विराटनगर – छोरी जन्मिएको सुखद क्षण परिवारले राम्ररी बिताउन नपाउँदै मोरङमा एक सुत्केरी महिलाको मृत्यु भएको छ ।

सुत्केरी भएको करिब १६ दिनपछि श्वासप्रश्वासमा समस्या र बोली एकाएक बन्द हुँदा मोरङ रतुवामाई नगरपालिकाकी २५ वर्षीया महिलालाई विराटनगरको नोबेल शिक्षण अस्पतालमा भर्ना गरिएको थियो। उनमा कोरोना संक्रमण पुष्टि भएको थियो । ती महिलामा मृगौला र निमोनियाको समस्या थियो ।

कोरोना संक्रमण भइसकेको अवस्थामा स्वास्थ्यमा समस्या भएपछि परिवारले होम आइसोलेशनबाट उनलाई मंसिर १० गते अस्पतालमा भर्ना गराएका थिए ।

जटिल अवस्थामा भर्ना गरिएकी महिलालाई बुधबारदेखि भेन्टिलेटरमा राखेर बचाउने प्रयास गरिएको भए पनि सफल नभएको अस्पतालका प्रबन्ध नारायण दाहालले बताए ।

उनको बिहीबार राति करिब ११ बजे मृत्यु भएको हो ।

परिवारका सदस्यका अनुसार सुत्केरी ब्यथाले च्यापेपछि कात्तिक २५ दमकस्थित आम्दा अस्पतालमा शल्यक्रिया गरि डेलिभरी गराइएको थियो। डेलिभरीपछि स्वास्थ्य अवस्था सामान्य रहेकी महिला र छोरी दुवैलाई अस्पतालले डिस्चार्ज गरेको थियो।

मृतक महिलाकी दिदीले घरमा ल्याएपछि कात्तिक अन्तिमतिर बहिनीमा श्वासप्रश्वासमा समस्या देखिएको र मोरङको बुढीगंगा गाँउपालिकास्थित विराट शिक्षण अस्पतालमा भर्ना गरेको जानकारी दिइन्। कात्तिक ३० गते पीसीआर रिपोर्ट नेगेटिभ आयो । दोस्रो पटक परीक्षण गर्दा बहिनीको रिपोर्ट पोजिटिभ आएको उनले बताइन्।

विराटमा केही दिन आईसियुमा गराउँदा स्वास्थ्यमा सुधार आयो र परिवारले घर लगे । ‘तर घर लगेको केहीदिनपछि बहिनीको स्वास्थ्य अवस्था थप जटिल हुँदै गयो, श्वासप्रश्वासमा समस्या हुँदै बोली नै बन्द भयो’ दिदीले भनिन् ।

त्यसपछि थप उपचारका लागि परिवारले तत्कालै नोबेल अस्पतालमा लगेको हो । तर परिवारका केही सदस्यले भने अस्पतालले उपचारमा लापरवाही गरेको र पन्छिनका लागि कोरोनाको बहाना बनाएको आरोप लगाएका छन् । उनीहरुका अनुसार बिहीबार राति मृत्यु भएको खबर पनि अस्पतालले शुक्रबार बिहानमात्र जानकारी गराएको परिवारको भनाई छ ।

मंसिर १२, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्