महिला प्याराग्लाइडिङ पाइलटको अनुभव

अरुलाई आकाशमा उडाएर रमाउँछिन् २८ वर्षीया कृशु पौडेल

पोखरा – आकाशमा आफूसँगै यात्रुलाई उडाएपछि फेवा तालको छेउमा उनले ल्याण्ड गराउँदै थिइन्। त्यो दिन उनी सँगै एडभेञ्चरको अनुभव लिन खाजेका आफ्ना यात्रुलाई केही असहज भएको थियो। तर पनि उनले आफ्नो ग्राहकलाई सहज बनाउने कोशिससँगै फेवाताल नजिकै ल्याण्ड गराइन्।

यसरी एडभेन्चरमा रमाइरहेकी २८ वर्षकी कृशु पौडलले आफूसँगै अरुलाई पनि एडभेञ्चर अर्थात प्याराग्लाइडिङको अनुभव गराइरहेकी छन्। पोखराकी कृशुले यसरी प्याराग्लाइडिङ अनुभव गराउन थालेको ९ वर्ष भइसकेको छ ।

सुरुमा अनुभव लिनको लागि प्याराग्लाइडिङ गर्न पुगेकी उनलाई रमाइलो लाग्यो। त्यही नै बेला उनले थाहा पाइन्, नेपाली महिला पाइलट रहेनछन्। उनलाई आफूमात्र हैन अरुलाई लिएर उड्ने रहर जाग्यो। त्यसैलाई पूरा गर्न उनले ब्लु स्काई प्याराग्लाइडिङबाट यसको कोर्स गरिन्।

कोर्स सकेपछि लाइन्सेस लिन ३ वर्ष लाग्यो। अहिले पोखरामा भएका ३३८ जना पाइलट मध्यकी उनी एक हुन् । ३३८ मध्य १२ महिला मध्यमा उनी पर्छिन्। ‘जुन बेला मैले लाइन्सेस लिएको थिएँ, त्यतिबेला हामी तिन जना मात्र युवतीहरु थियौँ,’ उनले भनिन्।

‘प्याराग्लाइडिङ देख्दा रमाइलो लागे पनि पूर्ण रुपले एडभेञ्चर नै हो । त्यसैले पनि हामीलाई चुनौती त हरेक दिन नै छ । हरेक दिन नयाँ दिनको सुरुवात हुन्छ । हरेक दिन नयाँ मान्छेलाई उडाउन पर्छ,’ उनले भनिन्, ‘कसैलाई यो एडभेञ्चरमा पूर्ण रुपले रमाइलो र सजिलो महसुश हुन्छ भने कसैलाई यो एडभेञ्चरमा केही असहज महसुश पनि हुन सक्छ। धेरै किसिमको चुनौती त हुन्छ । तर त्यसलाई कसरी सहज बनाउने भन्नेतर्फ लागिन्छ। अनुभव लिँदा असहज हुन पुगेकालाई कसरी सहज बनाउने त्यो पनि हामीले विचार गर्नुपर्छ।’

एडभेञ्चरमा रमाइरहेकी पौडेलका श्रीमान् सुशिल गुरुङ खेलाडी तथा प्याराग्लाइडिङ पाइलट नै हुन् । माइती र घर ती दुवैको आफूलाई राम्रो साथ रहेको उनी बताउँछिन् । दुवै परिवार र श्रीमान‌को साथका कारण पनि आफूले यस पेशालाई निरन्तरता दिन सकेको उनले बताइन् । श्रीमान् पनि पाइलट हुँदा उनलाई अझै सहज भएको छ।

महिला भएकै कारण आफूले आफ्नो क्षेत्रको पुरुष साथीहरुबाट महिला हिंसाको अनुभव नभएको उनको भनाइ छ । ‘तर महिलाले जति म पुरुष भन्दा कम छैन भने पनि सायद हाम्रो शरीरको बनावटको कारणले पनि होला, कहिलेकाहिँ चाँहि काममा असहज भएको अनुभव छ,’ उनले भनिन्।

उनले थपिन्, ‘हामी पर्दा एक अर्कोसँग सहयोग पनि गर्ने गर्छौँ। साथीहरुले सहयोग पनि गर्नु हुन्छ ।’ ५ वर्षको प्रेमपछि मागि विवाह गरेकी उनले अहिले सिल्भर माउण्टेन प्याराग्लाइडिङ कम्पनीमा आवद्धध भएर एडभेञ्चरमा आफूसँगै अरुलाई अनुभव लिने र दिने गरिरहेकी छिन् ।

प्याराग्लाइडिङ दुर्घटनाको बारेमा उनी भन्छिन्, ‘दुर्घटना त सबै क्षेत्रमा हुन्छ । ‘साँच्चै भन्ने हो भने यस क्षेत्रमा धेरै कम हुन्छ । तर कहिलेकाहिँ नसोचेको कुरा हुन्छ । त्यही पनि हामीले पनि धेरै कुरा र हाम्रो गाइडलाइन्समा भएको नियमअनुसार गर्नु पर्छ । किनकि हामी आफूसँगै अरुको पनि ख्याल गर्नु पर्ने हुन्छ । तर पनि कहिलेकाहिँ दुखद घटना हुन पुग्छ।’

 

ह्दयेन्द्र र पोल्याण्डका ४ वर्षको बालक उडानको यात्रु बन्दा

पाइलट भएर प्याराग्लाइडिङ उडान गरेको आठ वर्षसम्म पुग्दा धेरै किसिमका यात्रु बोकेको उनको अनुभव छ। दुखद भन्दा पनि रमाइला अनुभव धेरै रहेको उनको भनाइ छ । त्यही मध्येको अविस्मरणीय उडान ‘हृदयेन्द्र बीर विक्रम शाह’ लाई उडाउँदाको हो।

मैले उहाँलाई प्याराग्लाइडिङ गराउँदा उहाँ सानो हुनुहुन्थ्यो। ‘ही वाज सो क्युट’, उनले भनिन्, ‘खासै अरु कुरा भएन। कहाँ पढ्नु हुन्छ भनेर सोधेँ। हाम्रो सामान्य कुराकानी भयो। उहाँ प्याराग्लाइडिङ गर्दा धेरै रमाउनु भएको थियो।’ यस्तै उनीसँग पोल्याण्डका ४ वर्षका एक बालक उडाएको अनुभव पनि छ। ‘उनी कसैसँग पनि उड्न मानेका थिएनन् । रोइरहेका थिए । रोइरहेका बालक पछि त मसँग उड्न माने। उनी उड्न मानेपछि उनका परिवार र हामी पाइलट सबै खुसी भयौँ।’

विशेषगरी मुस्लिम समुदायको महिला प्याराग्लाइडिङ आउनु भयो भने महिला पाइलट नै खोज्ने गरेको उनले बताइन्। ‘उहाँहरुले पर्खेर भए पनि महिला पाइलटसँग नै उड्ने गर्नु हुन्छ ।’ तर केही महिला भने महिला पाइलटको विश्वास गर्दैनन्। ‘केही समय अगाडिको कुरा हो नेपाली युवती नै हुनु हुन्थ्यो । उहाँले ‘नाइँ म महिला पाइलटसँग नउड्ने, डर लाग्छ’ भन्नु भएको थियो ।’ उनको लागि करियरमा नै यो पहिलो अनुभव थियो।

‘सायद उहाँ आफैमा पनि कन्फिडेन्स नभएर पनि होला । वा उहाँलाई के भएर हो त्यो त थाहा भएन,’ उनी भन्छिन्, ‘महिलाले नै त्यस्तो भनेको सुन्दा नरमाइलो चाहिँ लागेको थियो ।’

कोरोना भाइरसको कारणले गर्दा नेपालको पर्यटक शहरको रुपमा चिनिएको पोखरालाई पनि धेरै असर पर्‍यो। अहिले प्याराग्लाइडिङ खुलेको एक महिनामात्र भएको छ । अहिलेको कोरोना भाइरसको संक्रमणको अवस्थामा आफूले मास्क लगाउने, सकेसम्म बाहिर नखाने, स्यानिटाइजर लगउने जस्ता आधारभूत कुरा अपनाइरहेको उनले बताइन् ।

काम सुरु गर्दा महंगो अनि चुनौतीपूर्ण काम थियो तर पनि आकाशको यात्रापछि यात्रीलाई ल्याण्ड गराएपछि उनीहरुको मुहारमा देखिएको मुस्कान देख्दा आफूलाई अझ खुशी हुने उनले बताइन्।

उडानका बेला नियमावली विपरित कार्य गर्ने मिल्दैन्

पोखरामा अहिले ६१ प्याराग्लाइडिङ गर्ने कम्पनीहरु रहेका छन् जस मध्य ५५ वटा कम्पनीहरु चलिरहेका छन् भने बाँकीको विभिन्न कारणले प्रक्रियामा रहेको नेपाल हवाई खेलकुद संस्था (एनएए) का अध्यक्ष कृष्णा भण्डारीले जानकारी दिए । २०/२२ बर्ष देखि प्याराग्लाइडिङ भइरहेको छ । धेरै अगाडिको डाटा त छैन। तर डाटा राख्ने सुरुवात गरेदेखि उडानका बेला भएको दुर्घटनामा मुत्यृ हुने पाइलटमा राजु गैरै नेपाली पहिलो रहेको उनले जानकारी दिए।

योभन्दा पहिला एक जना यात्रुको मृत्यु भएको छ । सोलो (एकल) उडान वा प्रशिक्षार्थी पाइलट मात्रै बढी जसो दुर्घटनामा परेका थिए । तर व्यवसायिक फ्लाइट गर्दा भएको दुर्घटनामा अहिलेसम्म एक जना प्यासेन्जर र केहीअघि भएको घटनामा पाइलटको ज्यान गएको छ ।

पाइलटको मुत्यृ हुने गरी भएको दुर्घटनाको विषयमा नेपाल नागरिक उड्यन प्राधिकरणले तीन सदस्यीय समिति पनि गठन गरेको भण्डारीले जानकारी दिए । उनले भने- व्यवसायिक उडानको लागि ११ महिनाको कोर्स हुने गर्छ । उडानका लागि उपयुक्त पाइलट बन्न कम्तीमा डेढ वर्ष लाग्छ । त्यस पछि विभिन्न परीक्षा अन्य धेरै कुरापछि उहाँहरुले उडानको लागि लाइसेन्स पाउनु हुन्छ। हामीले पनि यो टिकटकमा भिडियो राख्ने ट्रेनसँगै विभिन्न खाले नियमवाली विपरितको गतिविधि भएको भन्ने जानकारी पाएका छौं । त्यस्तो नियमावली विपरितको कुनै पनि गतिविधि गर्न पाइदैन। त्यसरी उडानका बेला फूल टिप्ने लगायतका कार्य गर्ने मिल्दैन।

प्याराग्लाइडिङ आफैमा एउटा चुनौती पूर्ण कार्य हो। तर पछिलो समय सोसल मिडियमा विभिन्न किसिमका भिडियो पनि बाहिरिएका छन् । विशेषगरी टिकटकमा उडानको समयमा फूल टिपेर यात्रुलाई दिने। केक काट्ने। फेवा तालको पानीलाई टच गर्ने। उडानकै समयमा यात्रुले वियर पिउने लगायतका भिडियो बाहिरिएका छन्। तर यस्ता खाले गतिविधि नियमावली विपरित हुन्।

मंसिर १५, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्