मेस्सी सम्बन्धी नेइमारको टिप्पणीले मच्चियो हलचल

नेइमारको एक टिप्पणीले अहिले हलचल मच्चिएको छ ।

नेइमारले च्याम्पियन्स लिग फुटबल अन्तर्गत समूह चरणको खेलमा बुधबार राति म्यानचेस्टर युनाइटेडलाई ३–१ ले पराजित गरेपछि आउँदो सिजन लियोनल मेस्सीसँग आफू सँगै खेल्न चाहेको बताएका थिए । उनको त्यो भनाई अहिले निकै चर्चामा छ ।

उनले खेलपछि इएसपिएनसँग भनेका थिए, ‘मैले सबैभन्दा बढि चाहेको कुरा भनेकै मेस्सीसँगै फेरि एउटै क्लबबाट खेल्न हो, उनको खेल कौशलको स्वाद पुनः लिन पाउँ भन्ने हो मैदानमासँगै ।’

उनले अघि भने, ‘उनी मेरो स्थानमा खेल्न सक्ने छन्, त्यसले मलाई कुनै समस्या हुने छैन । तर आउँदो वर्ष म उनीसँग खेल्न चाहन्छु पक्कै पनि । आउँदो सिजन हामीले त्यो सम्भव बनाउनै पर्छ।’

बार्सिलोनाका अन्तरिम अध्यक्ष कार्लोस तुस्क्वेट्सले मेस्सीलाई यो सिजन क्लबबाट जान दिएको भए हुने रहेछ भन्ने बताइरहेका बेला नेइमारको यस्तो भनाई आएको हो । मेस्सीले यो सिजन बार्सिलोना छोड्न चाहेका थिए, तर सम्झौतामा रहेको बन्धनका कारण उनी बार्सिलोना बस्न बाध्य भए ।

मेस्सीको बार्सिलोनासँगको सम्झौता आउँदो समरमा समाप्त हुनेछ, त्यसपछि उनी जुन कुनै क्लब जान स्वतन्त्र हुने छन् ।

गएको अक्टोबरमा जोसेप मारिया बार्तोमेउ बार्सिलोनाको अध्यक्षबाट हटेपछि कार्लोसले जनवरीमा चुनाव नहुँदासम्मका लागि अन्तरिम जिम्मेवारी निर्वाह गरिरहेका छन् ।

नेइमारको टिप्पणीले आउँदो सिजन मेस्सी पेरिस सेन्ट जर्मेन (पिएसजी) जाने सम्भावनाको चर्चा हुन थालेको छ ।

मंसिर १९, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्