परेवाको लडाइँ र प्रधानमन्त्रीका विकल्पहरु

२०४८ सालको निर्वाचनका क्रममा निर्वाचन आयोगमा कम्युनिष्ट पार्टीको रुपमा विभिन्न नामका ४८ दल दर्ता थिए। निर्वाचनमा नेपाली कांग्रेसले बहुमत ल्याए पनि सबै कम्युनिष्ट पार्टीको मत जोड्दा बामपन्थीहरु नै बहुमतमा देखिए। तर निर्वाचन परिणाममा एमाले, संयुक्त जनमोर्चा र नेपाल मजदुर किसान पार्टीले मात्र आफ्नो उपस्थिति देखाउन सके।

त्यही समयदेखि वामपन्थी एकीकरणको भाव उदायो। मदन भण्डारीले ठूलो हृदय देखाई मनमोहन अधिकारीलाई सम्मानित गर्दै एमालेका रुपमा एकीकरण अभियान सुरु गरे। यो अभियान स्वभाविक र सुपाच्य थियो। माले–मार्क्सवादीको एकताकै कारण एमाले २०४८ मा सशक्त प्रतिपक्षीको रुपमा उदाएको थियो।

नेपालको राजनीतिमा अत्यन्त सरल र अविश्वासी पात्रको रुपमा उदाएका पुष्पकमल दाहाल ‘प्रचण्ड’ को नेतृत्वमा नेकपा विभाजनको पीडामा छट्पटाइरहेको थियो। नेकपाको सैद्धान्तिक धार मोहन वैद्यले लिएर हिँडे। षड्यन्त्रकारी भाग बाबुराम भट्टराईले लिएर बसे भने लडाकु दस्ता नेत्रविक्रम चन्द ‘बिप्लव’ ले समातेर किनारा बसेपछि प्रचण्ड सानो कार्यकर्ताको प्लाटुन लिई स्थानीय निर्वाचनमा नेपाली कांग्रेससँग मिल्न गए । मधेस आन्दोलन र केपी ओलीको राष्ट्रवादका अगाडि पनि कांग्रेससँग मिलेर माओवादीले स्थानीय निर्वाचनमा आफ्नो अवस्था केही सुदृढ गर्‍यो।

झण्डै एक्लै लड्न नसक्ने अवस्थामा पुगेको माओवादी र आफ्नो बुतामा कहिल्यै बहुमत पुर्‍याउन नसक्ने एमालेबीच सशक्त वाममोर्चा बनाउने रणनीति ठूलो विदेशी राष्ट्रको राजदूतको अग्रसरतामा तयार पारियो। मोर्चामा तत्कालीन संघीय समाजवादी फोरमलाई पनि रणनीतिक साझेदारको स्वीकार गरिएको थियो। नेकपाको बहमुतको सरकार भए पनि निर्वाचन पनि फोरमलाई सरकारमा सामेल गरिनुबाट विदेशी दबाब पुष्टि हुन्छ।

विदेशी रणनीति अनुसार अस्वस्थ केपी ओली स्वास्थ्यको कारण लामो समयसम्म कुर्सीमा बस्न नसक्ने विश्वासका साथ आलोपालोको आधारमा पदको बाँडफाँट, मोही, तलसिङ जस्तै निर्धारण गरिएको थियो।

राजनीतिमा भनिन्छ, मान्छेको आयु सत्ताको सुखमा निर्धारित हुन्छ। २०४६ सालको वरपरको गिरिजाप्रसाद कोइराला, केपी ओलीको तस्बिर र पछिका तस्बिर हेर्ने हो भने राजनीतिक उखान सत्य भन्नुपर्ने हुन्छ। केपी ओलीको शारीरिक एवं मानसिक स्वास्थ्य सुदृढ भयो। भागबण्डा, आलोपालो र पार्टीको सर्वाेच्चता भन्ने कुरामा सीमित रहे। नारायणहिटी राजदरबारमा रेस्टुरेन्ट खोल्ने अट्ठाइस बर्षकी नानी दावाफुटी शेर्पालाई स्पेनको राजदूत बनाउने, राष्ट्रिय सम्पत्ति यति होल्डिङ्सलाई रजाई गर्न दिनेलगायतका क्रियाकलपाले नेकपाका इमान्दार कार्यकर्ता मर्माहत हुन पुगे भने पदवण्डाको आशा गरेका नेताले मोही तलसिङको स्थानमा जमिन्दारको अवतारमा केपी ओलीलाई पाएपछि नेकपामा विवादको सिर्जना भयो । त्यही विवादको गन्धले विगत ६ महिनादेखि संचार जगत रमाएको देखिन्छ ।

नेकपाका शीर्ष नेताहरु पूर्व निर्धारित शर्त उल्लघंन भएपछि विपरीत देशतर्फ शरण माग्न लागे । विदेशमै पद बाँडफाँट भयो । कसैलाई राष्ट्रपति, कसैलाई प्रधानमन्त्री, कसैलाई पार्टी अध्यक्ष एवं पत्नी र छोराको व्यवसायमा ऋण लागेका कसैलाई पनि ठूलो धनराशी दिने बचनबद्धता भयो ।

नेकपाको विवाद बढ्न जाँदा विदेशी राजदूत साउनदेखि नेकपाका नेताकहाँ देउसी भैलो माग्न बाध्य हुँदैआएकी छन् । विचरी राजदूतले जतिपल्ट मिलापत्र गराए पनि प्रधानमन्त्रीको प्रवृत्तिमा परिवर्तन हुन सकेन र सम्पूर्ण विदेशी लगानी बालुवामा पानी हुन पुग्यो ।

नेकपाका शीर्ष नेताहरु पूर्व निर्धारित शर्त उल्लघंन भएपछि विपरीत देशतर्फ शरण माग्न लागे । विदेशमै पद बाँडफाँट भयो । कसैलाई राष्ट्रपति, कसैलाई प्रधानमन्त्री, कसैलाई पार्टी अध्यक्ष एवं पत्नी र छोराको व्यवसायमा ऋण लागेका कसैलाई पनि ठूलो धनराशी दिने बचनबद्धता भयो ।

परिणामस्वरुप विगत निर्वाचनमा बर्दियामा हारेका बामदेव गौतमलाई पुनः निर्वाचित हुन काठमाडौंदेखि डोल्पासम्म दौड लगाइयो । चुनाव क्षेत्र खोज्दाखोज्दा थकित भएका पात्र गौतम नेकपााको विवादमा एकाएक प्रमुख पात्रको रुपमा उदाए ।

प्रधानमन्त्री केपी ओली उत्तर दक्षिणको प्रभावलाई किनारा गर्दै प्रशान्त महासागर पारी राजनीतिक हात मिलाउन सफल भए । अर्थात् अमेरिकालाई नेपालमा खुट्टा जमाउन एमसीसी पास गराउनुपर्ने, भारतलाई चीन, पाकिस्तानसँग लड्न अमेरिकाको साथ चाहिने, अमेरिका आउने हल्ला सुन्ने बित्तिकै १९६२ को भारत– चीन युद्धमा भारतबाट जितेको क्षेत्र छोडी चीन पछि हटेको घटनादेखि अवगत प्रधानमन्त्रीले अमरिकाको सहकार्य लिई छिमेकीबाट हुने प्रहार रोक्ने प्रचार गरे। नेपालको नयाँ नक्सा र सिहंमेव जयते भाषण पनि प्रधानमन्त्रीका स्वभाविक कदम होइनन्। यो तथ्य छिमेकीको दूतहरुको आवागमनबाट पुष्टि हुन्छ।

छिमेकीमाथि अंकुश लाए पनि पार्टीमा विरोध नथामिएपछि प्रधानमन्त्रीसँग विरोधी खेमालाई पुनः फुटाउन त्यसका लागि सर्पपालन गर्न रकम विनियोजित गरी प्रभावित गर्नु हो। र, अर्को ललिता निवास जग्गा काण्डमा माधव नेपाललाई पनि मुद्दा चलाउनुपर्छ भनी झापाका एक वकिलले दिएको मुद्दा सर्वाेच्च अदालतले अग्राधिकार दिइराखेको छ। त्यो मुद्दाको भय सिर्जना गर्नु, वामदेव गौतमलाई सञ्चारमन्त्री दिने प्रलोभन दिनु तथा प्रचण्डलाई पुरानो फाइल अख्तियारले खोल्ने भय त्रास सिर्जना गर्नु र अविवाहित तलब नचाहिने नारायणकाजीलाई पनि सूर्य थापाभन्दा आकर्षक पदको प्रलोभन लगायतका अस्त्रहरु हुन् । तर ती अस्त्रहरु प्रयोग गर्ने समय गुज्रेका कारण आज प्रयोगमा आउन सक्दैनन् ।

अख्तियारबाट नवीन घिमिरेको विदाइका कारण प्रचण्ड भयमुक्त भइसके । हाल अख्तियारको नेतृत्व माओवादी खेमाको आयुक्तले गरेका हुन् । माधव नेपालविरुद्ध अदालतबाट निर्णय हुन हाललाई असम्भव छ । नेपालमा निर्वाचन हारेका वामदेव गौतमलाई छिमेकमा राजनीतिक पुनर्जीवनको लागि खाएको बुटीले मन्त्री पदको लोभबाट जोगिने दिव्यज्ञान दिएको छ । अतः प्रधानमन्त्री ओलीको आश र त्रासको राजनीतिमा पूर्णविराम लाग्न गएको छ ।

प्रधानमन्त्रीका विकल्पहरु
प्रधानमन्त्री पदबाट केपी ओली राजीनामा दिँदैनन् । पार्टी अध्यक्षबाट राजीनामा दिन उनका सहयोद्धाहरुले मान्दैनन् । प्रधानमन्त्री छोड्दा आजै सबै थोक गुम्ने, पार्टी अध्यक्ष छोड्दा कठपुतली भई बाँच्नुपर्ने वा निकालिनुपर्ने भय प्रधानमन्त्रीमा रहेको छ । नेपाल कम्युनिष्ट पार्टीमा पार्टी विभाजन गरी चोइटिने पक्षको पतन हुने दृष्टान्त एमाले र माले विभाजनबाट पुष्टि हुन्छ । माले पार्टीमा जल्दाबल्दा सबै नेता थिए भने एमालेमा दोस्रा श्रेणीका नेताहरु थिए । कम्युनिष्ट पार्टीमा लेबी र भत्ताको गहिरो नाता छ । पियनदेखि मन्त्रीसम्मले बुझाएको लेभी संस्थापन पक्षसँग रहन्छ । पार्टी फण्डको नाममा संस्थागत भ्रष्टाचार गरी जम्मा गरेको रकम संस्थापन पक्षसँग रहने र कार्यकर्ताको भरणपोषणमा पार्टी लेबीले महत्वपूर्ण भूमिका राख्ने हुँदा पार्टी विभाजनको मार्गबाट विरोधीलाई किनारा लगाउन केपी ओली र प्रचण्ड परेवाको लडाइँको नक्कल गर्दैछन् । परेवाको लडाईमा पखेटाले विरोधीलाई प्रहार गरिन्छ । रगत बगाउने काम गरिँदैन । अतः प्रचण्ड र ओलीमध्ये कसका पखेटा बलिया छन्, जनता हेर्दैछन् ।

मंसिर ११, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्