संगीत प्रवीण नरराज ढकालको १०० औँ जन्मदिन

संगीतका जीवित विद्यालय बाबुको पाइला पछ्याउँदै छोरा प्रभुराज ढकाल

ढल्कुबाट उकालो लाग्नेबित्तिकैको उकालो मोड । बाक्लो बस्तीबीचको कुमारी गल्ली। अनि त्यही गल्लीको एउटा रातो रंगको घर।

फलामे गेटबाट भित्र छिर्दाछिर्दै प्रभुराज ढकाल बोल्न सुरु गरे। घरको एक पाखा देखाउँदै उनले भने,  ‘मेरो बुबा यही ठाउँमा जन्मनु भएको हो, मैले पुरानो घर भएको ठाउँमा नयाँ बनाएको हुँ।’

ढोकाबाट छिर्ने बित्तिकै दाहिनेपट्टी कोठा, काठको ढोका खोल्ने बित्तिकै हातमा तानपूरा समाएको ठूलो पेन्टिङ थियो, त्यो तस्बिर शास्त्रीय संगीतका महान हस्ती नरराज ढकालको थियो। ‘रंगीन तस्बिर छैन। यो पछि बनाएको हो।’ नरराजका छोरा प्रभुराज ढकालले भने। त्यही तस्बिरको नजिक श्यामश्वेत शालिन तस्बिर झुण्डाइएको थियो।

नरराज ढकाल

नेपालको शास्त्रीय संगीतको क्षेत्रमा सम्मानपूर्ण नाम। १९७७ को मंसीर १५ मा भएको थियो। यो नाम यत्तिकै रहेन, नेपाली संगीतप्रतिको उनको बुझाइ अनि उक्त संगीत प्रसारमा उनले जुन भूमिका खेले, त्यसैले राख्यो। उनलाई तत्कालीन राजा महेन्द्रले संगीत प्रवीणको उपाधि दिएका थिए। नरराजका छोराका अनुसार राजाले पनि नरराजको बारेमा बाहिरबाट सुने अनि दरबारमा बोलाए। २०१६ बाट उनले दरबारमा काम गरेका हुन्।

२०१९ सालमा उनलाई नेपाल सरकारका तर्फबाट राजा महेन्द्रवीर विक्रम शाहदेवले संगीत प्रवीणको उपाधि दिएका थिए।

नरराज ढकालको परिवार गोरखाबाट काठमाडौँ झरेको हो । प्रभुलाई थाहा भएसम्म नरराजका हजुरबुवाहरु राजा पृथ्वीनारायण शाह काठमाडौँ पसेसँगै साथ लागेर आएका थिए। क्षेत्रपाटीको कुमारी गल्लीमा त्यतिबेला ९ घर मात्रै थिए रे।

नरराजले जन्मेको केही समयमा बुवा गुमाए अनि केही वर्षमा आमा। त्यसपछि नरराज हजूरबुवा र हजूरआमाको अभिभावकत्वमा हुर्कँदै गए।

नरराजको चासो संगीतमा कसरी बस्यो प्रभुलाई थाहा छैन, तर उनले स्मरण गर्दा नरराजको बिहानको नित्यकर्मपछि संगीत नै थियो। ‘म ५/६ वर्षको थिए होला, त्यतिबेला बाबाको विद्यार्थी घरभरी हुन्थे।’

रेडियो नेपालका कलाकारहरु नरराजका विद्यार्थी थिए,

तारादेवी, मीरा राणा, प्रकाश श्रेष्ठ, आनन्द कार्की, रामकृष्ण ढकाल, शम्भुजीत बास्कोटा, न्यूहु बज्राचार्य, सपना श्री, चन्द्रकला शाह, लोचन भट्टराई आदि आदि।

बाबुको बाटोमा प्रभु

नरराजका ३ छोरामध्ये प्रभु माइलो हुन्। उनका दाजु स्वर्गीय भइसके भने उनका भाइ गीत संगीत क्षेत्रमा पेशागत रुपमा लागेका छैनन्। प्रभु भने २३ वर्षदेखि काठमाडौँ विश्वविद्यालयमा संगीत पढाइरहेका छन्। सन् १९९६ बाट नै उनले पढाउन थालेका हुन्। त्यतिबेला उनी जम्मा २६ वर्षका थिए।

उनको पहिलो ब्याचको विद्यार्थी नवीन के भट्टराई हुन्। सनुप पौडेल पनि प्रभुका विद्यार्थी हुन्। यस्तै हेमन्त राना, नरेन लिम्बु, मौसमी गुरुङ, सुदिप गिरी पनि उनका शिष्य हुन्। पहिलो नेपाली तारा दिपक लिम्बु, मान्डवी त्रिपाठीले प्रभुको घरमा नै सिकेर गएका छन्। ललितकला क्याम्पसमा १० वर्ष पढाएको उनको अनुभव छ।

उनलाई संगीतमा जीवन समर्पण गरौँ भन्ने थिएन। त्यसैले उनले व्यवस्थापन अध्ययन गरे । अनि सरकारी सेवामा लाग्ने तयारी पनि । तर पछि संगीतमा नै उनको भविष्य बन्यो। ‘बाबाले मेरो भन्दा भाइको स्वर राम्रो छ, संगीतमा नै भविष्य बनाउने हो भने उनको सम्भावना छ भन्नुहुन्थ्यो तर अहिले उल्टो भयो,’ उनी भन्छन्, ‘संगीतलाई नै लिएर जाने हो भन्ने पक्का भइसकेपछि मैले इलाहाबादबाट संगीतमा स्नातकोत्तर गरेँ अनि ‘संगीत प्रवीण’ भएँ। उनका भाइ प्रतीकराज ढकालले पनि संगीतमा स्नातकोत्तर गरेका छन्।

उनको ठूलो हलमा दुईओटा तानपुरा छन्। एउटा बाबा नरराजको अनि अर्को उनको। ‘संगीतमा बाँच्न त्यो बेलामा धेरै गाह्रो थियो। मैले बन्छु भनेको त थिइन तर रगतमा नै रहेछ।’

‘किन ?’

‘त्यो बेलामा संगीतमा बाँच्न गाह्रो थियो। मैले बाबालाई दरबारमा गाएको देखेपनि हामीलाई हुर्काउँदाको कष्ट भने राम्ररी अनुभव गर्न पाएको छु। तर अहिले बेला फेरियो। साधना गरेँ, यसैमा जीवन समर्पित गरेँ। बाँचिरहेको छु।’

पुस्ता हस्तान्तरण

बाबाको कक्षामा बस्दाबस्दै छोराछोरीले सिके। प्रभुलाई स्मरण छ, भाइ र उनलाई काखमा राखेर नरराज संगीत सिकाउँथे। बाबुले संगीतलाई बुझ्नू तर जीवनभरको पेशा नबनाउनू भनेका थिए।

बाबा स्टेज कार्यक्रममा जाँदा साथै लागेर जान्थे प्रभु। २०४८ सालमा रेडियो नेपालमा नरराज र प्रभुले साथै गाउन थाले । बाबा संसारबाट बिदा हुनु भन्दा ३ वर्ष अगाडिसम्म पनि साथै गाइरहे।

संगीत क्षेत्रमा बाबुको योगदान

प्रभुको लागि नरराज बाबामात्रै हैन, गुरु पनि हुन्। उनले बाबालाई शालिन देखे, जो धेरै चर्चाको जीवन बाँचेर पनि सामान्य जीवन बाँचे। ‘घमण्ड कहिल्यै नगर्नू भन्नु हुन्थ्यो।’

त्यसैले आफूले जानेको कुरा सकेसम्म धेरैलाई उनले सिकाए।

‘घरमा बिहान ७ बजेदेखि हुन्थ्यो कक्षा। खाना खानलाई बोलाई राख्नुपर्ने। आमालाई बेलाबेलामा झर्को लाग्ने रैछ, विद्यार्थीको चप्पल पनि लुकाइदिनुहुन्थ्यो रे!’ प्रभुले भने, ‘त्यो बेलामा बाबाले प्रतिष्ठानहरुको निर्माणमा भूमिका खेल्नुभयो, नेपालको भौगोलिक बनावट छुट्टाइएको आधारमा कि ७५ जिल्ला, नसके १४ अञ्चल नत्र ५ विकासक्षेत्रमा भएपनि संगीत विद्यालय खोल्न चाहनुहुन्थ्यो। जति सक्नुभयो त्यति गर्नुभयो।’ उनले भाषालाई छुट्टाएनन्। ढकालले दुर्गालाल श्रेष्ठका नेवारी गजल रेकर्ड गराएका छन्।

उनको योगदानको कदर गर्दै २०१९ सालमा इन्द्रराज्यलक्ष्मी पुरस्कार, २०५१ महेन्द्र प्रज्ञा पुरस्कार, नारायण गोपाल पुरस्कार, दिव्य स्मृति पुस्कार लगायत सयौँ सम्मान पाएका छन्। प्रभुले बाबुको सम्मानलाई पनि सकेसम्म जोगाएर राखेका छन्।

उनी गएपछि

नरराजको निधन २०६१ बैशाख ३२ गते भयो। त्यसपछि उनका छोराहरुले बुबाको नाममा पुरस्कार राखे, ‘संगीत प्रवीण नरराज ढकाल स्मृति पुरस्कार’ भनेर हरेक वर्ष शास्त्रीय संगीतमा योगदान दिने व्यक्तिलाई प्रदान गरिने गरिएको छ।

यस्तै नरज्योति संगीत विद्यालय पनि स्थापना भएको छ। यसमा नरराजकी श्रीमति ज्योति ढकालको नाम जोडिएको छ। नरराजकी श्रीमति महाकवि लक्ष्मीप्रसाद देवकोटाकी भाञ्जी थिइन्। त्यसैले संगीत उनको लागि नयाँ थिएन । अहिले यो विद्यालयले स्वर सिकाउने गर्छ। ‘पहिला तबला, किबोर्ड पनि सिकाउने गरिन्थ्यो।’

नरराजका सिर्जनलाई प्रभुले संगालेका छन्। उनका स्वर सिडीमा रेकर्ड भएका छन्। संगीतको बारेमा लेखिएका दुई पुस्तक पनि प्रकाशित भएका छन्। बाबाकै पालामा ल्याएको हार्मोनियम र तानपुरा पनि कोठामा राखिएको छ।

नयाँ पुस्ताको आकर्षण

पहिला मन्दिरहरुमा, राजाको खोपीमा धेरै कार्यक्रम हुन्थे। अझ राजाको परिवारका सदस्य, ठूला भारदारहरुका परिवारले पनि सिक्ने प्रचलन बस्यो। प्रभुले देख्दा स्रोता पनि हुने र काम पनि पाइने समय थियो त्यो। अहिले त्यो माहोल थोरै फरक छ।

अहिले स्रोता छन्। तर निश्चित मात्रै। रेडियो नेपालका कार्यक्रमहरु घटेका छन्। ‘रेडियो नेपालले छोड्यो। पहिला लाइभ कार्यक्रम हुन्थ्यो तर अहिले हुन्न,’ प्रभुको गुनासो छ, ‘पहिला राजा महेन्द्र गएर कलाकारको सम्मान गर्थे अहिले त कलाकारलाई हौसला दिने ठाउँ छैन।’

‘बाबा भएको भए अहिले चित्त दुख्थ्यो होला’, उनले भने, ‘अहिले सेन्सर छैन, जसले जे पनि गरिरहेका हुन्छन्। भद्रगोल भएको छ।’

शास्त्रीय संगीत गायन बाध्यबाधनको जग हो। यो पूर्व पश्चिम सबै भूगोलमा महत्व छ।

तर प्रभु नयाँ पुस्ताको लागि खुसी हुन्छन्। अहिलेको युवा पुस्ता यो क्षेत्रमा आकर्षित छन्। भारतीय टेलिभिजनमा आएका सांगीतिक कार्यक्रमले शास्त्रीय संगीतप्रतिको महत्व बुझेका छन्।

त्यसैले शास्त्रीय संगीतको क्षेत्रमा नरराजको योगदान पछिल्लो पुस्ताले बुझ्ला भन्ने आशा प्रभुलाई छ। ८५ वर्षमा उमेर स्वर्गीय भएका नरराजले ८२ वर्षको उमेरसम्म रेडियोमा अन्तिमपल्ट गाए। छोरा प्रभुका अनुसरा आफ्नो बाटो छोराले समाउँदा कहिलेकाँही खुसीका आँशु खस्थे।

हालसम्म जिउँदो भएका भएर नररत्न १०० वर्ष पुग्थे, तर उनी ८५ वर्षको उमेरमा बिदा भए।

अब आउँले पिढीले उनले नेपालमा स्थापित गरेको शास्त्रीय संगीतको विधालाई रागलाई जिउँदो राखिरहून्- यही नै प्रभुको कामना छ।

भिडियो हेर्नुहोस्:

मंसिर १५, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्