किसान आन्दोलनः कंगना रनौत र दिलजीत दोसाँझबिचको ‘तँ–तँ, म–म’

भारतमा किसान आन्दोलनले सत्ताको चिन्ता बढेको छ । पञ्जाब, हरियाणासहितका राज्यबाट कृषि सम्बन्धी तीन नयाँ कानूनको विरोधमा ठूलो संख्यामा किसानहरु ‘दिल्ली चलो’ आन्दोलन अन्तर्गत राजधानी दिल्लीका नाकामा विगत एक हप्तादेखि छन् ।

सरकार किसानका माग पूरा गर्न सहमत देखिएको छैन, किसान नयाँ कानून फिर्ता हुनु पर्ने मागबाट पछि हटेका छैनन् ।

किसानको आन्दोलनले राजनीति मात्रै तातेको छैन चलचित्र जगतका ‘हस्तीहरु’ पनि ‘आन्दोलन’ को मोर्चामा छन् ।

स्वरा भास्कर, तापसी पन्नू, ऋचा चढ्ढा, दिलजीत दोसाँझसहितका कलाकारहरुले किसान आन्दोलनको समर्थन गरेका छन् ।

बलिउडको ‘एक्लो महाशक्ति’ बनेको र सबैसँग टक्कर लिन सक्ने बताउँदै आएकी अभिनेत्री कंगना रनौत भने आन्दोलनमा सहभागी किसानहरुमाथि ‘देशद्रोही, विखण्डनकारी तथा आतंककारी’ सहितका आरोप लगाउँदै आएकी छन् ।

पछिल्लो समय कला क्षेत्र भन्दा देशका कुनै पनि क्षेत्रमा कुनै पनि विषयमा हुने आन्दोलन, विवाद वा चर्चाहरुमा केन्द्रमा शासन गरिरहेको भारतीय जनता पार्टी (भाजपा) को समर्थनमा खुलेर लाग्ने र सत्ता विरुद्ध आवाज उठाउनेहरुलाई ‘अराष्ट्रवादी’ को आरोप लगाउने क्रम कंगनाबाट लगातार भइरहेको छ ।

केही दिन पहिले कंगनाले किसान आन्दोलनमा सहभागी भएकी पञ्जाबी वृद्धा महिन्दर कौरलाई नागरिकता कानूनको विरोधमा शाहीन बाग प्रदर्शनमा अगुवाई गरेकी बिलकीस दादीको तस्बिर एकसाथ पोस्ट गरेर लेखेकी थिइन्, ‘हा हा.. यिनी उनै हजुरआमा हुन् जसलाई टाइम म्यागजिनले विश्वका १०० प्रभावशाली व्यक्तिमा सूचित गरेको थियो…र उनी १०० रुपैयाँमा उपलब्ध छिन् ।’

महिन्दरको तुलना बिलकीससँग भइरहेका बेला कंगनाको सो ट्वीट आएको थियो । सो ट्वीटपछि कंगनाको तीव्र आलोचना भयो । उनले ट्वीट हटाइन् । यसैबिच तथ्य जाँच गर्ने वेबसाइट अल्ट न्यूजले कंगनाको दाबी झुट रहेको र महिन्दर र बिलकीस दादी दुई फरक महिला रहेको स्पष्ट पारेको थियो ।


बिबिसी हिन्दीले कंगनाले १०० रुपैयाँ ज्यालामा किसान आन्दोलनका लागि उपलब्ध रहेको भनेर दाबी गरेकी महिन्दर कौरसँग भेटेर कंगनाको टिप्पणीबारे प्रतिक्रिया लियो । खेती किसानी गरेर जीवन चलाउँदै आएकी ८८ वर्षकी महिन्दरले कंगनाको टिप्पणीप्रति कडा आपत्ती जताइन् । उनले भनेकी छन्, ‘कंगना मसँग आएर केही समय खेतमा काम गरुन् । उनलाई पनि थाहा होस् कि किसानको काम कति मुश्लिक छ ।’

त्यसको भिडियो सामाजिक सञ्जालमा आएसँगै कंगनाको थप आलोचना हुन थाल्यो । गायक तथा अभिनेता दिलजीत दोसाँझले महिन्दर कौरको भिडियो कंगनालाई ट्याग गरेर ट्वीट गरी सोधे, ‘यी लिनुस् टिम कंगना । प्रमाणका साथ सुन्नुस् । मानिस यति पनि अन्धो हुनु हुँदैन । जे पनि बोलिरहनु भएको छ ।’ दिलजीत पञ्जाबका हुन् ।

त्यसको जवाफमा कंगनाले लेखिन्, ‘ए करण जोहरको पाल्तू, जो हजुरआमा शाहीन बागमा नागरिकताका लागि आन्दोलन गर्दै गरेको देखिइन् (बिलकीस बानो) उनी किसानका लागि पनि आन्दोलन गर्दै गरेको देखिइन्, महिन्दर कौर जीलाई म चिन्दिनँ । तिमीहरुले के नाटक चलाएका छौँ । यसलाई तुरुन्त बन्द गर ।’


त्यसपछि दिलजीतले ट्वीट गरे, ‘तैँले जतिसँग चलचित्र गरिस् के ती सबैको पाल्तू होस् र? यदि हो भने त सूचि लामो हुने छ मालिकहरुको…? यो बलिउडवाला होइन, पञ्जाब वाला हो । झुठ बोलेर मानिसहरुलाई भड्काउन र भावनासँग खेल्न त तपाईँले राम्रोसँग जान्नुभएको छ ।’

त्यसको जवाफमा कंगनाले लेखिन्, ‘मैले मात्रै शाहीन बागकी हजुरआमाबारे टिप्पणी गरेकी थिएँ । यदि कोही मलाई गलत साबित गर्न सक्यो भने माफी माग्छु ।’

कंगना र दिलजीतबिचको बहस यति मै रोकिएन । दुवैबिच आपत्तिजनक भाषामा विवाद भयो र जारी छ । त्यसपछि ट्वीटरमा कंगना रनौत र दिलजीत ट्रेन्डिङ्गमा समेत आएका थिए । कंगनाले माफी माग्नु पर्ने माग पनि भइरहेको छ । केही भने कंगनाको समर्थनमा छन् ।

कंगनाले शाहीन बागकी बिलकीस बानो नै किसान आन्दोलनमा सहभागी भएको बताएकी महिन्दर कौर पञ्जाबको बठिण्डाको एक गाउँकी बासिन्दा हुन् ।

पूरै जीवन किसानी गरेको बताउने ८८ वर्षीया महिन्दर कौरले आफू हकका लागि आन्दोलनमा सहभागी भएको र लामो समयदेखि हुँदै आएको बताएकी छन् ।

मंसिर १९, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्