साङ्केतिक तस्बिर

नेपालगञ्ज – बाँकेको जानकी गाउँपालिका – ५, बनियागाउँमा स्थानीयबीच झडप हुँदा एकजनाको मृत्यु भएको छ ।

गाउँमा लागेको पूर्णिमा मेलामा गाउँकै दुई पक्षका बीचमा भएको विवादले उग्ररुप लिदा झडप भएको थियो । झडपमा १ दर्जन घाइते भएका थिए । त्यसमध्येमा धनिराम यादवको नेपालगञ्ज मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । उनको टाउकोमा गम्भीर चोट लागेको थियो । शव अहिले पनि अस्पतालमै रहेको छ ।

सोमबार अपरान्ह ५ बजे शुरु भएको झडप रातीसम्म चलेको थियो । बाँकेबाट डीएसपी सुवास खड्काको नेतृत्वमा गएको ठूलो संख्या प्रहरीले झडपलाई नियन्त्रणमा लिएको थियो । सडक वारी र पारीका बासिन्दाका बीचमा झडप भएको थियो । गाउँका सबैजसोको हातमा लठ्ठी थियो ।

डीएसपी खड्काका अनुसार, घटनामा संलग्न भएको आशंकामा १४ जनालाई नियन्त्रणमा लिइएको छ । घाइते नौ जना उपचारमा रहेका छन् । गाउँमा रातभरी नै ठूलो संख्यामा प्रहरी परिचालन गरिएको थियो ।

मंसिर १६, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्