काठमाडौँ महानगरपालिकाले तयार पार्‍यो स्थानीय विद्यालयमा पढाउने पाठ्यपुस्तक

काठमाडौँ-काठमाडौँ महानगरपालिकाले आफू मातहत रहेका सामुदायिक र संस्थागत विद्यालयमा पठनपाठन गराउन स्थानीय पाठ्यपुस्तक तयार गरेको छ। कामपाले आधारभूत कक्षाका लागि पाठ्यपुस्तक तयार गरेको हो । अनिवार्य विषयका रूपमा ‘येँ देय् म्हसीके’ नामक पाठ्यपुस्तक तयार गरिएको छ ।

आगामी शैक्षिक सत्रदेखि कामपामा रहेका ९१ सामुदायिक र ५४१ संस्थागत विद्यालयमा अनिवार्य लागू गर्ने गरी पाठ्यपुस्तक तयार गरिएको हो। अब यी सबै विद्यालयमा १०० पूर्णाङ्कको स्थानीय विषयको पठनपाठन हुनेछ।

नेपालको संविधानको भाग ३ मा मौलिक हकसम्बन्धी व्यवस्था छ । सोअन्तर्गत धारा ३२ को उपधारा (२) र (३) मा मुलुकका हरेक स्थानीय तहबाट आफू मातहत रहेका सामुदायिक र संस्थागत विद्यालयमा स्थानीय पाठ्यपुस्तकका रूपमा आफैँले एक विषय अध्ययनअध्यापन गराउन सकिने व्यवस्था गरिएको छ । सोही व्यवस्थाका आधारमा कामपाले यो पाठ्यपुस्तक तयार गरेको हो।

कामपा शिक्षा विभागका अधिकृत मोती खनालका अनुसार गएको वैशाख–जेठदेखि तयारी शुरु गरिएको थियो । कोभिड–१९ र त्यसको असरबाट उत्पन्न परिस्थितिका कारण पाठ्यपुस्तक छपाइलगायत काममा ढिलाइ भएको थियो ।

‘पाठ्यपुस्तकमा महानगरभित्रका चाडपर्व, संस्कार संस्कृति, सीपकौशल, व्यवसाय, नैतिक शिक्षा, जात्रा, पर्व, ढुङ्गेधारा, पाटी, सत्तल, स्वास्थ्य र सरसफाइ, रहनसहन, व्यक्तित्व परिचय, भाषा र लिपि जस्ता विषय समेटिएका छन् ।

प्रमुख जाति नेवारको जनजीवन, कला, खानपान, जात्रापर्व, परम्परागत खेलजस्ता विषय पनि समेटिएका छन् । अहिले कक्षा १ का लागि पाठ्यपुस्तक तयार भइसकेको छ । कक्षा २ देखि कक्षा ८ सम्मका पुस्तक डिजाइनका चरणमा छन् । पूर्ण रूपमा रङ्गीन ८० पृष्ठ रहेको यो पुस्तक नेपालभाषा नजान्नेहरूले पनि सजिलै बुझ्न सक्ने शैलीमा लेखिएको छ।

पुस्तकमा नेपालभाषाका शब्द र पदावलीको अर्थ नेपाली भाषामै लेखिएको छ । कामपाका सामुदायिक विद्यालयमा ४२ हजार र संस्थागत विद्यालयमा दुई लाख २० हजार विद्यार्थी पठनपाठन गर्ने गरेका छन् । कामपाका सामुदायिक विद्यालयमा एक हजार ७९१ शिक्षक कार्यरत छन् । सामुदायिक विद्यालयमा नयाँ दरबन्दी सिर्जना गरी पठाउने तयारी कामपाको रहेको छ।

मंसिर १९, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्