हामी सधैँ सम्झिरहनेछौँ- ७

शल्यचिकित्साका अब्बल

गत शनिबार अर्थात मंसिर ६ गते उनको निधन भयो। ७७ वर्ष पुग्दासम्म पनि उनको काम-गराइ कुनै युवाको भन्दा कम थिएन। उनको काम गराइ देख्दा अन्य डाक्टरहरु हौसिन्थे। आफ्नो पेशाप्रतिको उनको त्यो लगनशीलता अनि मेहनत लोभलाग्दो थियो।

उमेर जति ढल्किँदै थियो, उनको जोश उति बढेको देखिन्थ्यो।

आफ्नो कर्तव्य पूरा गर्दागर्दै डा. ध्रुव मुडभरीलाई तीन साताअगाडि कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो। उनको स्वास्थ्यमा जटिल समस्या देखिएपछि उनको ओम अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो। स्वास्थ्यमा सुधार आएपछि उनलाई अस्पतालबाट डिस्चार्ज गरिएको थियो।

डिस्चार्ज भएपनि उनको शरीरलाई निको भएन। घर फर्किए पनि स्वास्थ्यमा पुनः समस्या देखियो। लडेर उनी गम्भीर घाइते भए। उपचारका लागि फेरि ओम अस्पतालमा भर्ना गरियो। उपचारकै क्रममा उनले संसार छोडे। आफैले स्थापना गरेको अस्पतालमा उनले अन्तिम श्वास फेरे।

र, सदाका लागि बिदा भए।

नेपालमा शल्य चिकित्सा शुरु गर्ने मध्येका एक हुन्, डा. मुडभरी। देशमा शल्य चिकित्साको विस्तारमा उनको महत्वपूर्ण योगदान छ।

डा. मुडभरीले भारतको औरंगाबाद मेडिकल कलेजबाट एमबिबिएस र एमएस (जनरल सर्जरी) गरे। उनले एमएस गरेर आउँदा नेपालमा सर्जनको संख्या औँलामा गन्न मिल्नेमात्र थियो। यसले गर्दा उनलाई काम पाउन मुस्किल पर्‍यो। सर्जनको काममा लागि उनले धेरै चक्कर लगाए। तर केही उपाय लागेन।

त्यो बेला देशभरमा जम्मा ७ जना सर्जनको दरबन्दी थियो। उक्त ७ जना मध्ये चार जना वीर अस्पतालमा, एक जना वीरगञ्जमा, र एक जना नेपालगञ्जमा कार्यरत थिए। सर्जनको दरबन्दी भएको बुटवल अस्पतालमा भने पद रिक्त थियो।

उनले त्यही ठाउँ पाउने उपाय खोजे।

र, सफल भए।

डा. मुडभरी सर्जन मात्रै होइन, राजदरबारका चिकित्सक समेत थिए। तर उनले त्यो रवाफ कहिल्यै देखाएनन्। डा. मुडभरी राजा वीरेन्द्रका सर्जन थिए।

उनले पछि वीर अस्पतालमा काम गर्दै गर्दा राजाहरुलाई त्यो बेलामा बाहिर गएर उपचार गराउनु हुँदैन, विदेशमा जस्तो उपचार नेपालमा पनि सम्भव बनाउनु पर्छ भन्दै स्वास्थ्य सेवालाई अगाडि बढाएका थिए।

डा. मुडभरीले धेरै वर्ष वीर अस्पतालको निर्देशक भएर नेतृत्व पनि गरेका थिए।

उनै डा. मुडभरीको राजधानीमा मात्रै नभएर मुलुकका विभिन्न ठाउँमा सर्जरी सेवा सुरु गर्न ठूलो योगदान छ।

लामो समयसम्म वीर हाँकेका मुडभरीको ओम हस्पिटल एन्ड रिसर्च सेन्टर स्थापनामा समेत निकै महत्वपूर्ण भूमिका छ। ओम अस्पतालका उनी संस्थापक सदस्य समेत हुन्।

डा. मुडभरी लामो समयदेखि ओम अस्पतालमा कार्यरत थिए।

उनको परिवारमा श्रीमती, दुई छोरी र एक छोरा छन्।

मंसिर १३, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्