'हामी सधैँ सम्झिइरहनेछौँ- ९

व्यवसायसँगै धार्मिक र सामाजिक काममा निरन्तर सक्रिय थिए ठाकुर

केही व्यक्तिका उत्प्रेरक कार्यहरु देखेर लाग्छ‍‍- अहिले पनि मानवीयता हराएको छैन।

दिन दुःखीहरुको सेवा र सहयोगमा अघि बढेका हातहरुले यसलाई प्रमाणित गर्दै आइरहेका छन्। मानवीयता प्रदर्शन गर्ने सबैभन्दा उत्तम माध्यम हो- निस्वार्थ रुपमा समाजमा योगदान पुर्‍याउनु।

हुन त वर्तमान परिप्रेक्ष्यमा व्यस्तताका कारण सामाजिक कार्यमा लाग्नेहरुको संख्या कमै रहेको छ। सामाजिक कार्यमा अहोरात्र खटिनेमा एक थिए जनकपुरधामका सोहन ठाकुर। यो नाम जनकपुरधामको लागि नौलो होइन। आफ्नो व्यवसायसँगै सामाजिक कार्यमा लागेका ठाकुरले साउन ३१ गते अन्तिम श्वास लिए। कारण हो- कोरोना संक्रमण।

जनकपुरधाम उपमहानगरपालिका वडा नं. ६ का करिब ४७ वर्षीय सोहन ठाकुर जनकपुरधाममा सुनचाँदीको व्यवसाय गर्दै आएका थिए। व्यवसायसँगै जनकपुरधाममा उनी सामाजिक र धार्मिक क्रियाकलापमा सक्रिय थिए। निस्वार्थ भावनाले समाजसेवामा लागेकाले उनी अधिकांश व्यक्तिका माझ लोकप्रिय थिए।

सोहनलाई सफल व्यवसायीको रुपमा हेर्ने उनको बुवाको चाहना थियो भने आमाको व्यवसायसँगै सामाजिक कार्यमा छोरा लागोस् भन्ने इच्छा। ठाकुर आफ्नो बुवाआमाकै चाहना अनुरुप जनकपुरधाममा सुनचाँदीको व्यवसाय गर्दै आएका थिए भने सामाजिक तथा धार्मिक कार्यमा निरन्तर लागिरहेका थिए।

मधुमेहका रोगी रहेका ठाकुरको स्वास्थ्यमा समस्या आएपछि साउन ३० गते जनकपुरधामको क्लिनिकमा भर्ना भएका थिए। तर चिकित्सकका सुझावअनुसार उनका सन्तानले उनलाई जनकपुरधाममै रहेको काव्या अस्पतालमा भर्ना गराएका थिए, जहाँ उनले अन्तिम श्वास लिए।

मधुमेहको रोगी रहेका ठाकुरको सुगर लेवल ४ सय ९० देखि ५ सयसम्म रहेकाले उनको भेन्टिलेटरमा उपचार भइरहेको थियो । साउन ३१ गते शनिबार बिहान ८ बजे उनको मृत्यु भयो ।

ठाकुरका माइलो छोरा अनिकेत ठाकुरले भने, ‘बुवालाई श्वास लिन गाह्रो भएपछि विजय सिंहको क्लिनिकमा बुवालाई भर्ना गरेको थिएँ। तर चिकित्सकले ठूलो अस्पतालमा लग्न भनेपछि काव्यामा गएका थियौँ । जहाँ उहाँले अन्तिम श्वास लिनुभयो।’

‘बुवाको आरडिटि टेस्ट गरिएकोमा रिपोर्ट नेगेटिभ आएको थियो। मृत्युपछि हामीले उनको अन्तिम संस्कार गरेपछि मात्र थाहा भयो कि उनमा कोरोना संक्रमण थियो’, अनिकेतले भने, ‘हामीलाई अहिलेपनि विश्वास छैन कि बुवालाई कोरोना थियो र उहाँ हामीबीच हुनुहुन्न।’

करिब ७ महिना पहिले सवारी दुर्घटनामा आमा गुमाएका अनिकेत बुवा पनि गुमाइसकेपछि परिवार नै अपूर्ण भएको बताउँछन् । तीन भाइ र एक बहिनी रहेका अनिकेत भन्छन्, ‘कुनै समस्या पर्दा कति गाह्रो हुन्छ, त्यो हामीलाई अहिले थाहा हुन्छ । बुवा हुँदा जस्तोसुकै परिस्थितिमा पनि हामीलाई कुनै पीडाको अनुभव हुन दिनुभएन।’

कोरोनाबाट मृत्यु भएका ठाकुर जनकपुरधामस्थित श्री राम युवा कमिटीका पूर्व अध्यक्ष थिए। उनी अध्यक्ष भएको समय यहाँ हुने विभिन्न धार्मिक तथा सांस्कृतिक क्रियाकलापमा सक्रिय भूमिका निर्वाह गर्थे। उनी पछि गएर यहाँबाट मैथिली र नेपाली भाषामा प्रकाशित हुने दूधमती साप्ताहिकका सल्लाहकारको रुपमा समेत कार्यरत थिए।

मंसिर १७, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्