विराटनगर – विराटनगरको नोबेल शिक्षण अस्पताल र होम आइसोलेशनमा रहेका दुईजना कोरोना संक्रमितको मृत्यु भएको छ ।

अस्पतालका प्रबन्धक नारायण दाहालका अनु्सार मोरङको रतुवामाई नगरपालिका र लेटाङ्ग नगरपालिकाका वृद्धको उपचारका क्रममा मृत्यु भएको हो।

दाहालका अनुसार लेटाङ नगरपालिका–२ का ७० वर्षीय वृद्धको बिहीबार बिहान उपचारका क्रममा मृत्यु भएको हो। स्वास्थ्यमा समस्या भएसँगै अस्पतालमा उनलाई भर्ना गरिएको दाहालले जानकारी दिए। यसक्रममा पीसीआर परीक्षण गराउँदा पोजिटिभ रिपोर्ट आएसँगै मंगलबार उपचारका लागि वृद्धलाई भर्ना गरिएको थियो ।

उनको भेन्टिलेटरमा राखेर उपचार हुँदैगर्दा मृत्यु भएको हो ।

त्यस्तै रतुवामाई नगरपालिका–८ का कोरोना संक्रमित ८० वर्षीय वृद्धको बुधबार राति होम आइसोलेशनमै मृत्यु भएको छ ।

रतुवामाई नगरपालिकाका मेयर रविन राईले कोरोना पुष्टि भए पनि आफ्नै घरमा बसिरहेका वृद्धको राति १० बजेतिर मृत्यु भएको बताए। बृद्धमा मंसिर १ गते कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो । उनमा मृगौला सम्बन्धी पुरानै समस्या रहेको मेयर राईले जानकारी दिए।

मंसिर ११, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्