विदेश सचिव श्रीङ्लासँग देउवाले भने- उच्चस्तरीय संवादले सम्बन्ध बलियो हुन्छ

काठमाडौँ-  दुईदिने नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव हर्षबर्द्धन श्रीङ्लाले बिहीबार अबेर राति प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गरेका छन्।

श्रीङ्लासँगको भेटमा सभापति देउवाले नेपाल–भारतबीच राजनीतिक तहमा निरन्तर सम्पर्क र छलफलमा जोड दिएका छन्। उच्च राजनीतिक तहमा हुने संवादले दुई मुलुकबीचको सम्बन्ध थप बलियो हुने देउवाले श्रीङ्लासँग बताए। भेटमा बरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला पनि सहभागी थिए। कांग्रेस नेताहरुसँग भेट्न विदेश सचिव श्रीङ्ला देउवा निवास बुढानीलकण्ठ पुगेका थिए। त्यहाँ श्रीङ्लाले करिब ४५ मिनेट बिताएका थिए।

यसअघि विदेशमन्त्री श्रीङ्लाले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसँग भेट गर्नुका साथै परराष्ट्रसचिव भरत पौड्यालसँग द्विपक्षीय विषयमा छलफल गरेका थिए। दुईदिने नेपाल भ्रमणमा आएका श्रीङ्ला शुक्रबार भारत फर्कँदैछन्।

मंसिर ११, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्