
काठमाडौँ– नेपाल उद्योग वाणिज्य महासंघको साधारणसभा रोक्न सर्वोच्च अदालतले अस्वीकार गरेको छ। बिहीबार सुरु भएको अधिवेशन रोक्न अन्तरिम आदेशको माग गर्दै रिट दायर भए पनि सर्वोच्चले अस्वीकार गरेको हो।
शनिबार हुने हुने निर्वाचनका मतदाता अवैधानिक रुपमा ल्याइएको दाबी गर्दै उद्योग वाणिज्य महासंघ प्रदेश नम्बर दुईका अध्यक्ष शिवशंकर शाहले साधारणसभा नै रोक्न माग गर्दै मंगलबार रिट हालेका थिए। महासंघको ५४औं साधरणसभा बिहीबार प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका छन्।
रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै न्यायाधीश पुरुषोत्तम भण्डारीको एकल इजलासले कारण देखाउ आदेश जारी गरेको छ। निवेदकको माग बमोजिम अन्तरिम आदेश भने जारी नभएको सर्वोच्च प्रशासनले जनाएको छ।
शाहले यसअघि जिल्ला प्रशासन कार्यालय काठमाडौँमा पनि अधिवेशन रोक्क उजुरी दिएका थिए। रिट निवेदक शाहले महासंघ राष्ट्रिय निर्देशन ऐन २०१८ अन्तर्गत दर्ता भएको संस्था भएकोले सरकारको प्रत्यक्ष निगरानी रहने हुँदा कार्यकालमै रहेका पदाधिकारीले चुनाव गराउन नहुने जिकिर गरेका छन्।
यसपटक महासंघको वरिष्ठ उपाध्यक्षका लागि किशोर प्रधान र चन्द्र ढकाल प्रतिस्पर्धामा छन्। महासंघको विधानअनुसार वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने व्यवस्था छ।