हुम्ला जीप दुर्घटनाका घाइते एकजनालाई थप उपचारका लागि नेपालगंज लगियो

सिमकोट– शुक्रबार राति सिमकोट गाउँपालिकाको वडा नम्बर ७ को थाहामा बोलेरो जीप दुर्घटनामा घाइते भएका एकजनालाई थप उपचारका लागि नेपालगंज लगिएको छ।

हुम्ला अस्पतालमा उनको उपचार सम्भव नभएपछि चिकित्सकको सल्लाह अनुसार नेपालगंज लगिएको हो।

दुर्घटनामा परि टाउकोमा चोट लागेका बाजुरा जिल्ला स्थायी घर भएका हाल सिमकोट बजारमा मोबाइल मर्मतको पसल सञ्चालन गर्दै आएका कवि सिंहलाई थप उपचारकाे लागि नेपालगञ्ज लगिएको डा. टसी आङ्जु लामाले जानकारी दिए।

सिंहलाई हवाईजहाजबाट नेपालगंज पठाइएको छ। टाउकोमा चोट लागेका सिंहको सिटिस्क्यान गर्नुपर्ने तर सो सुविधा हुम्ला अस्पतालमा नभएपछि जिल्ला बाहिर रिफर गर्नु परेको हो। सिंहको शरिरमा पनि चोट लागेको छ।

एकजना बालकसहित अन्य ६ जनाको शरीर तथा अनुहारमा चोट लागेको भएपनि अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ।

दुर्घटनामा परि मृत्यु भएकाहरुको शव अस्पतालको शवगृहमा रहेको र पोष्टमार्टमको प्रकृया सुरु गरिने डा. लामाले बताए।

जीप दुर्घटनामा चारजनाको मृत्यु भएको थियो भने सातजना घाइते भएका थिए।

मंसिर २०, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्