हामी सँधै सम्झिरहनेछौँ- ८

राम्रो हुन्छ कि भन्दाभन्दै उनी नफर्किने बाटो गए

मङ्सिर ३ गते सुवासले देह त्याग गरे,

उनको उमेर ५२ वर्ष थियो।

कारण थियो कोरोना भाइरस, २३ दिनको अस्पताल बसाइ अनि अनेकौँ उपचार पद्धतिको शरीरमा प्रयोग पछि जब रिपोर्ट नेगेटिभ आयो, तब उनले नफर्किने यात्रा तय गरे।  तर, यो यात्रा सामान्य थिएन।

यो वर्ष विश्वका धेरै मानिसलाई झैँ सुबास खरेलको परिवारलाई पनि अशुभ बन्यो।

केही व्यवहारिक समस्या त मानिसको जीवनमा प्राय भइरहन्छन् तर दशैँको केही दिन अगाडिदेखि सुवासको घरमा दशा लाग्यो। सुबासका ८० वर्षभन्दा माथि उमेरका बाबा आमालाई कोरोना संक्रमण देखियो।

सुवास प्रसिद्ध कवि तथा गायक किरण खरेलका कान्छा छोरा थिए। सञ्चारकर्मी सुमन खरेलका कान्छा भाइ।

‘भन्न धेरै अफ्ठेरो छ। हामीले अन्त्यसम्म प्रयत्न गर्‍यौँ,’ चिनेका चिकित्सकले सुवासको स्वास्थ्यमा सुधार नभएको बताइरहँदा परिवार भने प्रयासरत र आशावादी नै रह्यो। ‘दिनमा डेढ लाख खर्च हुन्थ्यो। हामीलाई खर्च भन्दा ज्यान ठूलो भयो तर सफल भएन।’

बाबा किरण खरेललाई कोरोना संक्रमण भएपछि उनी आफैँले स्टार हस्पिटलमा गाडीमा राखेर पुर्‍याए। फेरि आमालाई कोरोना भाइरस देखियो। तर योपल्ट उनमा आमालाई अस्पताल लैजान गाडी हाँक्न शक्ति थिएन। सुवासका कान्छा फुपाजू केशवमणि ओलीले अरु कोही सदस्यलाई पठाए। ‘सुवासलाई झन् गाह्रो हुँदै गयो त्यसैले हामीले उसलाई पनि स्टार अस्पताल लग्यौँ,’ ओली भन्छन्, ‘नवमीको दिनमा उसको रिपोर्ट पोजेटिभ आयो, फोक्सोमा धेरै समस्या भइसकेको देखियो।’

अस्पताल खोज्दाको हैरानी अनि बिरामीको बिग्रँदो अवस्थाको साक्षी बनेका ओलि यो सबै यात्राको दौरान धेरै ठाउँमा टुलुटुलु हेर्न बाहेक केही गर्न सकेनन्।

उनले सुनाए, ‘स्टार अस्पतालमा रिपोर्ट पोजिटिभ आइसकेपछि भेन्टिलेटरमा राख्नुपर्ने भनियो। तर त्यहाँ खालि थिएन। हामीले चिनेजाने जति सबै ठाउँमा फोन गर्‍यौँ। धेरै अस्पतालमा खालि नभएको सूचना आयो। बल्ल बल्ल ग्राण्डीमा बेड पायौँ। दुई दिन कसैलाई भेट्न पनि दिइएको थिएन। कोभिडमा कोही जाने कुरा पनि भएन। उसले त्यहाँका नर्सको फोन मागेर आफ्नो श्रीमतीसँग कुरा गर्ने रहेछ। उसले भन्थ्यो रे, ‘डाक्टर के भन्छन्, मलाई एकदमै दुखिराखेको छ, पोलिराखेको छ।’

ओलीले थपे, ‘चिकित्सकले ‘अब उहाँलाई भेन्टिलेटर लगाउनुपर्छ’ भन्नुभयो, हामीले ‘हुन्छ’ भन्यौँ। त्यसपछि आज, भोलि, पर्सि गर्दागर्दै १३ दिनसम्ममा नि उसलाई कहिले अलिकति राम्रो हुने तर अरु बेला सुधार नहुने देखियो। चिकित्सकले ‘१३ दिन भन्दा धेरै भेन्टिलेसनमा राख्नुहुन्न’ भने। घाँटीबाट भेन्टिलेटर जस्तै अर्को उपकरण जडान गर्ने भनियो, त्यो सफल भयो।  त्यसपछि ७२ घण्टालाई औषधि दिनुपर्छ अनि हेरौँ भने। हामीलाई एकदमै राम्रो औषधि दिइएको छ भन्थे। भन्दाभन्दै केही राम्रो भएन, अनि अन्त्यमा त्यस्तो भयो।‘

बिरामीको दुख
भिनाजु ओली भन्छन्, ‘कल्पना नै गर्न सकिँदैन।’ मृत्यु हुनेभन्दा केही दिन अगाडि सुबासलाई सामान्य वार्डमा सारिएको थियो। अन्तिम समयसम्म पनि चिकित्सकले प्रयास गरे। ‘भन्न धेरै अफ्ठेरो छ। हामीले अन्त्यसम्म प्रयत्न गर्‍यौँ,’ चिनेका चिकित्सकले सुवासको स्वास्थ्यमा सुधार नभएको बताइरहँदा परिवार भने प्रयासरत र आशावादी नै रह्यो। ‘दिनमा डेढ लाख खर्च हुन्थ्यो। हामीलाई खर्च भन्दा ज्यान ठूलो भयो तर सफल भएन।’

मधुमेह र उच्च रक्तचापको बिरामी स्वास्थ्य सावधानीसाथ लामो आयु बाँचेको तथ्यांकहरु छन्। सुवासलाई तीन वर्ष अगाडि यी दुई समस्या थिए। उनले खानेकुरा बार्ने गरेका थिए अनि नियमित जिम जान्थे।

परिवारलाई खोट बन्यो।

उनी मिजासिला, सहयोगी स्वाभावका थिए। रमाइलो गर्नुपर्ने उनको बानी थियो। उनी पहिला होटल व्यावसायी थिए, पछि सहकारी खोलेर बसेका थिए।

उनका दुई श्रीमती छन्, दुई छोरी र १ छोरा छन्। जेठी छोरीको विवाह भएको छ। छोराले ग्र्याजुएसन सक्काए, कान्छी छोरी १२ मा पढ्दै छिन्। दुई श्रीमती गृहिणी छन्।

सुवासका बाबा किरण खरेल ८३ वर्षका भए। आमा आशा ८० वर्षकी भइन्। किरण तीन छोरा र एक छोरीमध्ये कान्छा सुवास सँगै बस्थे। कोरोना संक्रमण हुँदा किरणलाई सुवासले नै अस्पताल लगेका हुन्। उनी र श्रीमती अस्पताल १० दिन बसेर निको भएर फर्के। तर कोरोनाले उनको ठूलो क्षति गरेको छ।

फुपाजू जो सुवासको बाँच्नको लागि संघर्ष र उनी गएपछिको परिवारको शोकको साक्षी छन्। उनलाई सुवासको कुरा मनमा आयो कि तिनै कुरा याद आउँछ, ‘हामी अलि सचेत हौँ, दूरी कायम गरौँ भन्ने मान्छे तर ऊ अलि रसिलो थियो। बाहिर हिँड्थ्यो, रेष्टुरेन्टमा खाजा खान पनि जान्थ्यो। उसको पेशा नै त्यस्तै। मनमा खोट रह्यो, त्यसरी नहिँडिदिएको भए हुन्थ्यो कि!’

ओलीलाई लाग्छ- उनलाई पहिलाबाट नै संक्रमण थियो। पहिचान पछि भयो। उनलाई रुघा खोकी सामान्य थियो।

तर, अन्त्यमा कसैलाई भन्ने ठाउँ छैन।

मंसिर १५, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्