पेन्सन पकाएर घर फर्कन चाहन्थे प्रेम, घटनाको अघिल्लो दिन परिवारसँग भएको थियो भिडियाेमा कुराकानी

दाङ – छोरा प्रेम केसीको भारतको कश्मीरमा भिडन्तमा निधन भएपछि परिवारसहित सिंगो गाउँ शोकमा डुबेको छ ।

भारतीय सेनामा कार्यरत तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ९ दोघरे बेलुवा निवासी ३० वर्षीय प्रेम केसीको ड्यूटीको समयमा आतंककारी हमलामा परेर शुक्रबार बिहान निधन भएको थियो । छोराको शव बुझ्न बुवा र मामा भारत लखनऊ गएका छन् ।

घरमा आमा, श्रीमती, छोरा छोरी र आफन्ती शव कुरेर बसेका छन् । भारतीय सेनामा जागिर खाएको १३ वर्ष पुगेको थियो । जागिर सकिन २–३ वर्ष थियो ।

‘पेन्सन पकाएर फर्किन्छु भन्थ्यो’ प्रेमका दाइ तुलसी केसीले भने, ‘सबै राम्रो छ । शान्ति छ भन्थ्यो । तर, एक्कासी हमलामा परेर ज्यान गुमाउन पुग्यो ।’

शुक्रबार बिहान ५ बजे आतंककारी समूहले अन्धाधुन्द गोलावारी गर्दा प्रेम ड्यूटीमै थिए । घटना हुनु भन्दा अघिल्लो साँझ बिहीबार घर परिवार सबैसँग भिडियो च्याट गरेका थिए ।

‘आमा बुवा, श्रीमती र छोरा छोरीसँग भिडियोमा कुरा गरेका थिए । सब ठिकठाक भएको बताएका थिए’ तुलसीले भने, ‘भोलि बिहान ड्यूटीमा जान छ । अब सुत्छु भनेर कुराको अन्त्य गरेका थिए ।’

प्रेमका बुवा लालबहादुर भुपु सैनिक हुन् । पेन्सन पकाएर रिटार्यड भएका थिए । बुवाकै प्रेरणाले गर्दा प्रेम भारतीय सेनामा जागिर खाएका थिए । कश्मीरमा ड्यूटी परेको दुई वर्ष पुगेको थियो । प्रेमका ७ वर्षीया छोरी र ५ वर्षीय छोरा छन् ।

मंसिर १३, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्