सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमितको संख्या ११ हजार नाघ्यो

धनगढी- सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमितको संख्या ११ हजार नाघेको छ । शुक्रबार सुदूरपश्चिम प्रदेशका ४ वटा प्रयोगशालामा गरिएको परिक्षणमा थप ३५ जनामा कोरोना संक्रमण पुष्टि भए संगै प्रदेशभर कोरोना संक्रमितको संख्या ११ हजार २७ पुगेको हो।

शुक्रबार प्रदेशका ४वटा प्रयोगशालामा गरि २ सय ९१ जनाको परीक्षण गर्दा थप ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको प्रदेश सामाजिक विकास मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार सेती प्रादेशिक अस्पताल, डडेल्धुरा अस्पताल, डोटी जिल्ला अस्पताल र अछामको कमलबजार नगरपालिकाको प्रयोगशालामा पछिल्लो २४ घण्टामा २ सय ९१ जनाको परीक्षण गर्दा थप ३५ जनामा संक्रमण पुष्टि भएको छ।

डडेल्धुरा अस्पताल प्रयोगशालामा ६० जनाको परीक्षण गर्दा १६ जना, सेती प्रादेशिक अस्पताल प्रयोगशालामा १ सय ९० जनाको परीक्षण गर्दा ९ जना, कमलबजार नगरपालिकाको प्रयोगशालामा १२ जनाको परीक्षण गर्दा ९ र डोटी अस्पताल प्रयोगशालामा २९ जनाको परीक्षण गर्दा १ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ।

सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठका अनुसार धनगढी उप–महानगरपालिका वडा नम्बर १२ का ३ जना, वडा नम्बर ४ का १ जना, लम्कीचुहा नगरपालिका वडा नम्बर २ का २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

यसैगरी ठेगाना नखुलेका कैलालीकै १ जना, कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका ५ र अजयमेरु गाउँपालिका ४ का १ जनामा पनि शुक्रबार संक्रमण पुष्टि भएको श्रेष्ठले जानकारी दिए।

मन्त्रालयका अनुसार प्रदेशभर संक्रमण पुष्टि भएका ९ हजार १ सय ६६ जनाले कोरोना जितेका छन् भने हाल सम्म ३६ जनाको मृत्यु भएको छ।

मंसिर १२, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्