सन्दर्भ: नारायण गोपालको ३०औँ स्मृति दिवस

नारायणगोपाल पछ्याउँदै युवा पुस्ता

सर्लाही लालबन्दीका असीम तिमिल्सिना २१ वर्षका भए। उनी कक्षा दुईमा पढ्दा स्वरसम्राट नारायण गोपालको बारेमा थाहा पाए। उनको सामाजिक पुस्तकमा एउटा पाठ नारायण गोपालकै बारेमा लेखिएको थियो। त्यसमा पनि उसलाई पढाउने गुरुआमा (मिस) ले नारायण गोपालको गीत/संगीतबारे यसरी बयान र विश्‍लेषण गरिदिइन् कि त्‍यसपछि उनी स्वरस्राटतर्फ मोहित भए। नारायण गोपालको पाठ अध्‍ययनपछि उनी स्वरसम्राटप्रति निक्कै प्रभावित भए।

स्कुल छुट्टी भएपछि घरमा आएर नारायण गोपालको बारेमा सोधीखोजी गरे। उनलाई बाबाले नारायण गोपालको गीत ‘मोहनी लाग्ला है’ सुनाए। उनी भन्छन्, ‘म त्यतिबेलै झन् नारायण गोपालप्रति आकर्षित हुँदै गए। सोचे- वास्तवमा नारायण गोपाल महान रहेछन्।’

उनले स्कुलका दिनहरुमा पनि नारायण गोपालकै गीतहरु सुनेर बिताए। एसएलसीमा विशिष्ट श्रेणीमा पास भएपछि उनलाई बुवाले उपहार स्वरुप हार्मोनियम किनिदिए। उनी त्‍यो दिन सम्झिँदै भन्छन्, ‘मलाई नारायण गोपाल असाध्‍यै मन पर्न थालेको थियो। एसएलसी पनि विशिष्ट श्रेणीमा पास भएको थिएँ। त्यही भएर होला- बुवाले मलाई उपहार स्वरुप हार्मोनियम किनिदिनु भयो।’

असीम बुवाले किनिदिएको हार्मोनियम र गायक बन्‍ने असीम सपना बोकेर काठमाडौँ शहर छिरे। उनलाई गायक बन्‍ने हुटहुटी थियो। उनी सुरुमा संगीत सिक्न गुरुदेव कामतकहाँ गए। उनले केही महिना संगीतको कक्षा पनि लिए। त्यहा पनि उनले गुरुदेव कामतसँग गीत गाउने तरिकाहरु सिक्न थाले। नारायण गोपाललाई पछ्याउन थाले।

संगीतको गुरु गुरुदेव कामतको संगीत क्लासमा उस्ताद नुसरत फतेह अलि खानको आफ्रिन-आफ्रिन गाउँदा गुरु खुसी भएर उनलाई “मेरो ३०-४० वर्षको करियरमा मैले गाउन प्रयत्न नगर्ने गीत गाईस्” भन्दा संगीतमै केही गर्न सक्छु कि झैं लागेको थियो। तर पढाइ पनि सँगै गर्नु पर्ने भएकाले घर/आफन्तबाट साइन्स पढ्‍न र बचेको समयमा मात्रै संगीतमा लाग्‍न भनियो।

उनी सोही मुताबिक गर्न बाध्‍य भए। संगीतलाई साधनामा लगाउन नपाए पनि साइन्स नभई उनी आर्टस्‌मा भर्ना भए। त्‍यसपछि उनको केही समय पढाइतर्फ मोडियो। उनी मदन भण्डारी कलेजमा पत्रकारिता र अंग्रेजी विषय लिएर अध्‍ययन गर्न थाले। तर पढाइसँगै गीत-संगीतलाई भने शोखको रुपमा गाइ नै रहे।

उनी त्यो क्षणलाई सम्झिँदै भन्छन्, ‘ कक्षा ११ र १२ को कक्षामा पढाइसँगै कलेजमा हुने कार्यक्रममा उनी नारायण गोपालको गीत गाउन थाले। मैले केही महिना मात्रै संगीत सिकेकाले सुर-ताल थाहा थिएन। यतिकै नारायण गोपालको गीत गाए। कलेजमा साथीहरु प्रशुन र नरेन्द्रसँग भेट भयो। उनीहरुसँग बस्दा संगीतमय वातावरण बन्यो। त्‍यसपछि हामी कलेजमा हुने कार्यक्रममा नारायण गोपाल लगायत आफूलाई मन पर्ने गायकको गीत गाउन/बजाउन थाल्‍यौँ। ‘

असीमलाई संगीतको थोरै बहुत ज्ञान र ट्युनमा गाउनु पर्छ भन्‍ने ज्ञान साथी नरेन मोक्तान र प्रशुन संग्रौलाले दिँदै गए। उनीहरु फरक फरक कक्षामा पढ्ने युवाहरु भए पनि एकले अर्कालाई गाउन बजाउनमा साथ र सहयोग दिइनै रहे।

असीम भन्छन्, ‘कलेजमा गाउने बजाउने साथीहरु भेटेपछि मलाई संगीतमा केही गर्नुपर्छ जस्तो लाग्न थाल्यो। मैले आफ्नो गायनलाई अझै बढाउँदै लगे। कलेज छुट्टी हुने बित्तिकै साथीहरुसँग भेला भएर कक्षाकोठामै गाउन थाले। यसले साथीभाइ माझ पनि केही चिनिन थाले।’

एकपटक मदन भण्डारी कलेजमै पत्रकारिता रेडियोको तालिमको समापन कार्यक्रम थियो। पत्रकारिता पढाउने गुरु घमराजले लुँइटेलले नारायण गोपालको गीत गाउन लगाउनु भयो। मैले पहिलो पटक कलेजको स्टेजमा धेरै साथीहरुमाझ गाएँ- ‘अल्झेछ क्यारे पछ्यौरी तिम्रो… ।’ गीत सकिएपछि गुरुसहित साथीहरुले तालीको गडगडाहटले मन झनै प्रफुल्ल भयो।

उनी त्यो क्षणलाई सम्झिँदै भन्छन्, ‘ममा त्यसपछि झन आँट र साहस आयो। मैले आफूलाई नारायण गोपालको गानामा झन भिजाउन थाले। मौका पाउने बित्तिकै कलेजको कार्यक्रममा उनको गीत, शिव परियारको गीत गाउन थाले साथीहरुसँग मिलेर।’

यतिमात्रै नभएर असीमको गर्लफ्रेन्डसँग ब्रेक अप भयाे। त्यतिबेला  पनि उनले नारायण गोपालको ‘यति धेरै माया दिइ..’ बोलको गीत गाएर फेसबुकमा पोस्ट गरेका थिए। उनी त्यो दु:खद क्षण सुनाउँदै भन्छन्, ‘मैले सुखमा पनि दु:खमा पनि नारायण गपाललाई नै पछ्याएँ। मलाई नारायण गोपाल बच्चैदेखि उच्चकोटीको गायक लागेकाले उनको स्मृतिमा प्रत्‍येक वर्ष गाउँदै आएको छु। ‘

यस्तै  झापा कमल गाउपालिका-६ का २३ वर्षीय प्रशुन संग्रौला पनि स्वरसम्राट नारायण गोपालको गीत आमाबुवाबाट सुनेर प्रभावित भएको बताउँछन्।

उनी भन्छन्, ‘मेरो त परिवारमा नै सांगीतिक माहोल थियो। कक्षा तीनमा पढ्दा बुबा आमाले घरमा नारायण गोपालको गीत गाउनु हुन्थ्यो। त्यतिबेला देखि नै बुवाआमाकै नक्कल गरेर गाउँथे जानीनजानी।’

स्कुलमा पनि म्‍युजिकल क्लबहरु भएकाले उनलाई घरमा सिकेको नारायण गोपालको गीत त्यहाँ सुनाउने मौका मिल्थ्यो। उनी भन्छन्, ‘मैले नारायण गोपालको गीत कक्षा ७मा पढ्दा ‘केही मिठो बात गर’ बडो होस पूर्वक गाएको थिएँ। त्यो मलाई अहिले पनि झल्झली आउँछ।’

पछि स्कुले जीवन सकिएपछि कलेजमा असीम र नरेन्द्रसँग भेट भयो। उनी भन्छन्, ‘मदन भण्डारी कलेजमा नरेन मोक्तान र असीमसँग भेट हुँदा गीतसंगीतको कुरा मिल्न थाल्‍यो। हामी सबैजना सांगीतिक माहोलामा रम्न थाल्यौँ। एकअर्कालाई सिकाउँदै सिक्दै सँगै हिँड्न थाल्यौँ। त्यसैले पनि होला- नारायण गोपालप्रति हाम्रो लगाव बढ्दै गयो।’ प्रशुन अहिले गिटार बजाउनुका साथै तबला बजाउन सिक्दैछन्। उनी आफ्नो लागि आफै गीत पनि लेख्छन् र साथीहरुसँग मिलेर गाउँदै आएका छन्।

यता, काभ्रेका नरेन मोक्तान पनि नारायण गोपालको गीत पहिलो पटक रिलवाला चक्कामा आमाले सुनाएको र त्यहीबाट प्रभावित भएको बताउँछन्। उनी भन्छन्, ‘म सानै छदाँ आमाले रिलवाला क्यासेटमा नारायण गोपालको गीत सुनाउनु भएको थियो। मलाई निक्कै राम्रो लागेकाले स्कुलमा गाउन थाले।’

उनी स्कुलमा अरु क्लास भएको बेला लास्ट बेञ्चमा बसे पनि संगीतमा भने पहिलो बेञ्‍चमा बस्‍ने गरेको बताउँछन्। उनी त्यो बेलाको क्षण सुनाउँदै भन्छन्, ‘अरु क्लासमा म लास्टमा बस्थेँ। तर जब संगीत वा गाउने कार्यक्रम हुन्थ्यो, म जहिले पनि अगाडिको बेन्चमा बस्थेँ।’

कलेज जीवन सुरु हुँदा उनलाई गिटार बजाउन खुब रहर लाग्थ्यो। तर आफूसँगै पैसा नभएपछि उनी साथीले किनेको गितार दसैको छुट्टीमा सिक्न थाले। विस्तारै उनी गीतारमा पारङ्गत हुँदै गए। उनी गितारको कर्डहरुमा नारायण गोपालको गीतहरु पनि गाउन थाले। त्‍यही माहोलले उनलाई कलेजमा असीम र प्रशुनसँग भेट गरायो। तीनैजना युवाहरु नारायण गोपालबाट मोहित भएकाले उनीहरुको सांगीतिक माहोल जम्दै जान थाल्यो। अहिले असीम गाउने, नरेन र प्रशुन गीतारमा साथ दिँदै आएका छन्। उनीहरु क्लासिकल, आधुनिक र रकपपमा पनि एकअर्कासँग मिलेर गाउँछन्।

अब आउने प्रत्‍येक वर्ष नारायण गोपालको स्मृतिलाई विशेष बनाउने उनीहरुको योजना छ। उनीहरु गीत संगीतलाई आफ्नो पेशा नजिकको मित्र र स्वरसम्राटप्रतिको समर्पण मान्छन्। त्यसैले त उनीहरु भन्छन्,

गीत संगीतको सागरमा आऊ
तिमीलाई गहिर्‍याइ दिउँला
प्रत्‍येक वर्ष स्वरसम्राटको कालजयी
शब्द, संगीत बुनेर माला पहिर्‍याइ दिउँला !!

मंसिर १९, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्