लकडाउनमा बट्टाइ पालन

संकटले जन्माएको रोजगारी– खानलाई नेपालमा नो टेन्सन

काठमाडौँ – चीनको वुहानमा गएको वर्ष (२०१९ को डिसेम्बर) कोरोना भाइरस देखियो। त्यो समयमा चीनको अवस्था सामान्य नै थियो। त्यसैबिच मकाउबाट ललितपुरको सुनाकोटीका रुपेन्द्र सुब्बा बिदामा घर (नेपाल) फर्किए।

उनी मकाउमा सेक्युरिटी गार्डका रुपमा काम गर्थे ।

अवस्था सामान्य भए पनि चीन सरकारले लकडाउन सुरु गर्‍यो। एक महिनामा मकाउ फर्किनु पर्ने बाटो रुपेन्द्रका लागि बन्द भयो। कम्पनीबाट खबर आयो- ‘अवस्था सामान्य भएपछि आउनू’, रुपेन्द्रले भने।

कम्पनीले नआउन भने पनि उनलाई ५० प्रतिशत तलब दिइरहेको थियो र अहिले पनि सामान्य खर्च पठाइरहेको उनी बताउँछन्।

बिस्तारै कोरोना भाइरसको महामारी चीनमा मात्र नभएर विश्वभरमै फैलियो। त्यसबाट नेपाल पनि अछुतो कहाँ रहन सक्थ्यो र!

नेपालमा पनि संक्रमण बढ्न थालेपछि नेपाल सरकारले कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि गत वर्ष चैत ११ गतेदेखि सुरु गर्‍यो। सबै कामहरु बन्द भए, मान्छेहरु जहाँको त्यहिँ।

सरकारले लकडाउन तथा निषेधाज्ञा गरी करिब ६ महिनामा अधिकांश क्षेत्रमा पूर्ण रुपमा प्रतिबन्ध खोल्यो।

लकडाउन तथा निषेधाज्ञाकाबीच एकै ठाउँमा बस्दा, कुनै काम नहुँदा मानसिक तनाव भएको रुपेन्द्रले सुनाए। ‘लामो समय लकडाउन भयो। घरमा बस्दा पनि केही काम छैन। खायो, बस्यो, सुत्यो, टिभी हेर्‍यो। मोबाइलमा फेसबुक चलाउने, युट्युब हेर्‍यो’, उनी भन्छन्, ‘केही दिन काट्न रमाइलो भयो। तर लामो समयसम्म त्यसो गर्न नसकिँदो रहेछ। दिक्दार भइने, दिमागमा अनेकथरि कुराहरु खेल्ने। यस्तो तरिकाले भएन अब केही काम गर्नुपर्छ भन्ने लाग्यो।’

नयाँ उद्यम गर्ने सोच बनाए पनि त्यति सहज थिए। सबै बन्द।

के गर्ने होला त? उनले समय बिताउन प्रयोग गर्ने युट्युब कामका लागि चलाउन थाले । उनले युट्युबमा सानो ठाउँ तथा सानो लगानीमा बट्टाई पालन गरेको देखे ।

अनि सुरु भयो लकडाउनमा बट्टाई पालन!

रुपेन्द्रले युट्युबबाट बट्टाई पालनका सबै तरिकाहरु सिके। त्यसपछि उनले करिब १० हजारको लागतमा सुरुमा बट्टाईका लागि आधुनिक खोर बनाए । बट्टाईको खोर बनाउन लकडाउनको समयमा त्यति सजिलो थिएन।। ‘घरमा बस्दा–बस्दा दिक्दार भइएको थियो। लकडाउनको समयमा उनीहरुको खोर बनाउन पनि सजिलो थिएन’, उनी भन्छन्, ‘तर पनि जसोतसो बनाइयो। बाहिर बनाएको भए बढी खर्च लाग्थ्यो। युट्युब हेर्दै आफै बनाएकाले थोरैमा बन्यो।’

खोर तयार भएपछि उनले सुरुमा १३ हजार पाँच सय रुपैयाँको १५० वटा बट्टाई ल्याए। १५० वटा बट्टाईबाट उनले करिब ३५ सय चल्ला बेचिसकेका छन्। ‘२५/२६ हजारको लागतमा सुरु गरेको हो। सुरुमा १५० वटा बट्टाई राख्याैँ। त्यसबाट ३५ सय जति चल्ला बेचियो’, उनी भन्छन्, ‘अण्डा पनि थुप्रै बेचियो। हिसाब नै छैन।’ अहिलेसम्म उनीसँग करिब ५ सय बट्टाई छन्।

बट्टाईभन्दा अण्डाको माग बढी भएको उनी बताउँछन्। उनलाई यसको बिक्रीका लागि धेरै दौडधूप गर्नु पर्दैन। वरपर छरछिमेक तथा फोनबाटै माग आउने उनी बताउँछन्। उनी भन्छन्, ‘हामीले बेच्नका लागि बजारसम्म पुग्नु परेको छैन। किन्नका लागि घरमै आउँछन्। छरछिमेकमा नै बढी जान्छ।’

माग यसको जति राम्रो छ, त्यति नै यसलाई पाल्न सजिलो छ। सानो लगानी तथा सानो ठाउँमा नै राम्रो आम्दानी गर्न सकिने उनी बताउँछन्।

 

‘सानो ठाउँमा पाल्न सकिन्छ। उनीहरुको हेरचारमा धेरै खटिनु पनि पर्दैन। चिया पिउँदै यताउता गर्दै हेरचार हुन्छ। साँझ–बिहान चारो दिने, २० लिटर पानी भर्‍यो भने २ दिन पुग्छ’, उनी भन्छन्, ‘धेरै खटिनु नपर्ने भएकाले अरु काम पनि गर्न सकिन्छ।’

कौशीमा ७ बाइ ३ को खोरमा पालेको बट्टाईबाट उनले मासिक करिब ४० हजार आम्दानी गर्छन्। ‘बट्टाईमा नोक्सान भन्ने कुरा छैन। यसको मासु, अण्डा र मल पनि बिक्री हुन्छ’, उनले भने। यसमा मल प्रतिकेजी २० रुपैयाँमा बिक्री हुने गरेको उनी बताउँछन्।

घरमा नै मल हुने भएपछि उनले कौशीमा तरकारी पनि लगाउने गरेको सुनाए। ‘बट्टाईको कुनै बेफाइदा छैन। यसको मासु, अण्डा, मल सबैबाट आर्थिक फाइदा हुन्छ’, उनले भने, ‘अझ यसको अण्डा स्वास्थ्यका लागि निकै राम्रो छ। त्यसैले अण्डा बढी बिक्री हुन्छ।’

९ ग्राम बट्टाईको अण्डामा धेरै पौष्टिक तत्व पाइने सर्जन डा.राजेन्द्र रेग्मी बताउँछन्। अण्डाको दैनिक प्रयोगले भिटामिन बी १२, सेलेनियम, राइबोफ्लेभिनलगायत थुप्रै तत्त्व पाउनुका साथै फलाम पनि प्राप्त हुने उनले बताए।

डा.रेग्मीका अनुसार अण्डामा पाइने तत्वः

क्यालोरिज १४
प्रोटिन १ ग्राम
फ्याट ०
कार्बोहाइट्रेड ०
फाइबर ०
कोलोन ४ प्रतिशत
फोलेट २ प्रतिशत
फ्यान्थोनिक एसिड ३ प्रतिशत
भिटामिट ए २ प्रतिशत
भिटामिन बी १२ ६ प्रतिशत
फलाम २ प्रतिशत
फोस्फोरस २ प्रतिशत
सेलेनियम ५ प्रतिशत

रुपेन्द्रले आफ्नो जोर्नीको समस्या दैनिक अण्डाको प्रयोगले निको भएको जानकारी दिए।

उनले बट्टाईसँगै कालिज पाल्ने योजना बनाएका छन्। त्यसका लागि उनले खोर पनि बनाइसकेका छन्। ‘लकडाउनले गर्दा सानो ठाउँमा सुरु गर्‍यौँ। राम्रै भइरहेको छ। अब कालिज पाल्ने योजना छ। त्यसको लागि तयारी पनि भइरहेको छ। कहिले सबै राम्रो हुन्छ, थाहा छैन। नेपाल छँदासम्म केही गर्नु पर्‍यो’, उनले भने। उनी कोरोना महामारी नियन्त्रणमा आएपछि पुनः मकाउ जाने बताउँछन्।

विदेश गए पनि उनले सुरु गरेको व्यवसायलाई परिवारले निरन्तरता दिने बताएको छ ।

भिडियो हेर्नुहोस्ः https://youtu.be/PX_wsNNalI0
मंसिर १३, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्