नेपाल आए भारतीय विदेश सचिव हर्षवर्द्धन शृङ्गला, उच्चस्तरीय भेटघाटमा व्यस्त हुने

भारतका विदेश सचिव हर्षवर्द्धन शृङ्गलालाई स्वागत गर्दै परराष्ट्र सचिव भरतराज पौडेल।

काठमाडौँ – भारतका विदेश सचिव हर्षवर्द्धन शृङ्गला दुई दिने औपचारिक भ्रमणका लागि बिहीबार नेपाल आएका छन् ।

त्रिभूवन अन्तर्राष्ट्रिय अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारलाई भ्रमणबारे प्रतिक्रिया दिने क्रममा उनले आफ्नो भ्रमण दुई छिमेकीबिचको मैत्री सम्बन्ध थप बिस्तारका लागि भएको बताए ।

उनले भने, ‘आज म भेटघाटमा व्यस्त रहन्छु । मेरो पहिलो भेट परराष्ट्र सचिवसँग हुन्छ । त्यसपछि परराष्ट्रमन्त्री प्रदीव ज्ञवालीसँग भेटवार्ता गर्ने तयारी छ । अरु भेटघाट पनि हुन्छन् ।’

नेपाल–भारतबिच रहँदै आएको मित्रवत सम्बन्धलाई अझ प्रगाढ बनाउने विषयमा छलफल हुने उनले बताएका छन् ।

उनी विमान मार्फत काठमाडौँ आएका हुन् ।

परराष्ट्र सचिव भरतराज पौडेलेको निमन्त्रणमा उनी नेपाल भ्रमणमा आएका हुन् । विगतका उच्चस्तरीय भ्रमणको निरन्तरताकै रुपमा हर्षवर्द्धनको भ्रमण रहेको परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले बताइन् ।

भारतीय विदेश सचिव हर्षवर्द्धन दुई दिन नेपालमा रहने छन् । सहयोगका विविध क्षेत्रबारे छलफल हुने प्रवक्ता लम्सालले जानकारी दिइन् ।

नेपाल र भारतबीच सीमा विवाद चर्किएपछि दुई देशको उच्च कूटनीतिक तहमा वार्ताको शृङ्खला सुरु भएको संकेतका रुपमा हर्षवर्द्धनको भ्रमणलाई लिन सकिने विश्लेषण छ ।

मंसिर ११, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्