पाँच राउण्ड गोली लागेको अवस्थामा भेटिए एकजना, घटनाको अनुसन्धान गर्दै प्रहरी

सांकेतिक तस्बिर।

दाङ – गोली लागेर घाइते अवस्थामा एकजना फेला परेपछि प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको छ ।

तुलीपुर उपमहानगरपालिका वडा नम्बर १३ निवासी ४५ वर्षीय खुसलराम पौडेल पाँच राउण्ड गोली लागेर घाइते अवस्थामा फेला परेपछि प्रहरीले घटनाको अनुसन्धान थालेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी शिवबहादुर सिंहले बताए ।

घाइते पौडेलले घटनाबारे केही नबताएको उनले जानकारी दिए । ‘घटना स्थल कहाँ को ? कसरी गोली लाग्यो भन्ने बारेमा घाइतेले केही बताएका छैनन्’ डिएसपी सिंहले भने, ‘अहिले प्रहरी घटना स्थलको खोजीमा परिचालन भएको छ ।’

पौडेलको ढाडमा तीनवटा र दाहिने खुट्टाको तीघ्रामा थप दुईवटा गोली लागेको छ ।

पूर्वपश्चिम राजमार्ग अन्तर्गत लमही नगरपालिका वडा नम्बर ९ च्याउखोला नजिक गोली लागेको अवस्थामा पौडेल बुधबार राति फेला परेका थिए । घाइतेको अहिले नेपालगञ्जमा उपचार भैरहेको छ ।

मंसिर ११, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्