकुञ्जमा लगातार तीन वर्ष शून्य चोरी सिकार वर्ष मनाइएको थियो । तर यो चालु अर्थिक वर्षमा खाग चोरी नभए पनि तस्करले चार वटा गैँडा मारिसकेका छन् ।

चितवन राष्ट्रिय निकुञ्जमा एकै वर्ष ३८ वटा गैँडा मारेर तस्करी भएको इतिहास समेत छ । तस्करीमा लागेका कतिपय चेपाङहरु अहिले कैद भुक्तान गरेर घर फर्किएका छन् भने कतिपय सजाय भुक्तान गरिरहेका छन् ।

कैद भुक्तान गरेर फर्किएका केही व्यक्तिहरु फेरि तस्करमा संलग्न हुन थालेपछि निकुञ्जले गैंडा संरक्षणमा चेपाङ समुदायलाई प्रेरित गरेको हो।

 

मंसिर १०, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्