समर्थन मूल्य भन्दा कममै धान बेच्न किसान बाध्य

वीरगञ्ज – सरकारले तोकेको समर्थन मूल्य भन्दा कम मूल्यमा नै पर्सामा व्यापारीहरुले किसानबाट धान खरिद गरिरहेका छन् ।

सरकारले यस वर्ष तोकेको धानको समर्थन मूल्य भन्दा साढे ६ सयदेखि ७ सय रुपैयाँ कममा व्यापारीहरुले किसानको धान खरिद गरिरहेका छन् ।

सरकारले यस वर्ष किसानहरुले धान लगाउनु भन्दा अघि नै मोटा र मध्यम धानको समर्थन मूल्य तोकेको थियो । मन्त्रिपरिषद बैठकले मोटा धानको मूल्य प्रतिक्विन्टल २ हजार ७ सय ३५ र मध्यम धानको २ हजार ८ सय ८५ रुपैयाँ तोकेको थियो ।

तर, सरकारले तोकेको समर्थन मूल्यमा पर्साका किसानहरुले धान बेच्न पाएका छैनन् । किसानहरुबाट यहाँका व्यापारीले तोकिएको भन्दा कम मूल्यमै धान किनेका छन् । व्यापारीहरुले किसानबाट २ हजार १ सय ५० रुपैयाँ प्रतिक्विन्टलमा धान खरिद गरिरहेको पर्सा जगरनाथपुर गाउँपालिका–३ बिजबनियाका किसान फरजन राउतले जानकारी दिए । सरकारले तोकेको न्यूनतम समर्थन मूल्य आफूले नपाएको बताए ।

गाउँमा आउने व्यापारीहरुले बढिमा प्रतिक्विन्टल साढे २१ सय देखि २२ सयसम्म मूल्य दिने गरेको राउतको भनाई छ । सरकारले प्रतिक्विन्टल २८ सय भन्दा पनि बढि यस वर्षको लागि धानको मूल्य निर्धारण गरेको भनि आफूले सुनेको भएपनि सो अनुसारको मूल्य हालसम्म नपाएको राउतको गुनासो छ ।

‘सरकारले २८ सय भन्दा पनि बढि धानको मूल्य तोकेको भन्ने सुनेको त छु तर, हामीले धान बिक्री गर्दा त्यति पाएका छैनौँ’, राउतले भने, ‘दैनिक खर्च, चाडपर्व लगायत गहुँ बाली लगाउनका लागि कम मूल्यर्म पनि धान बिक्री गरियो ।’

सरकारले किसानहरुको धान स्थानीय तहमा नै खरिद गर्ने व्यवस्था मिलाउनु पर्ने माग उनले गरे । सरकारले निर्धारण गरेको समर्थन मूल्य अनुसार जिल्लामा कतै पनि ब्यापारीहरुले धान खरिद नगरेको किसान हकहित संघर्ष समिति पर्साका अध्यक्ष सहरुम गदीले जानकारी दिए । उनले हरेक वर्ष झैँ यस वर्ष पनि सरकारले नै उचित मूल्य दिएर आफूहरुको धान खरिद गर्ला भनेर सोचेका किसानहरुले समयमै सरकारले किसानको धान खरिद नगर्दा बाध्य भएर कम मूल्यमा नै बेच्नु परिरहेको बताए ।

किसानको धान खरिद गर्ने सरकारी निकाय खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको शाखा कार्यालय वीरगञ्जले हालसम्म धान खरिद गर्न कुनै निर्देशन नआएको भन्ने जवाफ पाएको गदीको भनाई छ । धान खेतीका लागि उपयुक्त मानिने पर्सामा यस वर्ष अगहनी धान प्रतिहेक्टर ४ मेट्रिक टन उत्पादन भएको जिल्ला कृषि ज्ञान केन्द्रले जानकारी दिएको छ ।

मंसिर ११, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्