
काठमाडौँ – बालयौन दुराचारमा संलग्न एक विदेशी नागरिक कास्कीको पोखराबाट पक्राउ परेका छन् ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) का अनुसार गैर–पर्यटक भिसामा नेपाल बस्दै आएका ६० वर्षे फ्रान्सेली नागरिक क्रिष्टियन सेर्गे हेनरी नौगारितलाई पक्राउ गरिएको हो ।
उनलाई १२, ८ र ७ वर्षका तीन बालकलाई यौन शोषण गरिरहेको अवस्थामा फेला पारिएको सिआइबीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय कास्कीको सहयोगमा क्रिष्टियनलाई सोमबार पक्राउ गरिएको सिआइबीका प्रवक्ता बेलबहादुर पाण्डेले जानकारी दिएका छन् ।
पीडित तीनै बालकलाई उद्धार गरिएको र क्रिष्टियन विरुद्ध बालयौन दुरुपयोग तथा अप्राकृतिक मैथुन गरेको कसूरमा आवश्यक अनुसन्धान गरी कारवाही प्रक्रिया अघि बढाउनका लागि जिल्ला प्रहरी कार्यालय कास्कीमा बुझाइएको पनि प्रहरी उपरीक्षक पाण्डेले जानकारी दिए ।
पेशाले कम्युटर इन्जिनियर रहेका क्रिष्टियनलाई पोखरा महानगरपालिका–१७ बरौता पावर हाउस फुर्सेखोला बगरबाट पक्राउ गरिएको हो ।