शनिबार झापामा १० हजार मान्छे उतार्ने राप्रपाको दाबी, र्‍यालीको कमाण्डर सांसद लिङ्देन

फाइल तस्बिर।

झापा – देशव्यापी आन्दोलनमा ऐक्यवद्धता जनाएको राष्ट्रिय प्रजातन्त्र पार्टीले झापामा राजतन्त्रको पक्षमा शनिबार आफै प्रदर्शनको आयोजना गर्ने भएको छ।

राजसंस्था र हिन्दु राष्ट्रका पक्षमा जनदवाब सिर्जना गर्न राष्ट्रिय प्रजातन्त्र पार्टी झापाले शनिबार मोटर तथा मोटरसाइकल र्‍यालीको आयोजना गर्ने भएको हो।

झापामा हुने र्‍यालीमा दश हजारको संख्यामा प्रदर्शनकारी उतार्ने राप्रपाले तयारी गरेको छ।

मुलुकका विभिन्न शहरमा दिनहुँजसो राजसंस्था तथा हिन्दु राष्ट्रका पक्षमा प्रदर्शन भइरहेका छन् । राजतन्त्रको अन्त्य भएको १२ वर्षपछि देशका प्रमुख सहरहरुमा पुनः राजसंस्था तथा हिन्दु राष्ट्रका पक्षमा प्रदर्शन सुरु भएको हो।

काठमाडौँ, बुटवल, पोखरा, नेपालगञ्ज, सुर्खेत, धनगढी, जनकपुर, विराटनगर लगायत स्थानमा भएका प्रदर्शनमा हजारौँ सर्वसाधारणले सहभागिता जनाए। राजतन्त्रवादी दलहरु र हिन्दु राष्ट्रको माग गरिरहेका विभिन्न संस्थाहरुले स्वस्फूर्त रुपमा यस खाले प्रदर्शन गरिरहेका छन् ।

प्रदर्शनमा  नागरिकले उल्लेख्य साथ दिन थालेका छन् ।

स्वस्फूर्त रूपमा राजसंस्था र हिन्दु राष्ट्रका पक्षमा देशभर भइरहेको र्‍यालीप्रति ऐक्यवद्धता जनाउँदै राप्रपा झापाले मोटर तथा मोटरसाइकल र्‍यालीको आयोजना गर्ने निर्णय गरेको हो। झापामा हुने प्रदर्शनको नेतृत्व संघीय सांसद तथा राप्रपा नेता राजेन्द्र लिङ्देनले गर्दैछन् । उनी झापा क्षेत्र नम्बर–३ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य हुन् ।

राजसंस्था र हिन्दुराष्ट्रको पुनःस्थापना, संघीयताको खारेजी, भ्रष्टाचार नियन्त्रण, कोरोना व्यवस्थापनमा सरकारको असक्षमता, रासायनिक मलको अभावलगायत जनजीविकासँग सम्बन्धित विषयमा जनदवाब सिर्जना गर्न र्‍यालीको आयोजना गर्न लागिएको लिङ्देनले बताए।

सांसद लिङदेनले र्‍यालीमा समान विचार राख्ने सबै व्यक्ति, संगठन र पार्टीलाई राष्ट्रिय झण्डा, आ–आफ्नो संस्था, संगठन र पार्टीको झण्डासहित सहभागी हुन अपिल गरेका छन् ।

मंसिर १९, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्