विज्ञान/दर्शन

ध्यानलाई गोली हान्नु्स्

प्रिय राजकुमार सिंह खडका,
तिहारको ‘फेस्टिभ ह्याङओभर’ एवं खुमारीले छाडेको थिएन। मेरो प्रवृति नै यस्तो हो जे गर्‍यो त्यसैमा चुर्लुम्म … आफै बाहिर आउनै गाह्रो! कोही न कोही, केही न केही ‘केटलिक एजेंट’ नै चाहिने। लेख्ने न त कुनै टॉपिक नै मस्तिष्कमा थियो न मूड नै। यस्तो हुँदा मैले गर्ने काम एउटा मात्रै हुन्छ- घाँस उखेल्ने। मेरो घाँस उखेल्नु संसारको कुनै पनि भाषा र प्रयोजनमा अलिकति पनि उपयोगी होइन।

भरजन्म घाँसतिर मन दिई धन कमायो
नाम के रहोस् भनी पछि कुवा खनायो
घाँसी दरिद्र तनको तर बुद्धि कस्तो
म भानुभक्त धनी भइकन किन आज यस्तो।

घाँसी र भानुभक्त दुबैको घाँस प्रकरण उपयोगी र सार्थक हुन्। घाँसीले घाँस उखेल्ने कर्म गरेर कुवा खनाउनेसम्मको उपक्रम गर्‍यो, भानुभक्तले प्रकरणलाई छन्दबद्ध गरी घाँसी र आफू दुबैलाई नेपाली जनजिब्रोमै आरूढ़ गराई दिए। भएन त घाँस उखेल्ने कर्मको सार्थकता र उपयोगिता!

तर मेरो घाँस उखेल्याइ संसारकै सबभन्दा निरर्थक कर्म हो। एउटा मित्रसँग घांस उखेल्याइबारे नै एउटा लेख लेख्ने वाचा गरेकाले यस प्रकरणमा यहाँ त्यो रहस्य नखोलौँ।

गीता विषयक लेखमाथिको तपाईँको टिप्पणीले अन्ततः मेरो तिहारको खुमारी नेस्तनाबुद गर्न चूकअमिलोकै काम गर्‍यो। सर्वप्रथम त सुन्दर टिप्पणीका लागि धन्यवाद।

राजकुमारको टिप्पणी- बहुत सान्दर्भिक प्रश्न अनि उत्तर पनि तर पनि पूर्ण सत्य हैन। माफ गर्नु होला न मैले भागवत गीता अध्ययन गरेको छु, न भगवान श्री कृष्णलाई नै चिनेको छु। मनले भन्छ सुनेर, पढेर, हुबहु गरेर परम सत्य उपलब्द्ध हुँदैन। शायद यही सत्यलाई बुझेर नै बुद्धले त्यो गुण त्यो अवस्था प्राप्त गरेको विशेष श्रावक भिक्षुलाई त्यो अधिकारी ठहर गरेका छन्। श्रावक यानि सुन्ने व्यक्ति – श्रोता …। कुनै समयमा म पोखरा बस्दा एकजना राई थरका प्रणामी शास्त्रीय संगीत गुरुकोमा संगीत सिक्न जादा पहिलो दिन उहाँले जे भन्नुभयो- मलाई छोयो। बाबु, यो शास्त्रीय संगीत सिक्नलाई पहिले ३ महिना सुन्ने कला सिक्नु पर्छ भन्दा अचम्म लाग्न सक्छ जो कोही अहिलेका संगीत पारखीहरुलाई। त्यस्तै यो सुन्ने कलाको पहिलो प्रयोग भगवान बुद्धले गरेका छन्। त्यो जसले शब्द सुनेको हुँदैन भावसँगै भावमय हुन्छ मात्र उसले बोध प्राप्त गर्छ तत्क्षण। हो, बोध प्राप्त गर्ने श्रावक (स्रोता) सुनाउने चाहे कृष्ण हुन् या बुद्ध वा अरु कुनै दिव्य पुरुष किन नहुन्, स्रोतामा त्यो प्राप्त गर्ने उत्कन्ठा ,खोज त्यसका लागि सम्पूर्ण त्याग गर्ने साहस, कठिन अवस्था भोगेको, मुमुक्षुपन, शारीरिक श्रम लगायत अन्य वस्तुगत अवयवहरु पछिको अवस्थाले मात्र त्यो ज्ञानको भागीदार बनाउला। के यी यावत अवस्था पार गरेका थिए ती पात्रहरुले? तिनीहरुको प्रारब्ध, आहारबिहार, समर्पणपन, स्वीकारमयभाव, मृत्युको सत्यता बोध आदि भौतिक वस्तुले निर्धारण गर्दैन? र, अर्जुनसँग कसरी तुलना गर्न सकिन्छ ती पात्र र ती पात्रका माध्यमबाट हामीलाई?म त सिद्धार्थ गौतम र अर्जुनलाई त्यही कोटिमा देख्छु सतही रुपमा यी दुईमा तात्विक भिन्नता भए पनि शरीर र मनको अवस्था हेर्दा एकै देख्छु। अन्त्यमा गीता न त ती पात्रहरुको मनमा उठेका खोजको प्रश्नको उत्तर हो, न श्री कृष्णले आफ्नै अनुभव भनेका हुन्। भागवत गीता हुनुमा श्रीकृष्ण भन्दा पनि अर्जुन महत्वपूर्ण छन् न कि ती पात्रहरु। यदि ती प्रश्न अर्जुनबाट नआएका भए? यानि जसले उत्तर जान्दछन्, प्रश्न गर्न पनि केवल तिनैले जान्दछन्। अत: प्रश्न उत्तर एक सिक्काका दुई पाटामात्र हुन्। दुस्साहस गरेको छु, सत्य उजागर गरेको छु जसरी बुझ्दा पनि हुन्छ। सत सत हार्दिक नमन! यो दुस्साहस गर्ने मौकाका लागि।

तपाईँको टिप्पणीले मलाई पुनः लेखन कर्ममा धकेल्यो।

राजकुमार, मानिसका दुःख पनि अनेक हुन्छन्। तपाईँका दुःख र दुःख अनुभव गर्ने कारण र परिस्थितिबारे त मलाई कुनै किसिमको संज्ञान छैन। तर मेरा लागि दुःख भने पनि सुख भने पनि दुबैको परिभाषा विचित्रकै छ। कसलाई सुख भन्ने कसलाई दुःख? एउटै कुरा दुबैले विशेषता राख्न सक्छन्।

मित्र राम थपलियाले एउटा प्रसंग सुनाएका थिए। उनका कुनै मित्र (उनलाई प्रोटोन भनी बुझौँ) एउटा ‘इलेक्ट्रोन’लाई लिएर मस्ती गर्न ठमेलको कुनै होटलमा रात बिताउन गएका रहेछ्न। ‘प्रोटोन’लाई ‘इलेक्ट्रोन’सँगको प्रारम्भिक संगत र सहवासले अपूर्व आनन्द मिल्यो। तर ‘इलेक्ट्रोन निम्फोमयानियाक’ परेछ। ‘इलेक्ट्रोन’ले रातभरि ‘प्रोटोन’को चारैतिर परिक्रमा गरिरह्यो। ‘इलेक्ट्रोन क्लाउड’ नै बनाइरह्यो, एक स्थानमा भएको ‘इलेक्ट्रोन’ आफ्नो ‘क्लाउड’ बनाएर सर्वत्र भइरह्यो।

‘प्रोटोन’ले रामलाई आफ्नो दुःख सुनायो- यार जीवनमा कहिल्यै नपाएको दुःख पाइयो। एक घण्टासम्म त परम सुख पाइयो तर त्यसपछि रातभरि जीवनमा कहिल्यै नपाएको दुःख – पीड़ा भोग्नु परयो। स्थान, पात्र, प्रवृति, रूचि र कुनै बाहरी व्यवधान नहुँदा पनि केही क्षण अघिको अनुपम सुख भीषण दुःखमा परिवर्तित भयो।

यो प्रसंग मेरा लागि जीवनकै सबैभन्दा श्रेष्ठ र महत्वपूर्ण बोधकथा बन्यो।

हुन त कतिपय मानिसले सापेक्षताको कुरा गर्लान्। आइन्स्टिनपछि सबै कुरा सापेक्ष हुन् भनी पाएको उधारो ज्ञानको दम्भले मानिसलाई स्वयंको बोध र चेत प्रयोग गर्न दिन्न। उधारो लिएको धन वा मानले मात्रै पिरोल्ने होइन, उधारोको ज्ञानले पनि व्यक्तिको बुद्धि, चरित्र र व्यक्तित्वमा हीनता र परनिर्भरता मात्रै आउँछ,यसले कुनै किसिमको बोध अथवा विवेक जन्माउँदैन।

सुख-दुःख दुबै सापेक्ष हुन् भनी संसारका कति जना प्राणीले यी दुवै दिदी – बहिनीप्रति समभाव राख्न सक्छन्? उपदेश दिने कुरामा त जोसुकै पनि (म स्वयं पनि) अत्यन्त प्रवीण हुन्छ तर त्यही परिस्थिति आफूमाथि आइपर्दा उधारो ज्ञान र कुनै श्रमबिना अर्जिएको संयमको मुकुण्डों छिन्नभिन्न हुन्छ। हामी सबैको हालत र अवस्था यही नै हो।

बुद्धले उद्घोष गरे- ‘संसार दुखमय छ।’ उहाँको अनुभवमा सापेक्षता महत्व राख्दैन। उनी संसारलाई नै दुःख भन्छन् (संसार दुःखमय छ), उनको विचारणा र सिद्धांतमा सुखको अस्तित्व नै रहदैन। लोक व्यवहार सिद्ध अथवा आइन्स्टिनका समर्थकले सापेक्षता शिरोधार्य गरी सुख र दुःख दुबैलाई व्यावहारिकजन्य परिस्थिति मानेका छन्। यसको पनि मूलमा भने कुनै परिस्थितिलाई सुख भन्न मस्तिष्क प्रशिक्षित गरिएको छ र कुनै परिस्थितिलाई दुःख उद्घोष गर्ने प्रशिक्षण दिइएको छ मस्तिष्कलाई। तर बुद्ध परिस्थिति केलाएर सुखवर्ग र दुःखवर्ग छुट्याउनमा अभिरुचि राख्दैनन्। उनका लागि संसार नै दुःखको थलो हो, कुनै एउटा बुद्धमार्गी सन्तले त कुनै एउटा चिनियाँ बादशाहसँग कुरा गर्दा जन्मलाई नै दुःखको उपमा दिएको प्रसंग पनि मैले कतै पढेको थिए।

बुद्ध समग्र र मूलको निरूपण गर्नपट्टि आफ्नो ध्यान केन्द्रित गर्छन्। सबै परिस्थितिको मूल अर्थात संसार, छोटकरीमा जन्म नै दुःख हो भन्ने निष्कर्षमा पुग्यो उनको बुद्धचेतना। सुख र दुःखको अभावमा होइन, बुद्धले आफ्नो जीवनमा दुबै परिस्थितिलाई अतिरेक स्तरमै भोगेका थिए। दुबै परिस्थितिको गहन र व्यापक भोगाइ उपरान्त प्राप्त निष्पत्तिले बुद्धलाई भन्न विवश बनायो- ‘संसार दुखमय छ’। बुद्धको निष्पत्ति जगत व्यवहार होइन, उनको निष्पत्ति मूल सिद्धान्त (म्याट्रिक्स) हो। जगतको ‘म्याट्रिक्स’ नै संघर्षमय अर्थात दुखमय छ। ‘बिग बैंग थ्योरी’ पढ्दा पढेको थिएँ- ब्रह्माण्ड उत्पत्ति क्रममा बनेका प्राथमिक ‘पार्टिकल्स’ सँगै बनेका ‘एन्टिपार्टिकल्स’ सँग जुधेर समाप्त हुन्थे। विज्ञान भन्छ- १ अर्ब ‘पार्टिकल्स’ मध्ये मात्र एउटा ‘पार्टिकल’ जोगिएर ब्रह्माण्ड सृष्टि हुन सकेको थियो । यत्तिको संघर्ष विध्वंशबाट सिर्जित ब्रह्माण्डमा सुखको कल्पना गर्नु के यथोचित हुन सक्छ!

तर यो पनि सत्य हो , मूल ‘म्याट्रिक्स’लाई, मूल सिद्धान्तलाई आत्मसात गर्न बुद्धचेत नै चाहिन्छ। यसभन्दा निम्नतर चेत (जुनसुकै स्तरको भए पनि) सिद्धान्तको व्याख्या/अपव्याख्या, समर्थन/विरोध गर्नमै आफ्नो सम्पूर्ण ऊर्जा व्यय गरिरहेको हुन्छ। यो पनि थाहै नपाई यो समर्थन – विरोध, पक्ष – विपक्षका लागि गरिने सारा क्रियाकलाप पनि तनाव एवम अन्तमा गएर दुःखकै प्रस्थान बिन्दुमा पुग्छन्।

मित्र, सिद्धान्तलाई बारम्बार सिद्ध गर्ने आवश्यकता पर्दैन। सिद्धान्त सार्वभौम हुन्छ र जुन सार्वभौम छैन- त्यो सिद्धान्त (म्याट्रिक्स) नै होइन। सिद्धान्त सबैले अन्वेषण गरिरहनु पर्दैन।

हामी सबैलाई थाहा छ- कणमा (एटम) आकर्षण शक्ति हुन्छ। प्रत्येक कणले अर्को कणलाई आकर्षित गरिरहेको (आफूतिर तानिरहेको) हुन्छ। कणहरुको महासंयोजन पृथ्वी (अन्य ग्रह, नक्षत्र /पिण्ड) मा कणहरुको यही शक्ति गुरुत्वाकर्षणका रूपमा एकत्र भएको हुन्छ। अब त पृथ्वीमा मात्रै होइन, सम्पूर्ण ब्रह्माण्डमै कति अणु छन् भन्ने अनुमानित हिसाब आधुनिक विज्ञानले गरिसकेको छ। अणुको झण्डै सम्पूर्ण संरचना ज्ञान पनि आधुनिक विज्ञानले पत्तो पाइसकेको छ। अणुलाई ऊर्जामा रूपान्तरित गर्ने ज्ञान पनि विज्ञानले हात पारिसकेको छ। बुद्धको समयमा यो ज्ञान प्रकट थियो कि थिएन भन्नेबारे केही भन्न सकिदैँन। तर बुद्ध मात्रै होइन, शंकराचार्य र उपनिषद्का तमाम ऋषिका आप्त वचन पढ्दा स्पष्ट हुन्छ- ‘स्पष्ट शब्दमा अभिव्यक्त गर्न नसके पनि यी सबैजनालाई अणुको रहस्यधर्मिताबारे मात्रै होइन ब्रह्माण्ड कै ‘म्याट्रिक्स’ बारे थाहा थियो।’

‘ब्रह्म सत्यम जगत मिथ्या’, ‘जोई पिंडे सोइ ब्रह्माण्डे’ भन्ने यिनीहरुका उद्घोष ‘प्रेमिकाको अनुहारको तुलना गुलाफ अथवा चन्द्रमासँग गरे जस्तो क्षणिक र सतही कुरा पक्कै थिएनन्।’

कणमा आकर्षण शक्ति छ। कणहरुको महामिलनले बनेको पृथ्वीमा गुरुत्वाकर्षण शक्ति छ, यो तथ्य (म्याट्रिक्स) कुनै एकजनाले अन्वेषण गरे पुग्यो। पृथ्वीका प्रत्येक मानिसले गुरुत्वाकर्षण सिद्धान्तको ‘स्माल जी’ र ‘क्यापिटल जी’को विश्लेषण /विवेचन गरिरहनु पर्दैन। गुरुत्वाकर्षण सार्वभौम सिद्धान्त हो। ब्रह्माण्डमा जहाँ पनि कण अथवा पिण्ड छन्, त्यहाँ यो शक्ति कार्यरत छ र जहाँ कणको पूर्ण अभाव छ त्यहाँ पनि ‘ग्रेभिटेशनल फ़ोर्स’ रुपी लहरको कारणले गर्दा गुरुत्वाकर्षणको उपस्थिति छ। अर्थात ब्रह्माण्डमा कहीं पनि गुरुत्वाकर्षण नभएको स्थान छैन हो, यसको मात्रामा थपघट भने सर्वत्र नै छ। ‘जीरो ग्राभिटी’, ‘जीरो क्यालभिन टेम्प्रेचर’ ( एब्सोल्यूट जिरो – माइनस २७३.१५ डिग्री सेंटीग्रेड), पूर्ण निर्वात (perfect vacuum) ब्रह्माण्डमा कहीं पनि हुनु सम्भव छैन।

बुद्धको अभिव्यक्ति संसार दुःखमय छ, काव्यात्मक अथवा दार्शनिक विवेचन होइन। बुद्धले बुझेको जगतसार (म्याट्रिक्स) हो। गुरुत्वाकर्षणझैँ दुःख पनि ब्रह्माण्डभरि व्याप्त छ। मानिस जसलाई सुख भन्छन्, त्यो गुरुत्वाकर्षणको क्षीण अवस्था अथवा परिस्थिति हो। मूलतः जसरी कुनै बिन्दुमा दुईवटा पिण्डका परस्पर विरोधी गुरुत्वाकर्षण शक्तिले एक अर्काको शक्तिलाई निष्प्रभावी बनाउँछन्। यस्तो बिन्दुमा कुनै पनि पिण्डको गुरुत्वाकर्षण प्रभावी हुन पाउँदैन। सुख पनि त्यस्तै दुई समान दुःखको मध्यावस्था हो। वास्तवमा सुख भनिने त्यो अवस्था दुई दुःख मध्ये को ‘दुःखको सामर्थ्यहीन’ अवस्था हो, जसलाई अज्ञानीजनले सुख ठान्छन् तर बुद्धचेतका लागि यो फगत दुःखको गौण अवस्था हो। बुद्धका लागि सुखको अस्तित्व नै छैन, छ त मात्र दुःखरहित अवस्था छ (चार आर्य सत्य)।

अध्यात्म ‘स्ट्रिंग थ्योरी’ हो। बुद्ध, महावीर, शंकराचार्य, गोरखनाथ, रामानुज आदि आदि ‘क्वांटम लेभल’का अन्वेषक हुन्। भनौँ आधुनिक नील्स बोहर, म्याक्स प्लान्क, वर्नर हाइजेनवर्ग, इरविन श्रोडिंगर ,पल डिरेक जस्तै।

अद्वैत, द्वैत, वेदान्त, शैव, शाक्त, वैष्णव, बुद्धिज्म धर्म वा दर्शन शास्त्रीय बोझ नभएर जीवन पद्धति हुन्। सम्यक अनुसरण गरे जो कोहीको जीवनमा पनि शंकर, रामानुज, गोरख, कबीर, बुद्धसँग घटित भएको ‘त्यो दुर्लभ आकस्मिकता’ घटित हुनसक्छ। बुद्धले आफ्नो जीवनकालमा सम्यक भन्ने शब्दको अति नै प्रयोग गरे किनकि उनलाई मानिसको स्वभाव र प्रवृतिबारे गहिरो समझ थियो। यो प्राणी एउटा अतिबाट अर्को अतिमा सुगमता साथ जान त सक्छ, एउटा ध्रुवबाट अर्को ध्रुवमा हामफाल्न त सक्छ, तर दुई गुरुत्वाकर्षणका सीमाना बिन्दु (दुःख) मा अर्थात दुबैको क्षीण अवस्थाको मध्यमा टिक्न यसलाई गाह्रो हुन्छ। यो थाहा पाएर नै उनले जीवनभरी सम्यक र माध्यमकारिताको कुरा गरिरहे।

तपाईँले पोखराका शास्त्रीय संगीतज्ञ गुरुले भनेको श्रवण कलाको चर्चा गर्नु भयो। सम्यक श्रवणको महत्वबारे सबैभन्दा बढी चर्चा जैन धर्मका प्रवर्तक भगवान् महावीरले गर्नु भएको हो। उहाँको विचारणामा जप- तप- ध्यान- धर्म -दान -शील- यज्ञादि आदि कर्मको फल जस्तै सम्यक श्रवणले मात्र पनि मनुष्य धर्मको मूलमा प्रतिष्ठित हुने प्रतिष्ठा अर्जित गर्न सक्छ। जैन धर्मको एउटा घाट नै मानिएको छ श्रावकलाई, घाट अर्थात जीवनरूपी भवसागर तर्नसकने प्रस्थान बिन्दु।

३०-३०, ४०-४० वर्षसम्म ध्यान गरेको मानिस भेटेको छु। ध्यानमाथि प्रवचन गर्दै हिँड्ने, अनेकौँ किताब लेखेका व्यक्ति भेटेको छु। तर ती र विश्वका शेष मानिसमा कुनै तात्विक भिन्नता पाइन। कारण उनले ध्यानलाई पनि आफ्नो जीवनका अन्य कृत्यझैँ एउटा कृत्य बनाए, अभ्यास गरे। तर समग्रताले शरीर र मस्तिष्कमा हुने रासायनिक परिवर्तनसम्म उनीहरु कहिल्यै पुगेनन्।

हिन्दू वांग्मयमा कतै लेखिएको छ। भगवान् विष्णु भन्नु हुन्छ नारदसँग –

‘न अहम् वसामि वैकुण्ठे योगिनाम हृदयम न च,
मम भक्ता यत्र गायन्ति तिष्ठामि तत्र नारद’।

तपाईका संगीत विशारद गुरुलाई यिनै पंक्तिबाट सम्मानित गर्दै श्रवण बारे (सम्यक) सोचमग्न बनेको छु। के हामी सम्यक श्रवण गर्न सक्छौँ? शब्दकोषमा सम्यक शब्दका अनेकौँ अर्थ हुन सक्छन्। तर बुद्ध र महावीरले प्रयोग गरेको सम्यक शब्दको अर्थ दुईवटा आशय लिएको हुन्छ। हुन त बुद्ध चेतका लागि हामीले सम्झिने दुइवटा आशय मूलमा एउटा मात्रै हो। मलाई थाहा छैन नेवार सम्प्रदायमा तुलाधर भन्ने टाइटल कसरी र कुन हेतुले प्रयुक्त भएको हो। जहाँसम्म मेरो बुझाइ छ सम्यकको अर्थ तुलाधर नै हो। पुराना जमानाको तुला (तराज़ू) हुन्थ्यो नि, एउटा लम्ब्वत आधार (डंडी) मा दुबैतिर झुन्डिएका पल्ला। दुबै पल्ला सामान अवस्थामा हुनु नै तुलाधार अवस्था अर्थात सम्यकको प्रतीक हो। बुद्धको देशना जीवन तुलाधरका भाँति मध्यमा स्थिर हुनु हो- कतैपट्टी नढल्केको मध्यमामा स्थित स्थिर अवस्था। यही हो बुद्धको मध्यमकारिता अथवा सम्यक जीवन।

सम्यक श्रवण, सम्यक दृष्टि, सम्यक पठन आदि समग्रतासँग सम्बन्धित कुरा हुन्। ओहो सम्झना आयो- भारतका प्रसिद्द संगीतज्ञ स्वर्गीय पण्डित जसराजको। उहाँ काठमाडौँ आउँदा भेट्न पुगेको थिए। कुराकानीको क्रममा उहाँले भन्नु भयो- कतिपय श्रोताले मलाई भन्छन् मैले गाएको श्रवण गर्दा उनीहरुलाई आफ्नो आराध्य देवको दर्शन भयो। श्रोताहरुको यो प्रतिक्रिया नै मेरा लागि सबैभन्दा ठूलो पदक हो, सम्मान हो, पुरस्कार हो।

खुराफात र चुहलबाजी किसिमको बदमाशी (ब्लैक ह्यूमर) मेरो स्वभावमै निहित छ। सोधेँ- पण्डितजी गायनको क्रममा तपाईँलाई त धेरैपटक प्रभु दर्शन भयो होला? (यकीन गर्नुस् मलाई उनको जबाब थाहा थियो।)

इन्डियन एम्बैसीको प्रागंणमा पण्डित जसराजले निराशाको स्वरमा भन्नु भयो- अच्युत, मेरो दुर्भाग्य मलाई आजसम्म यस्तो दिव्य अनुभूति भएको छैन। शायद यो मेरो भाग्यमा छैन, यो जीवन प्रभु आराधनामै बित्ने भयो प्रभु दर्शन मेरो भाग्यमा छैन।

‘पंडितजी, म भाग्यको अवहेलना गर्दिन तर मलाई लाग्छ तपाईले नै धर्म ग्रन्थका यी पंक्ति अनेकौँ पटक गाउनुभयो होला- ‘कर्म प्रधान विश्व रची राखा!’ त्यसो भए के यो पंक्ति कसैले गाँजा खाएर लेखेको हो?’

‘म भक्तिमार्गी हो, मलाई विभिन्न योग, दर्शन, तर्क, छन्द, व्याकरण बारे केही ज्ञान छैन। तपाईँ नै भन्नुस्- मेरो कर्ममा के त्रुटि रह्यो, जे भाग्यको लेखौटलाई मेरा कर्मले पखाल्न सकेन।’

‘पण्डितजी, मलाई अध्यात्म भन्दा यसबारे विज्ञानको पृष्ठभूमि बढी रुचिकर लाग्छ, तर तपाईँसँग न विज्ञान, न अध्यात्म- म संगीतकै शैली र सुरमा कुरा गर्न चाहन्छु। पण्डितजी त्यो कथा सुन्नु भएको छ होइन?

एक पटक बादशाह अकबर आफ्ना नवरत्न तानसेनसँग स्वामी हरिदासलाई लुकीछिपी हेर्न/ सुन्न गएका थिए।’

‘अहा क्या प्रसंग स्मरण गराउनु भयो! हरिदास महाराजका सामु त तानसेनको गायकी पनि फीका थियो, मेरो त के गणना हुनु?’

‘तर पण्डितजी तपाईँको प्रश्नको मर्म र रहस्य यस कथामै लुकेको छ। तपाईँ र तानसेन कसैलाई खुशी बनाउन, रोजगार कमाउन, नाम, यश, कीर्ति, पद, पैसा, पुरस्कार, सम्मान आदिका लागि गाउनु हुन्छ तर हरिदास कसैका लागि र केही पाउनका लागि नभई आफ्नो आराध्यको भक्तिमा लीन भएर गाउनु हुन्थ्यो। तपाईँ गायनमा जतिसुकै लीन भए पनि तपाईको मस्तिष्क सुर तालको फ़िक्री गरिरहेको हुन्छ, सुर छुट्यो कि ताल बिग्रियो कि? यसको चिन्ता सधैँ हुन्छ तपाईसँग, त्यसले गर्दा यो सम्यक कृत्य हुन पाउदैन। र, कृत्य सम्यक नभएसम्म मस्तिष्कभित्र ‘केमिकल लोच्चा’ हुन बन्द हुँदैन।

‘तर अच्युत हरिदास महाराज त सिद्ध पुरुष हुनु हुन्थ्यो ,उहाँको सुर ताल तल- माथि हुने सम्भावना हुन्नथ्यो, तर म त संगीतको एउटा सामान्य साधक हुँ सुर तालको ख्याल गरिन/ राखिन भने अर्थको अनर्थ नै हुन्छ।’

‘पण्डितजी तपाईँलाई सिद्धता के हो भन्ने थाहा छ,सिद्ध पुरुषसँग के शक्ति हुन्छ थाहा छ?’

‘उहाँहरुलाई साधनाले प्रसन्न भई उहाँहरुको इष्टले वरदान दिएको हुन्छ, भनौँ उहाँहरुको साधना सिद्ध भइसकेको हुन्छ।’

‘साधना सिद्ध भइसकेको हुन्छ भन्ने तपाईँको अभिव्यक्ति अक्षरशः ठीक हो ,तर इष्टको वरदान सम्बन्धी अवधारणा फगत तपाईँको अज्ञान- अन्धविश्वास हो पण्डितजी! कुनै पनि व्यक्तिले जब कुनै पनि कृत्य समग्रताका साथ सम्पन्न गर्ने कला जानिसकेको हुन्छ तब उसले गर्ने कुनै पनि कृत्यमा गल्ती अथवा दोष रहँदैनन्। यही हो सिद्ध शब्दको कीमिया अथवा रहस्य… समग्रताका साथ गरिने सबै काम ‘अब्सोल्युट पर्फेक्ट’ हुन्छन्। भनौँ त्यस समय कृत्यको जिम्मा व्यक्तिमा नरही त्यो जिम्मा प्रकृतिले बोक्छ। तर जहाँ मस्तिष्कले कामबारे संज्ञान लिएर कृत्य सम्पादित गर्छ, त्यही नै विघ्न भएर कृत्यमा त्रुटि हुन्छन्।’

‘यसको अर्थ मेरो भाग्य/दुर्भाग्यको असल कारण मै नै हो।’ उहाँ गुनगुनाउन थाल्नु भयो, ‘प्रभुजी मेरे अवगुण चित्त न धरहु।’

सम्यक बारे अथवा समग्रता आधुनिक युगमा जे कृष्णमूर्ति, गुरूजिएफ र पीडी आस्पेंस्की जस्तो प्रष्टसंग अरु कसैले बोलेको मैले सुनेको छैन। जबसम्म मानिसले शरीर र मस्तिष्कमा हुने ‘न्यूरोट्रान्समिटर’को संयोजनलाई भताभुङ्ग गर्दैन तबसम्म मानिस स्वतन्त्र चेत- बोध भएको प्राणी नभएर ‘कम्प्युटर सिमुलेशन’ अथवा, ‘प्रीप्रोग्राम्ड सॉफ्टवेयर’ मात्रै हो। भाग्यको कथा र नियतिको क्रूरता यस्ताका लागि सधै प्रभावी नै रहन्छ। तर, मानिसले आफ्नो सम्यक कर्मले (समग्रताका साथ समपन्न गरिने जुनसुकै कर्म) भाग्य मात्रै होइन शरीर र मस्तिष्क कै किमिया र रसायन परिवर्तन गरी बुद्ध चेत अर्जित गर्न सक्छ।

बड़ो रोमाञ्चक पुस्तक लेखेका छन् आस्पेंस्कीले ‘Strange life of Ivan Osokin ।’ एउटा युवकको कथा छ जसलाई उसका सबै स्मृतिहरुका साथ पुनः बाल्यकालमा पठाइन्छ। उसले पूर्वमा गरेका आफ्ना सबै गल्ती स्मरण गर्दै पुनः पाएको जीवनमा ती गल्ती नदोहोर्‍याउने संकल्प गर्छ, तर कुनै किसिमको केही परिवर्तन सम्भव हुन्न। उसले पुनः त्यही त्यही नै गर्छ जे उसले पहिला गरेको थियो।

आस्पेन्स्कीको नजरमा विश्वका अधिकांश मानिस ‘सॉफ्टवेयर’ अर्थात ‘प्रोग्राम्ड’मात्रै हुन्।

३०-३०, ४०-४० वर्षसम्म ध्यान गरेको मानिस भेटेको छु। ध्यानमाथि प्रवचन गर्दै हिँड्ने, अनेकौँ किताब लेखेका व्यक्ति भेटेको छु। तर ती र विश्वका शेष मानिसमा कुनै तात्विक भिन्नता पाइन। कारण उनले ध्यानलाई पनि आफ्नो जीवनका अन्य कृत्यझैँ एउटा कृत्य बनाए, अभ्यास गरे। तर समग्रताले शरीर र मस्तिष्कमा हुने रासायनिक परिवर्तनसम्म उनीहरु कहिल्यै पुगेनन्। ध्यानलाई गोली हान्नुस्, समग्रतासाथ गरिने कुनै पनि कृत्यले चाहे त्यो श्रवण होस्, मनन होस्, भजन होस्, भोजन होस्, नृत्य होस्, स्नान होस्, जिउ कन्याइ होस्, सम्भोग होस्, पारायण होस् अथवा जुनसुकै कृत्य, त्यसले ध्यानको सतत अभ्यासभन्दा बढी प्रभावकारिता राख्छ। मस्तिष्कका लागि अभ्यास त संजीवनी बूटी हो, अध्यात्मको पथिकले जति छिट्टै हुनसक्छ अभ्यासबाट मुक्त हुनुपर्छ।

मंसिर २१, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्