परराष्ट्रमन्त्री स्तरीय वार्ताका लागि नेपाललाई भारतले गर्‍यो निम्ता

काठमाडौँ – भारतीय समकक्षी एस जयशंकरले परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई भारत भ्रमणको निम्तो दिएका छन्।

नेपाल भ्रमणमा रहेका भारतीय विदेशसचिव हर्षवद्र्धन श्रृङ्गलाले विदेमन्त्री जयशंकरको निमन्त्रणा ज्ञवालीलाई शुक्रबार स्वदेश फर्किनुअघि हस्तान्तरण गरेका हुन्। उनी दुई दिने औपचारिक भ्रमणका लागि बिहीबार काठमाडौँ आएका थिए।

दुई देशबीचको परराष्ट्र मन्त्रीस्तरीय संयुक्त आयोगको बैठकका लागि जयशंकरले ज्ञवालीलाई निमन्त्रणा पठाएका हुन्।

औपचारिक रुपले आयोगको बैठक निश्चित नभए पनि लगभग पुस पहिलो हप्तातिर आयोजना गर्ने प्रस्ताव आएको छ। उक्त आयोगको बैठक दुवै देशले पालैपाले गर्दै आएका छन्।

१९८७ मा स्थापना भएको परराष्ट्र मन्त्रीस्तरीय आयोगको बैठक यसपटक दिल्लीमा हुने कार्यसूची छ।

गत वर्ष अगष्ट २१ उक्त बैठक नेपालमा भएको थियो। बैठकमा दुई देशबीच १९५० को शान्ति तथा मैत्री सन्धी पुनरावलोकन तथा नेपाल भारत संयुक्त इमिनेन्ट पर्सन ग्रुप (ईपीजी)को प्रतिवेदन हस्तान्तरण गर्ने विषयमा छलफल भएको थियो।

यसपटक सीमा विवादबारे छलफल हुने संभावना छ।

मंसिर १२, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्