घाँस चर्ने क्रममा भेटिएको नील गाईको बाछो सम्बन्धित निकायलाई जिम्‍मा

मोरङ-रंगेली नगरपालिका दौलतपुरमा घाँस चर्ने क्रममा भेटिएको नील गाईको बाछो बहरलाई प्रहरीले सम्बन्धित निकायमा जिम्मा लगाएको छ।

जिल्ला प्रहरी कार्यालय मोरङले बिहीबार विहान हरिण भेटिएको जनाएको थियो। तर, सव डिभिजन वन कार्यालय उर्लाबारीले सो जनावर हरिण नभइ नील गाईको करिब १ वर्षको बाछो रहेको प्रस्टाएको छ।

दुर्लभ वन्यजन्तुमा पर्ने निल गाईको बाछो भारततर्फबाट नेपाल प्रवेश अलमलिएको हुन सक्ने कार्यालयका पदाधिकारीहरुले अनुमान गरेका छन्। विहान स्थानीयले रंगेलीकिो दौलतपुरस्थित पोखरी नजिक सो जनावर देखेर मार्ने प्रयास गरेपछि प्रहरीले बाछोलाई जोगाएका थिए।

प्रहरीले उद्धार गरेको बाछोलाई हरिण भएको जनाउदै उर्लाबारीस्थित सव डिभिजन वन कार्यालयलाई जिम्मा लगाएको थियो। त्यसपछि कार्यालयका सहायक वन अधिकृत तारिणी चौधरीले सो जनावर हरिण नभएर निल गाईको बाछो रहेको प्रस्टाएका थिए।

उनका अनुसार करिब १ वर्षको सो बाछो ५० किलोतौलको रहेको छ । बाछोलाई उर्लाबारीको मंगलबारेमा सुरक्षितसाथ राखिएको उनले बताए।

चौधरीले बस्नलाई आवश्यक संरचना तयार गरेपछि बाछो संरक्षण र पालनपोषणका लागि पथरीशनिश्चरेमा रहेको हरियाली सामुदायिक वन उपभोक्ता समूहको जिम्मा लगाइने प्रस्टाए।

चौधरीका अनुसार चितवनमा उल्लेख्य रुपमा निलगाई पाइने भएपनि पूर्वी नेपालमा नपाइने गरेको छ। निलगाईले खोलाको किनार, खुला ठाउँ, घाँसे मैदान र काँस घारीमा चर्न मन पराउने गर्छ।

 

मंसिर ११, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्