महासचिवका लागि एक घण्टा पछि सर्‍यो नेकपा सचिवालय बैठक

फाइल तस्बिर

काठमाडौँ – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रीय सचिवालय बैठक एक घण्टा पछिका लागि सरेको छ । बुधबार दिउँसो १ बजेका लागि तय भएको बैठक दिउँसो २ बजेका लागि सारिएको हो ।

प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशका अनुसार पार्टी महासचिव समेत रहेका अर्थ मन्त्री विष्णु पौडेलले एक घण्टा सयम मागेका लागि बैठक सारिएको हो ।

प्रवक्ता श्रेष्ठले भने, ‘महासचिव पनि बैठकमा आउने कुरा थियो । तर उहाँले विशेष काम परेकाले एक घण्टा समय माग्नु भयो । हामीले उहाँका लागि बैठक २ बजेका लागि सारेका छौँ ।’

प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी शर्मा ओलीले केही समय बैठक नराख्न गरेको आग्रहका बाबजुद सचिवालय बैठक बस्न लागेको हो । सो बैठकमा अध्यक्ष ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रस्तुत गरेको प्रस्तावमाथि छलफल हुने जनाइएको छ ।

मंगलबार बैठकमा ओलीले प्रचण्डको प्रस्ताव फिर्ता लिनु पर्ने र त्यसमा छलफल अघि बढाउन नहुने प्रस्ताव गरेका थिए । तर अधिकांश सदस्यले दुवै अध्यक्षको प्रस्तावमा छलफल अघि बढाउने बताएपछि ओलीलाई ‘धक्का’ लागेको थियो ।

ओलीले केही समय अनौपचारिक छलफल गरेर मात्रै पार्टीका कमिटिहरुका बैठक बस्नु पर्ने बताएका थिए ।

ओलीले आफू बुधबारको बैठकमा उपस्थित हुन नसक्ने बताएका थिए । ओली बुधबारको बैठकमा सहभागी हुने–नहुने अनिश्चित नै छ । ओली पक्षले उनी बैठकमा सहभागी नहुने बताएको छ । प्रचण्ड पक्षले भने अन्तिम समयसम्म पर्खिने बताएको छ ।

मंसिर १७, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्