किसान भन्छन्, 'हाम्रा दिन आएनन्'

धानको समर्थन मूल्य ‘आकाशको फल’

झापा – धानको उत्पादन शुरु भएदेखि उत्पादित धानको उचित मूल्य नपाएका किसानले यस बर्ष पनि सोही पीडा सहन बाध्य हुनु परेको छ।

सरकारले यस बर्षका लागि भनेर गत असार महिनामै समर्थन मूल्य तोक्यो। तर सोही मूल्य नपाएका किसानले सस्तो मूल्यमा धान बेच्न बाध्य छन्।

मोटा धानको समर्थन मूल्य प्रतिक्वीन्टल २७ सय ३५ रूपैयाँ र मध्यम खालको धान मूल्य प्रतिक्वीन्टल २८ सय ८५ रुपैयाँ सरकारले तोकेको छ।

सोही मूल्य पाउन किसानका लागि ‘आकाशको फल’ जतिकै भएको छ।

तराईका कृषकहरुको आय आर्जनको मुख्य स्रोत धान भए पनि त्यही धान उचित मूल्यमा नबिक्दा उनीहरु निरास बनेका छन्। प्रायः घरमा नभइ नहुने चामलका लागि त्यही धान चाहिन्छ। तर त्यही धान उचित मूल्यमा किनिदिने नभएकाले किसानहरू निराश बनेका हुन्।

पहिला सरकारले धानको समर्थन मूल्य धान उठाउने बेलामा तोक्ने गरेको भए पनि यस बर्ष धान लगाउने बेलामै तोकेको हो। तर व्यापारीले धान किन्दा पैसा अभावले समस्यामा परेका किसानलाई मूल्यमा ‘बार्गेनिङ’ गरेर धान किन्ने गरेका छन्।

व्यापारीले त्यही मौका खोजिरहेका हुन्छन् जुन बेला कृषकलाई धान बाली लगाउँदा, त्यसलाई स्याहार्दा र बाली उठाउँदाको ऋण तिर्न गाह्रो परिरहेको हुन्छ। अनि मूल्यमा दलाली सुरु हुन्छ। सबभन्दा कम मूल्यमा कस्ले बेच्छ उसैको धान किन्छन् व्यापारीले।

कृषकले धानबाली लगाउन सुरु गर्दादेखि बाली थन्क्याएर त्यस्को मूल्य पाइन्जेलसम्म कतै सन्तोष लिन सकिने ठाउँ नरहेको बताउने गरेका छन्।

अन्नबाली लगाउँदाको अवस्थादेखि बाली भित्र्याउँदासम्मको परिस्थितिमा पीडा बढी हुने गरेको कृषकहरुको भनाइ छ। झापालाई धान सुपरजोन घोषणा गरेर उत्पादन बढाए पनि उत्पादिन धान भनेको मूल्यमा बिक्री नभएको कृषकहरु बताउँछन्।

झापामा धान सुपरजोन सुरु भएको कचनकवल गाउँपालिका ६ का कृषक नवराज भट्टराईले भने, ‘अहिले मरेर दुई हजार रुपैयाँ प्रति क्विन्टल मूल्य पाएका छन् किसानले। त्यतिले खर्च पनि उठ्दैन।’

प्रायः कृषकका घरको भकारीमा धान छ तर मूल्य नपाएर बेच्न पाएका छैनन्।

सरकारले आर्थिक वर्ष २०७६/७७ का लागि मोटा धानको प्रतिक्विन्टल २५ सय ३२ रुपैयाँ ८० पैसा र मध्यम धानको २६ सय ७३ रुपैयाँ १६ पैसा धानको न्यूनतम समर्थन मूल्य तोकेको थियो। त्यो बेला पनि किसानले यही गुनासो गरेका थिए।

तर त्यो मूल्यले पनि किसानलाई केही फाइदा नदिएको कचनकवलकी कृषक मीरा नेपालको भनाइ छ।

उनले भनिन्, ‘धान रोप्दा लागेका मजदुरको ज्याला, बिउ तथा मल खरिद, मेहेनत सबै जोड्ने हो भने त फाइदा होइन पुरै घाटा छ। सस्तोमा धान बेच्न बाध्य छौं हामी।’

तराईका अधिकांश कृषकले धान बेचेर आफ्नो गुजारा चलाउँछन्। तर बर्षेनी खर्च उठ्ने तथा गुजारा चल्नसक्ने भाउ नपाउँदा ‘कृषकका दिन आएनन्’ भनेर कृषकहरुले निराशा व्यक्त गर्ने गरेका छन्।

मंसिर १०, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्