
काेही काेही लुक्न थाले नेता आएछ कि
कुकुरहरु भुक्न थाले नेता आएछ कि।।
नारा भाषण फुक्न थाले नेता आएछ कि
पहरे सन्तरी कुद्न थाले नेता आएछ कि।।
आकाशमा हेलिकप्टर बोकी ल्यायो हुरी
धुरी छाना उड्न थाले नेता आएछ कि।।
काम्लाका सातु खान्थे रकम हात पारे
देशी खाना बिक्न थाले नेता आएछ कि।।
हिजोसम्म लुखुर लुखुर आज गाडी ताँती
देख्दा जिब्रो टोक्न थाले नेता आएछ कि।।
फुर्ति लाउँदै ऊचाल्थे राता झण्डा ‘बिष्णु’
काला झण्डा बोक्न थाले नेता आएछ कि।।