कोभिड उपचारमा प्रभावकारी छ रेम्डेसिभिर? के छ नेपालको अनुभव?

शुक्रबार विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले कोरोना भाइरस संक्रमितको उपचारका लागि प्रयोग हुँदै आइरहेको रेम्डेसिभिर औषधि प्रयोग नगर्न सुझाब दियो। रेम्डेसेभिर औषधिको प्रयोगले संक्रमितको अवस्थामा सुधार भएको कुनै प्रमाण नभेटिएको भन्दै संक्रमणबाट गम्भीर भएका बिरामीमा रेम्डेसिभिर औषधिको प्रयोग नगर्न सुझाव दिएको थियो।

डब्लुएचओका विश्व स्वास्थ्य संगठनको गाइडलाइन डेभलपमेन्ट ग्रुपका अनुसार चार ओटा अन्तर्राष्ट्रिय परीक्षणमा सहभागी सात हजार मानिसमा परीक्षण गरिएको थियो। उक्त परीक्षणमा रेम्डेसिभिरको प्रयोगले संक्रमितको उपचारमा सहयोग नपुगेको पाइएको बताइएको छ।

यद्यपि विश्व स्वास्थ्य संगठनको एक्सपर्ट प्यानलले समग्रमा रेम्डेसिभरले कुनै फाइदा नभएको भन्ने प्रमाणित नभएको बताएको छ। तर अहिलेसम्मको नतिजाअनुसार समग्रमा बिरामीको अवस्था सुधारमा यसको सहयोग नपुग्ने उक्त प्यानलको निष्कर्ष निकालेको छ।

अमेरिकाको फुड एण्ड ड्रग एड्मिनिस्ट्रेसेनले गत मे १ मा यो औषधिलाई आपतकालीन प्रयोगका लागि अनुमति दिएको थियो।

मलेरियाको उपचारका लागि प्रयोग गरिँदै आएको रेम्डेसिभिर पछिल्लो समय कोरोना भाइसरको संक्रमणका कारण स्वास्थ्यमा गम्भीर समस्या देखिएका बिरामीमा प्रयोग गर्ने गरिएको छ।

कोरोना भाइरस विरुद्धको खोप पत्ता उपलब्ध नभएसम्म बिरामीको ज्यान जोगाउन विभिन्न रोगको उपचारका लागि प्रयोग भइरहेका औषधिहरुको प्रयोग गरिँदै आएको छ। यसमध्ये रेम्डेसिभिर पनि हो।

संक्रमणबाट गम्भीर भई आइसियु तथा भेन्टिलेटरमा उपचाररत बिरामीको उपचारको ज्यान जोगाउन चिकित्सकले रेम्डेसिभिरको प्रयोग गर्दै आएका छन्।

नेपालमा पनि यसको प्रयोग भइरहेको छ। यहाँ रेम्डेसिभिरलाई क्लिनिकल ट्रायलकै रुपमा प्रयोग गरिँदै आएको विज्ञहरुले बताएका छन्।

रेम्डेसिभिर उपचारका रुपमा नभएर विकल्पका रुपमा प्रयोग गरिएको जनस्वास्थ्यविज्ञ प्रा. डा शरद वन्तले बताए।

‘कोरोना भाइरस संक्रमितका लागि रेम्डेसिभिर उपचार होइन्। तर यसलाई उपचारको विकल्पका रुपमा भने प्रयोग गरिएको हो’, उनले भने, ‘यसले स्थायी रुपमै मान्यता पाइसकेको होइन। अहिले पनि आकस्मिक प्रयोगका लागि हो र त्यसमा पनि नेपालमा प्रयोग भइरहेको रिसर्च प्रयोजनका लागि हो। क्लिनिकल ट्रायल भइरहेको छ। त्यसकारण त्यो प्रयोजनमा गर्दा यसले प्रभावकारी दखाएको छ। विभिन्न देशहरुमा यसको नतिजा फरकफरक भएको हुँदाखेरी नेपालमा यो प्रभावकारी देखियो। यसको टेक्निकालिटीहरु अझै पनि व्याख्या गर्न बाँकी छ।’

डा. वन्तका अनुसार विश्व स्वास्थ्य संगठनले विभिन्न देशहरुमा भएको परीक्षणको अध्ययनहरु गरेर औसतमा नतिजा निकाल्दा त्यति धेरै प्रभावकारी छैन भनेको हो। तर नेपालमा ट्रायल गर्दा यसको पोजेटिभ रिजल्र्ट आएको हुँदाखेरि अब अहिले यसको विकल्पमा कुनै पनि किसिमको उपचार नहुँदा यसैलाई प्रयोग गरिएको हो।

उनी भन्छन्, ‘यसले अर्को कुनै औषधिलाई विस्थापित गर्न खोजेको भए सोच्नु पर्ने हुन्थ्यो। तर यसले अर्को कुनै पनि औषधिलाई बिस्थापित गर्न खोजेको होइन। त्यसकारण यसको विकल्प नहुँदा कम्तिमा जे छ, त्यसको प्रयोग किन नगर्ने भन्ने भएको हो।’

रेम्डेसिभिरको प्रयोग गर्ने बित्तिकै ठिक हुने प्रभावकारी औषधि भनिहाल्न नमिल्ने बताउँछन्, स्वास्थ्य मन्त्रालयका विज्ञ सल्लाहकार डा. खेम कार्की।

‘सुरुकै अवस्थामा जुन बेला अक्सिजन स्याचुरेसन कम हुँदै गरेको हुन्छ। त्यही अवस्थामा प्रयोग गरेको खण्डमा यसले बिरामीको अस्पताल बसाइ घटाएको देखिन्छ। तर यसले मृत्युको कुरामा वा जटिलतामा जान रोक्ने कुराहरुमा त्यति धेरै प्रभावकारी भएको देखिदैन’, उनले भने, ‘तर छिट्टै यसको प्रयोग गरियो भने जटिलतामा जाने कुरालाई र डिजिजको ड्युरेसन डटाएको भन्ने हाम्रो रिपोर्ट आएको छ। समग्रमा भन्ने हो भने रेम्डेसिभिर प्रयोग गर्नेबित्तिकै ठिक हुने अथवा एकदमै प्रभावकारी भन्ने चाहिँ होइन। केही हदसम्म यसको प्रभाव देखिएको छ वा काम गरेको छ।’

डा. कार्कीका अनुसार विश्व स्वास्थ्य संगठनले गरेको विश्लेषणबाट पनि रेम्डेसिभिर मृत्यु रोक्न वा डिजिजको सिभियारिटी रोक्न सहयोगी भएन भन्ने छ।

 

डा. कार्कीले भने, ‘हाम्रोमा भने जो सिभियर भएको अस्पताल पुगेका छ, उसलाई प्रयोग गर्दा यसको प्रभावकारिता देखिएको छैन। तर जो बिरामी मोडरेड लेभलमा अस्पताल पुगेको छ, उसमाथि प्रयोग गर्दा सबैलाई नभएपनि केहीलाई सहयोग पुगेको छ। त्यसैले यसलाई एकदमै प्रभावकारी भन्न पनि मिल्दैन र यो प्रभावकारी भएन यसको प्रयोग बन्द गरौँ भन्न पनि मिल्दैन।’

तर विश्व स्वास्थ्य संगठनले रेम्डेसिभरिको प्रयोग गर्नै नहुने नबताएको डा. कार्कीले बताए। उनले भने, ‘विश्व स्वास्थ्य संगठनले रेम्डेसिभिरको प्रयोग गर्नै नहुने भनेको छैन। उसले यसको प्रभावकारिता न्यून छ भन्दै आएको छ।’

मंसिर १०, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्