इथियोपियाको टिग्रेको क्षेत्रीय राजधानीमा सरकारी बलको कब्जा

इथियोपियाका प्रधानमन्त्री अबी अहमदले सरकारी सुरक्षा बलले टिग्रे क्षेत्रको क्षेत्रीय राजधानीमा पूर्ण नियन्त्रण कायम गरेको बताएका छन् ।

टिग्रेको राजानी मेकेली सरकारी सेनाले नियन्त्रण कायम गरेको उनले बताएका हुन् । यसअघि आर्मी टिग्रे पिपुल्स लिबरेशन फ्रन्ट (टिपिएलएफ) विरुद्ध आक्रामक अभियान चलाएर सो क्षेत्रमा प्रवेश गरेको थियो ।

टिपिएलएफका नेताले समाचार संस्था रोयटर्ससँग स्वनिर्णयको अधिकारका लागि आफूहरुले अन्त्यसम्म लडिरहने बताएका छन् ।

सरकारी सुरक्षा बल र टिपिएलएफबिच भएको हिंसाका कारण सयौँको मृत्यु भएको छ भने हजारौँ बिस्थापित भएका छन् ।

नोभेम्बरको सुरुमा प्रधानमन्त्री अबीले टिपिएलएफविरुद्ध सैन्य कारवाहीको घोषणा गरेपछि हिंसा सुरु भएको थियो ।

क्षेत्रीय राजनीतिक दल टिपिएलएफले इथियोपियन आर्मीको उत्तरी कमाण्डको हेडक्वाटरमा आक्रमण गरेको आरोपमा कारवाहीको घोषणा भएको थियो ।

मंसिर १४, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्