मानसिक रोग विशेषज्ञ डा. रितेश थापासँग कुराकानी

‘डिप्रेशनको बिरामीलाई अर्ती दिने भन्दा पनि केही नभनी कुरा सुनिदिने मानिस चाहिन्छ’

डिप्रेशन ‘बेखुसी’ हुने अवस्था हो। जब यसको तह बढ्दै जान्छ, यसले मानिसलाई शारीरिक समस्या निम्त्याउनुसाथै आफैलाई हानि गर्ने अवस्थासम्म लैजान्छ।

डिप्रेशन मानिसमा कहिलेदेखि समस्याको रुपमा आयो भन्ने तथ्य नभएपछि १४ औँ शताब्दीमा यसको नामाकरण भएको पाइन्छ। पछिल्लो समय भने यो रोगले धेरै मानिसको ज्यान लिएको तथ्यांक बाहिरिएका छन्।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को सन् २०२० को जनवरीमा सार्वजनिक भएको तथ्यांकअनुसार विश्वमा २६ करोड ४० लाख मानिसमा डिप्रेशन छ। यसमा महिला धेरै प्रभावित छन्। विश्व स्वास्थ्य संगठनका अनुसार डिप्रेशनले आत्महत्याको बाटो देखाउँछ र संगठनको तथ्यांकअनुसार विश्वमा ८ लाख मानिसहरु आत्महत्याको कारण बर्सेनि आफ्नो ज्यान लिन्छन्।

डिप्रेशन के हो, यसका नकारात्मक पक्ष के के हुन् र यसलाई कसरी कम गर्न सकिन्छ? भन्ने बारेमा हामीले ऋदम न्यूरो साइकिक हस्पिटलका निर्देशक तथा मानसिक रोग विशेषज्ञ डा. रितेश थापासँग कुराकानी गरेका छौँ।

१) डिप्रेशन अर्थात नैराश्यको रोग के हो?

सबैभन्दा पहिला के बुझ्नु पर्‍यो भने उदास हुनु र उदासीपनको रोग लाग्नु भनेको फरक कुरा हो। डिप्रेशन रोग हो।

कहिलेकाहिँ उदास जो पनि हुन्छ, कहिलेकाहिँ निन्द्रा नलाग्नु, कहिलेकाहिँ खुशी हुनु, कहिलेकाहिँ उदास हुनु, त्यो सबैलाई हुन्छ। प्रायजसो समय, प्रायजसो दिन मन उदास रहिरह्यो। पहिलाको जस्तो फुर्ती नआउने भयो, जाँगर नलाग्ने भयो। पहिला खुशी लाग्ने कुरा अहिले लाग्न छोडेको छ। कम्तीमा यो अवस्था दुई सातासम्म रहिरहन्छ भने त्यो डिप्रेशनको अवस्था हुन सक्छ। यही समस्या निरन्तर रहिरह्यो भने त्यसले रोग निम्त्याउँछ।

२) कसरी थाहा पाउने?

मानिसलाई आफूले भनेको कुरा भएन भने नराम्रो लाग्छ। तर यो कुरा निरन्तर रहिरह्यो भने डिप्रेशन भएको हुन सक्छ। यसले अरु लक्षणहरु पनि देखाउन थाल्छ।

टाउको दुख्ने,
काममा मन नलाग्ने,
झर्को लाग्ने नकारात्मक सोच आउने
विद्यार्थीलाई स्कूल कलेज जान मन नलाग्ने,
परिवारभन्दा एक्लिएर बस्ने, बोलाउदा झर्किने
खानमा गडबडी गर्ने,
शारीरिक हाउभाउ फरक हुने
सानो सानो कुरामा पनि चित्त दुखाउने
रिसाइहाल्ने,
पछि आफूलाई हानी नोक्सानी गर्न सक्छ।

यस्तो व्यवहार, अवस्था यदि कसैमा देखियो भने उसलाई मानसिक समस्या देखियो कि भनेर पनि याद गर्नुपर्छ। सल्लाह दिनुपर्ने हुन्छ। मानसिक समस्या भएको मानिसलाई शरीरका सबै अंगमा फरक खालको लक्षण देखिन सक्छ। नेपालमा चाहिँ मानिसलाई डिप्रेशन भयो भनेर आउने एकदमै कम मानिसहरु छन्। यो बाहेक अरु मानिसहरु मलाई डर लाग्यो, पेट दुख्यो भनेर आउने गर्छन्।

कसैलाई हात खुट्टा झमझम गर्‍यो भनेर आउनुहुन्छ। उहाँहरुमा अरु केही समस्या हुँदैन। नेपालमा मानसिक रोगको शारीरिक समस्या लिएर धेरै मानिसहरु आउनुहुन्छ। अहिले कोभिड आएदेखि मानिसमा अहिले धेरै निन्द्रा अलाग्ने समस्या आएको र झस्केर बिउँझिने गरेको समस्या लिएर आउनुहुन्छ।

३) आफूले पनि आफूमा डिप्रेशन भएको थाहा पाउन सकिन्छ कि सकिँदैन?

आफूलाई पनि थाहा हुन्छ। त्यस्तो बेलामा आफन्त वा मन मिल्ने साथीलाई समस्या बताउनुपर्छ र चिकित्सकसम्म पुग्न पर्छ। अहिले विशेषगरी काठमाडौँमा राम्रो कुरा के भएको छ भने मानिसहरु डिप्रेशनको बारेमा बुझ्छन् र अस्पतालमा आउँछन्। उनीहरु समस्या भए पहिचान गर्न सक्छन्।

४) डिप्रेशनको बाहिरी कारण हुन सक्छ?

एकदमै धेरै !

एउटा धेरै महत्वपूर्ण कारण के हो भने हामी जन्मजातै यो रोग बोकेर आएका हुन्छौँ।

अर्को कुरा मानिसको व्यक्तित्वमा भर पर्ने कुरा हो।

तर केही मानिसको बाल्यकालको नराम्रो भोगााई, बाबा आमा अलग हुनु, बसाई सरेर बसेको, बाबु आमा गुमाएको छ, जातीय, लैंगिक विभेद भोगेको छ, स्कूलमा बुलिङमा परेको छ भने पनि उसलाई अहिले असर पर्न सक्छ।

कोरोना महामारी सुरु भएपछि पनि धेरै मानिसहरुमा यस्तो समस्या देखिन थालेको छ।

त्यसैले धेरै कुरा मानिसले घटनालाई कसरी लिन्छ भन्ने कुराले पनि भर गर्ने हुन्छ। आफ्नो भावना नियन्त्रण गर्न सक्ने, सकारात्मक रुपमा लिन सक्ने क्षमता कति छ, साथ साथै लागूऔषध, जाँडरक्सीको सेवन गर्छ कि गर्दैन त्यसमा पनि भर पर्छ।

रक्सीको बानी भएको वा लागूऔषधि सेवन गरेको मानिसलाई कुनै पनि मानसिक समस्या हुन सक्छ।

वातावरणले फरक पार्छ।

अफिसमा प्रमोशन भएन, समयमा तलब भएन भने, जागिरको ठेगान छैन, नसोचेको कुराहरु भइरहेमा नैराश्य बनाउन र बढाउन मद्दत गर्छ ।

५) भनेपछि केही अवस्था हरेर यो मानिसलाई डिप्रेशन हुन सक्छ भनेर अनुमान लगाउन सकिन्छ?

यसमा सपोर्ट सिस्टमको कुरा पनि धेरै महत्वपूर्ण हुन्छ। जसको पारिवारिक या सामाजिक सहयोग, आर्थिक सहयोग पाउने कम छ र उसलाई दीर्घरोग पनि लागेको छ, र माथि भनिएजस्तो भयो भने उसलाई डिप्रेशन चाँडै हुने संभावना रहन्छ।

६) मनोचिकित्सकहरु मानसिक रोगको बोरमा भ्रम छ भन्छन्, हो?

हो, मानसिक रोगको विषयमा धेरै भ्रमहरु छन्। मानसिक रोग हुँदैन, आफै नियन्त्रण हुन्छ भन्ने भ्रम छ। मनोचिकित्सक, काउन्सिलरकोमा जानु पर्दैन भन्छन्। जब उसलाई मानसिक समस्या हुन्छ उसलाई पागल, अथवा दिमाग खुस्केछ पनि भन्छन्। तर मानिसहरु परामर्श लिन पनि आउँछन्, कसैको पारिवारिक समस्या हुन्छ, कसैलाई साँच्चै समस्या हुन सक्छ ।

सबै कुरा मिलेको छ, सम्पन्न छ भने त्यसलाई समस्या हुन्न, डिप्रेशन अभाव, गरिबीमा मात्र हुन्छ भन्ने मानसिकता छ। तर त्यो गलत हो। यो जसलाई पनि हुन सक्छ। कसलाई बढी हुन्छ भन्ने हो तर सम्पन्न हुने जतिलाई डिप्रेशन हुँदै हुँदैन भन्ने हैन। नत्र भने विकसित देशमा डिप्रेशन जिरो हुनुपर्ने हो।

अर्को भ्रम भनेको डिप्रेशन भनेको एक्सरसाइज, योगा गरेर ठीक हुन्छ भन्ने भावना छ। तर यो रोग हो। धेरै ‘कमन’ रोग हो। २०२० मा गरिएको सर्वेक्षणमा ‘डिप्रेशन’ दोस्रो नम्बरमा आइपुगेको छ। त्यसैले यसलाई अस्पतालमा नै गएर उपचार गर्नुपर्छ।

७) लकडाउनको समयपछि मानिसले मानसिक स्वास्थ्यको बारेमा खुलेर कुरा गर्न चाहेका छन् रे हो?

हो, हामीलाई धेरैले सम्पर्क गर्नुभएको छ, उपचारको लागि आउनु पनि भएको छ। योगा मेडिटेशन, भनेको सपोर्टिभ ट्रिटमेन्ट हो। तर तह हरेर डिप्रेशनको उपचार गर्नुपर्छ।

सामान्य छ भने काउनसिलिङ गरेर निको हुन्छ तर गम्भीर भएको छ भने औषधि खानै पर्ने हुन्छ। निको हुन्छ भनेर सोच्नु, अथवा साथीभाईले ‘हलुका’ रुपमा लिन हुँदैन।

हाम्रो समाजमा यदि कसैले आफूलाई समस्या भएको बतायो भने, त्यसलाई मजाकको रुपमा लिने चलन छ । जब मान्छेले आफूलाई हानि र्छ तब ‘हामीलाई भनेन’ भन्छन्।

८) तहहरु कतिवटा हुन्छन्?

म भ्रमलाई जोडेर यसलाई बुझाउँछु।

जनमानसमा डिप्रेशनको पहिचान पछि पहिलो तह हो, अब पछि मान्छे पागल हुन्छ भन्ने भनाई छ। पागलपन अन्तिम स्टेज भन्छन्। तर यी दुवै फरक रोग हुन्। मानिसक रोग १५० भन्दा बढी किसिमका छन्।

डिप्रेशनकै कुरा गर्ने हो भने त्यसको तह हुन्छ,

माइल्ड
मोडरेट
सिभिएर

क) माइल्ड – केही केही लक्षण आउने, त्यो बेलामा वातावरण फेर्न सक्यौँ, बानी परिवर्तन गर्न सक्यौँ, सहयोग लिन सक्यौँ भने त्यो ठीक हुन्छ। औषधिको आवश्यकता हुँदैन ।

ख) मोडरेट – त्यसबाट अझै अगाडि बढ्यो। अफिसमा काम गर्न जान मन लागेन। कुराकानी गर्न छोड्यो, खानामा गडबढ भएको छ, बेडबाट उठ्दै उठ्दैन, बेडमा पल्टेको पल्टेई ग¥यो, हाँस्नै छोडेको छ, शरीरमा ताकत छैन, रुन मन लागि राख्ने, मन भारी भाइराख्ने, दिमागमा नकारात्मक कुरा मात्रै आइराख्छ भने मोडरेट लेबलमा पुग्छ। यो अवस्थामा मानिसलाई औषधिको आवश्यकता पर्छ।

ग) सिभिएर – मोडरेट तह बढ्दै जाँदा मानिसमा आत्महत्या गर्ने सोच विकास हुन सक्छ। अनुसन्धानले आत्महत्याको प्रमुख कारणमा ९० प्रतिशत मानसिक रोग भएको देखाउँछ। त्यसमा ८० प्रतिशत डिप्रेशनसँग सम्बन्धित रोग हुन्छन्।

यो आवस्थामा बिरामीलाई अस्पतालमा नै राखेर उपचार गर्नुपर्छ ।

९) डिप्रेशनको उपचार कसरी गर्न सकिन्छ होला?

एकदमै सरल उपचार छ। सस्तो पनि छ। यसको उपचार महंगो छैन।

केहीलाई औषधि चाहिन्छ,

मनोपरामर्श (साइकोथेरापी) भन्छौ हामी।

धेरै गाह्रो भए, अस्पतालमा भर्ना भएर

इसीटी (इलेक्ट्रिक कन्भुलसिभ थेरापी) यसलाई बुझ्ने भाषामा भन्दा सक दिएको भन्छौ। कहिलेकाँही मान्छे बोल्दै नबोल्ने अवस्थामा पुगेको हुन्छ। ट्वाल्ल हेरेर बस्ने, दिसा पिसाब कपडामा नै गर्ने हुन्छ । यस्तो अवस्थामा मानिसलाई सक लगाउन पर्छ।

आर टि एम एस – रिपीटेटिभ ट्रान्सकारनिएल म्याग्नेटिक स्टिमुलेशन

यो मेशिन हो। औषधि र मनोपरामर्शले ठीक नभएको अवस्थामा यो उपचार पद्धति अपनाउने हो।

त्यो बाहेक खानपिन, लवाई खवाईमा ध्यान दिने । त्यो बाहेक यो ध्यान, योगा पनि प्रयोग गर्न सकिन्छ।

१०) डिप्रेशन भएको मानिसलाई कसरी सहयोग गर्न सकिन्छ ?

कोहीलाई समस्या भएको थाहा भएमा, उसको कुरा सुन्नु पर्छ। उसलाई सुझाव हैन, सुन्ने मानिस चाहिएको हुन सक्छ। हाम्रो नेपाली समाजमा सुन्ने भन्दा पनि अर्ति दिने व्यवहार धेरै छ।

अनि नन–जजमेन्टल हुनुपर्छ। ध्यानपूर्वक।

सकिन्छ भने आफूले सहयोग गर्नुपर्छ। सकिदैन भने चिकित्सकसम्म पु¥याउनुपर्छ।

कसैले आफूलाई समस्या भयो भन्छ भने त्यसलाई हलुका रुपमा लिनु हुँदैन। उसलाई हौसला दिएर उपचार गर्न प्रेरणा दिनुपर्छ।

११) डिप्रेशन भएको मानिसले आफूलाई ठीक पार्न के गर्नुपर्छ ?

आफूलाई समस्या भएको पनि स्वीकार गर्नुपर्छ।

त्यसपछि आफ्नो समस्या पहिचान गर्नुपर्छ,

त्यसको समाधान खोज्नुपर्छ ।

जे कुराको समस्या छ, त्यसलाई व्यवस्थापन गर्नुपर्छ। निन्द्राको समस्या छ भने सुत्ने नियम बनाउनुपर्छ ।

सकारात्मक प्रवचन सुन्ने ।

लागु औषध वा रक्सिको सेवनलाई रोक लगाउनुपर्छ।

यति गर्दा नि निको भएन भने चिकित्सककोमा पुग्नुपर्छ।

समस्या पहिचान भएमा निको पार्न सहज छ।

भिडियो हेर्नुहोस्:

मंसिर २०, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्