कविता

समृद्धिको सिंहनाद!

ए, देशका रैतीहरु हो,
जनताबाट तिरस्कृतहरु
हुकुम प्रमांगी लिएर
राष्ट्रिय सभामा आएका छन्
सम्झ, अब तिमीले दासत्व मोचन गर्नेछौ ।

ए, रैतीहरु हो पर्ख
उनीहरु घर झगडामा व्यस्त छन्
कहिले बालुवाटारमा,
कहिले खुमलटारमा
जनयुद्धको महान् छलांगपछि
पत्रयुद्ध जारी छ

एकजना खुइलिएपछि,
‘गद्धार’ घोषित भएपछि
सम्झ
तिम्रा दिनहरु फिर्नेछन्
दासत्वबाट मुक्त हुनेछौ
त्यतिञ्जेल धैर्य गर है।

तिमीहरुले गाँस पाएका छैनौ
गाँस खाएका छैनौ
पर्ख रैतीहरु हो,
भर्खर बंगलादेशबाट
एक ट्रक युरिया मल
भुसालको आँगनतर्फ घिस्रिरहेछ

त्यतै लाइन लाग
मल ल्याऊ
बाँझो खेत जोतेर
अन्न उब्जनी गर
र पेटभरि खाऊ।

बृद्ध बाआमा हो,
नआत्तिनुस्
तपाईँका लागि औषधि
बनिरहेको छ
कथं मरे घाट जानुस्
बाँच्नुभयो भने
त्यही घर बेचेर
अस्पतालको शुल्क तिर्नुस्,
खुलामञ्चमा बास बस्नुस्

त्यतै भतेर खाएर
डम्म डकार्नुस्।

हे रैतीहरु हो,
सम्वृद्धिको पोको बोकेर
उत्तरबाट ट्रेन हिँडिसकेको छ,
दक्षिणबाट रेल गुडिसकेको छ
नारायणीमा नेपालको झण्डा फहराउँदै
जलचरी ओहोरदोहोर गरेकै छ
तिमीले पायौ त समृद्धिको पण्डोरा बक्स?

सिंहदरबारबाट सिंहनाद भएकै छ
‘पर्ख रैतीहरु हो
तराई डुबेर के भो र?
हामी चुरे खोतल्दै छौँ
त्यहाँबाट हामी सुनका डल्ला निकाल्छौँ,
युरेनियम उत्खनन् गर्छाैँ
र तिमीहरुलाई बाँड्छौँ
त्यतिञ्जेलसम्म चुप्प लाग
मुखमा माड टाँसेर।

हे कृतदासहरु हो,
तिमीहरुका दिन फिर्नेछन्
किनकि
गाउँगाउँमा डोजर चलेका छन्
तिनै डोजरमार्फत
घर घरमा ग्यासका चुल्हाहरु पुग्नेछन्
हामीले देखाएकै
सपनाको बाटोबाट तिमीहरु
केही दिनमै
समृद्धिको उकालो उकालो चढेर
केचनाकलनसम्म पुग्नेछौ
र गाड्नेछौ
हरितन्नम झण्डा ।

-बोस्टन, अमेरिका 

 

मंसिर १६, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्